२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । प्रस्तावित प्रमुख निर्वाचन आयुक्त तथा निर्वाचन आयुक्तहरूको संसदीय सुनुवाइका लागि संसदीय सुनुवाइ समितिको बैठक मङ्गलबार बिहान ११ बजे बस्ने भएको छ।
समितिका सचिव तथा राष्ट्रियसभाका सचिव तुलबहादुर कँडेलका अनुसार बैठकमा प्रमुख निर्वाचन आयुक्तका प्रस्तावित उम्मेदवार मानबहादुर कार्की तथा निर्वाचन आयुक्तका लागि सिफारिस भएका डा. राजीव सुब्बा र गुरु वाग्लेको सुनुवाइ गरिने कार्यसूची तय गरिएको छ।
यसअघि संसदीय सुनुवाइ समिति सचिवालयले तीनै जनाविरुद्ध १० दिनको समयसीमा राखेर उजुरी आह्वान गरेको थियो। आइतबार सकिने भनिएको उजुरी दर्ता अवधि सार्वजनिक बिदाका कारण सोमबार साँझ ५ बजेसम्म कायम गरिएको थियो। त्यसपछि प्राप्त उजुरीहरू खोलेर सुनुवाइ प्रक्रियामा समावेश गरिने जनाइएको छ।
संवैधानिक परिषद्को असार १९ गते बसेको बैठकले सर्वोच्च अदालतका रजिस्ट्रार मानबहादुर कार्कीलाई प्रमुख निर्वाचन आयुक्त तथा नेपाल प्रहरीका पूर्व डीआईजी डा. राजीव सुब्बा र गुरु वाग्लेलाई निर्वाचन आयुक्तमा नियुक्तिका लागि सिफारिस गरेको थियो। अब संसदीय सुनुवाइपछि उनीहरूको नियुक्ति प्रक्रिया अघि बढ्ने भएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij