२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा हिन्दु र मुस्लिम समुदायबीच भएको झडपमा एक जनाको मृत्यु भएको छ । सुरक्षाकर्मीले चलाएको गोली लागेर देवानगञ्ज–४ का ३० वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको हो ।
सुरक्षा अधिकारीका अनुसार मेहताको शरीरमा एक राउन्ड गोली लागेको थियो । झडपका क्रममा अन्य ९ जना स्थानीय घाइते भएका छन् । घाइतेमध्ये दुई जनालाई गोली लागेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको छ । उनीहरूको विराटनगरस्थित न्युरो अस्पताल र विराट नर्सिङ होममा उपचार भइरहेको छ ।
झडप नियन्त्रण गर्ने क्रममा प्रहरी निरीक्षक राकेश राईसहित १० जना नेपाल प्रहरीका कर्मचारी र सशस्त्र प्रहरीका १० जना सुरक्षाकर्मी पनि घाइते भएका छन् ।
प्रहरीका अनुसार स्थानीयतर्फ घाइते भएकामध्ये जयप्रकाश मेहताको अवस्था गम्भीर रहेको छ । उनको पेटमा चोट लागेको छ । यस्तै मिथलेश यादव, अमलेश मेहता, मिथलेश मेहतालगायतको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
विराट नर्सिङ होममा रवीन्द्र मेहता, अमित कुमार यादव, सुनिल कुमार मेहतालगायत घाइतेको उपचार भइरहेको छ ।
सुरक्षातर्फ प्रहरी निरीक्षक राकेश राईको टाउकोमा चोट लागेको छ भने अन्य प्रहरी कर्मचारीलाई पनि विभिन्न स्थानमा चोट लागेको प्रहरीले जनाएको छ । सशस्त्र प्रहरीतर्फ घाइते भएका १० जनाको विवरण भने सार्वजनिक गरिएको छैन ।
झडपपछि कप्तानगञ्ज क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij