Logo

२०८३ आश्विन २ गते शुक्रवार

२०८३ आश्विन २ गते शुक्रवार

आईभीएफको आडमा डिम्ब तस्करी, चर्चित चिकित्सककै संलग्नता

आईभीएफको आडमा डिम्ब तस्करी, चर्चित चिकित्सककै संलग्नता


  • 3.5K
    Shares

    आईभीएफको आडमा डिम्ब तस्करी, चर्चित चिकित्सककै संलग्नता
    images

    काठमाडौं । निसन्तान दम्पतीका लागि आईभीएफ प्रविधि सन्तान प्राप्तिको आशा र नयाँ जीवनको आधार बनेको छ । तर यही संवेदनशील विषयलाई आधार बनाएर केही व्यक्ति र प्रजनन् केन्द्रहरूले गैरकानुनी गतिविधि सञ्चालन गरेको घटना सार्वजनिक भएसँगै यो क्षेत्र विवादमा समेत तानिएको छ ।

    आर्थिक प्रलोभनमा पारी नाबालिका तथा किशोरीहरूबाट अवैध रूपमा डिम्ब (अण्डा) संकलन गर्ने र त्यसलाई निसन्तान दम्पतीलाई महँगो मूल्यमा प्रयोग गर्ने धन्दामा नाम चलेका चिकित्सक तथा प्रजनन् केन्द्रहरूसमेत जोडिन थालेका छन् ।

    पछिल्लो पटक ललितपुरको ग्वार्कोस्थित बीएण्डबी अस्पतालमा कार्यरत स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. नूतन शर्माको संलग्नतामा १७ वर्षीया किशोरीको डिम्ब गैरकानुनी रूपमा निकालिएको आरोपसहितको घटना बाहिर आएको छ ।

    कक्षा ११ मा अध्ययनरत ती किशोरीलाई उनकी साथी र एक जना बिचौलियाले महिनैपिच्छे खेर जाने चिज हो, शरीरमा असर गर्दैन भन्दै ललाईफकाई डिम्ब दिन तयार पारेको बताइएको छ । उनलाई ५० हजार रुपैयाँ दिइने प्रलोभन देखाइएको थियो ।

    त्यसपछि, ग्वार्कोस्थित क्लिनिकमा लगेर हर्मोनको औषधि दिइएको र गत असार १४ गते शल्यक्रियामार्फत डिम्ब निकालिएको बताइएको छ ।

    डिम्ब निकालिएपछि किशोरीको स्वास्थ्यमा समस्या देखिन थालेको थियो । उनलाई उठ्न नसक्ने, चक्कर लाग्ने र पटक–पटक ढल्ने अवस्था आएपछि मात्र परिवारलाई घटनाबारे जानकारी गराएकी थिइन् ।

    त्यसपछि उनलाई त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जमा उपचारका लागि भर्ना गरिएको थियो । ५० हजार रुपैयाँ दिने भनिए पनि किशोरीले ३० हजार रुपैयाँ मात्र पाएको र उक्त रकम उपचारमै खर्च भएको परिवारको भनाइ छ ।

    पीडित परिवारले जिल्ला प्रहरी परिसर ललितपुरमा उजुरी दिएपछि प्रहरीले घटनामा बिचौलियाको भूमिका खेलेको आरोपमा २१ वर्षीया राधिका गोतामेलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको थियो ।

    ललितपुर प्रहरी परिसरका प्रवक्ता गौतम मिश्रका अनुसार बिचौलिया गोतामेलाई सरकारी वकिल कार्यालयको निर्देशनअनुसार हाल जमानीमा छाडिए पनि अनुसन्धान भने जारी छ ।

    प्रहरीले घटनासँग जोडिएका अन्य व्यक्तिहरूमाथि पनि अनुसन्धान गरिरहेको जनाएको छ । प्रमाणका आधारमा दोषी देखिएका सबैलाई कानुनी दायरामा ल्याइने प्रहरीको भनाइ छ ।

    प्रकाशित मिति :श्रावण १० २०८३ आइतवार - १९:०८:४३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij