२०८३ आश्विन २ गते शुक्रवार
काठमाडौं । कारागारमा कैद भुक्तान गरिरहेका कैदीबन्दीले अब थप सुविधा पाउने भएका छन् । सरकारले कारागार नियमावली २०८३ संशोधन गर्दै कैदीबन्दीको सुविधा विस्तार गरेको हो ।
नयाँ व्यवस्थाअनुसार कैदीबन्दीले अब हरेक वर्ष नयाँ तन्ना पाउनेछन् । यसअघि दुई वर्षमा एक थान मात्रै तन्ना उपलब्ध गराइन्थ्यो । यस्तै, चाडपर्व खर्च पनि ३ सय रुपैयाँबाट बढाएर ५ सय रुपैयाँ पुर्याइएको छ ।
सरकारले यस वर्षदेखि कैदीबन्दीलाई स्वास्थ्य बीमाको सुविधा समेत उपलब्ध गराउने भएको छ । साथै, कारागार ऐन २०७९ अनुसार कैदीबन्दीको प्रजनन अधिकार सुनिश्चित गर्दै पति–पत्नी भेटघाटका लागि छुट्टै कक्षको व्यवस्था गरिने भएको छ ।
नयाँ नियमावलीले अदालतमा उपस्थितिका लागि भिडियो कन्फरेन्सको प्रयोग गर्न सकिने व्यवस्था पनि गरेको छ । यससँगै कारागारभित्र उद्यम केन्द्र स्थापना गरी मुढा, गलैँचा तथा हस्तकलालगायत उत्पादनमूलक कामलाई व्यवस्थित गर्ने योजना अघि सारिएको छ ।
कैदीबन्दीलाई मनोसामाजिक परामर्श उपलब्ध गराउन छुट्टै नाइकेको व्यवस्था, कारागारभित्र सहुलियत पसल सञ्चालन, सिदा रकम बैंक खातामार्फत उपलब्ध गराउने तथा खुला कारागार अवधारणालाई समेत नियमावलीले थप व्यवस्थित गरेको छ ।
नयाँ नियमावलीअनुसार कारागार व्यवस्थापन सूचना प्रणाली प्रयोग अनिवार्य गरिएको छ । अब कैदीबन्दीको फोटो, बायोमेट्रिकसहितको विवरण डिजिटल प्रणालीमा राखिनेछ । सरकारले नयाँ कारागार नियमावली २०८३ लागू गर्दै कैदी व्यवस्थापन प्रणालीलाई आधुनिक र व्यवस्थित बनाउने लक्ष्य राखेको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij