२०८३ श्रावण ११ गते सोमवार
काठमाडौं । चालु आर्थिक वर्ष २०८२\८३ को जेठ मसान्तसम्म सञ्चालनमा रहेका विकास बैंकहरूको नाफामा उल्लेखनीय सुधार देखिएको छ। उपलब्ध वित्तीय विवरणअनुसार सञ्चालनमा रहेका आठ विकास बैंकले संयुक्त रूपमा ६ अर्ब ८८ करोड ९१ लाख रुपैयाँ खुद नाफा कमाएका छन्।
गत आर्थिक वर्षको सोही अवधिमा उनीहरूको संयुक्त नाफा ५ अर्ब २२ करोड ७७ लाख रुपैयाँ रहेको थियो। यस आधारमा विकास बैंकहरूको कुल नाफा गत वर्षको तुलनामा करिब ३१.८ प्रतिशतले वृद्धि भएको देखिन्छ।
चालु आर्थिक वर्षको ११ महिनामा नाफाका आधारमा गरिमा विकास बैंक पहिलो स्थानमा रहन सफल भएको छ। बैंकले जेठ मसान्तसम्म १ अर्ब ३५ करोड २३ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत वर्षको तुलनामा ३३ प्रतिशत बढी हो।
त्यस्तै, दोस्रो स्थानमा रहेको मुक्तिनाथ विकास बैंकले १ अर्ब २६ करोड ४५ लाख रुपैयाँ नाफा कमाएको छ। अघिल्लो वर्षको तुलनामा मुक्तिनाथको नाफा २०.२३ प्रतिशतले बढेको हो। १ अर्ब १ करोड ९४ लाख रुपैयाँ नाफा कमाउँदै शाइन रेसुंगा डेभलपमेन्ट बैंक तेस्रो स्थानमा छ। शाइन रेसुंगाको नाफामा ३७.९८ प्रतिशतको वृद्धि देखिएको छ।
सबैभन्दा उच्च नाफा वृद्धिदर भने लुम्बिनी विकास बैंकले हासिल गरेको छ। लुम्बिनीले जेठ मसान्तसम्म १४२.७१ प्रतिशतको ठूलो वृद्धि गर्दै ५२ करोड ७४ लाख रुपैयाँ खुद नाफा कमाएको छ। गत वर्ष यसको नाफा २१ करोड ७३ लाख रुपैयाँ मात्र थियो।त्यसैगरी ज्योति विकास बैंकले ८६.९९ प्रतिशतको प्रभावशाली वृद्धिसहित ८१ करोड ६१ लाख रुपैयाँ नाफा कमाएको छ।
कामना सेवा विकास बैंकले ७५ करोड ५९ लाख रुपैयाँ नाफा कमाएको छ भने महालक्ष्मी विकास बैंकले ५४ करोड ६५ लाख रुपैयाँ नाफा कमाएको छ। त्यस्तै, सांग्रिला डेभलपमेन्ट बैंकले ६० करोड ६८ लाख रुपैयाँ खुद नाफा कमाएको छ। गत वर्षको ५६ करोड २९ लाख रुपैयाँको तुलनामा यसको नाफा ७.८ प्रतिशतले वृद्धि भएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij