२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको घटनाको विरोधमा सिरहाको गोलबजारमा प्रदर्शन गरिएको छ।
प्रदर्शनमा सहभागीहरूले घटनाको निष्पक्ष छानबिन गर्न, दोषीमाथि कारबाही गर्न र प्रहरी दमन रोक्न माग गर्दै नाराबाजी गरेका थिए। उनीहरूले ‘सुनसरी घटनाका मृतकलाई न्याय दे’, ‘गृहमन्त्रीले राजीनामा देऊ’ र ‘गोली चलाउनेमाथि कारबाही गर’ लगायतका नारा लगाएका थिए।
प्रदर्शनकारीहरूले प्रहरीबाट गोली नचलाइएको दाबी गरिए सत्यतथ्य सार्वजनिक गर्न सरकारसँग माग गरेका छन्। उनीहरूले समयमै ठोस निर्णय नभए देशव्यापी आन्दोलन गर्ने चेतावनीसमेत दिएका छन्।
यसैबीच, सिरहाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले गोलबजार र कर्जन्हा क्षेत्रमा प्रदर्शन भइरहेको जानकारी आएको बताएका छन्। प्रदर्शनकारीका अगुवासँग छलफल गर्ने तयारी भइरहेको उनले बताए।
उनका अनुसार हालसम्म सिरहामा अवस्था सामान्य रहेको छ। परिस्थिति बिग्रिए सुरक्षा निकाय र सरोकारवालासँग समन्वय गरी आवश्यक कदम चालिने उनको भनाइ छ।
यसअघि कर्जन्हा नगरपालिका–बन्दीपुरस्थित पूर्व–पश्चिम राजमार्गमा प्रदर्शनकारीले केही समय टायर बालेर सडक अवरुद्ध गरेका थिए।
सुनसरीको देवानगञ्ज–३ कप्तानगञ्जमा बोलबम यात्राका क्रममा डिजे बजाउने विषयलाई लिएर दुई समूहबीच विवाद भएको थियो। विवादले उग्र रूप लिएपछि झडप भएको र स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास तथा हवाई फायर गरेको जनाएको छ।
प्रहरीका अनुसार अवस्था नियन्त्रणमा नआएपछि चलाइएको गोली लागेर देवानगञ्ज–३ का २४ वर्षीय ओमप्रकाश मेहताको उपचारका क्रममा विराटनगरस्थित न्युरो अस्पतालमा मृत्यु भएको हो।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij