२०८३ आश्विन २ गते शुक्रवार
काठमाडौं । भक्तपुर जिल्लाको भक्तपुर नगरपालिका वडा नम्बर–१ स्थित लुम्बिनी गेस्ट हाउसबाट खसेर साउन ४ मा सलिना श्रेष्ठले ज्यान गुमाइन् । दोलखा घर भएर चाँगुनारायण नगरपालिका वडा नम्बर–९ मा बस्दै आएकी सलिना आफ्ना साथीहरूसँग सो गेस्ट हाउसमा गएकी थिइन् । उनी गेस्ट हाउसको तेस्रो तलाबाट खसेकी हुन् ।
प्रहरीले उनीसँगै गेस्ट हाउसमा गएका ४ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । पक्राउ पर्नेमा २३ वर्षीय समीर तामाङ, २० वर्षीया रोजा तामाङ, २१ वर्षीय हिमाल तामाङ र १९ वर्षीया कोपिला तामाङ रहेका छन् ।
१८ वर्षीया सलिनालाई योजनाबद्ध धकेलेर खसालिएको हो वा उनी आफैं खसेकी हुन् भन्नेबारे यकिन भएको छैन । शवको पोष्टमार्टम गरेपछि मृत्युको कारण खुल्ने जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी दीपक कुमार कार्कीले बताएका छन् । शव पोष्टमार्टमका लागि दुवाकोट स्थित केएमसी अस्पतालमा राखिएको छ ।
पक्राउ परेकाहरूमाथि प्रहरीले ज्यान सम्बन्धी कसुरमा म्याद लिएर अनुसन्धान गरिरहेको छ । अनुसन्धान गर्दै जाँदा हत्या पुष्टि नभएमा मुद्दा परिवर्तन गरिने अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् । सलिनासँगै गेष्टहाउमा गएकाहरूले मादक पदार्थ सेवन गरेको भेटिएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij