२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । काठमाडौंका प्रमुख सञ्चारमाध्यमका कार्यालय अगाडि सोमबार बिहान शंकास्पद रूपमा बाटो छेकेर राखिएका गाडीहरूको स्वामित्व खुलेको छ। यातायात व्यवस्था विभागको आधिकारिक तथ्याङ्क र स्रोतका अनुसार ती तीनवटा गाडीमध्ये दुई वटा व्यक्तिको र एउटा गाडी बैंकको नाममा दर्ता रहेको पाइएको हो।
सोमबार बिहानै कान्तिपुर पब्लिकेशन, अनलाइन खबर र हिमालय टेलिभिजनको कार्यालय अगाडि मुख्य गेट नै थुनिने गरी गाडीहरू बेवारिसे रूपमा पार्किङ गरेर राखिएका थिए। जसका कारण सञ्चारमाध्यममा कार्यरत पत्रकार र कर्मचारीहरूलाई आफ्ना सवारी साधन कार्यालय हाताभित्र लैजान र आवतजावत गर्न ठूलो समस्या भएको थियो।
यातायात व्यवस्था विभागको तथ्याकअनुसार, कान्तिपुर पब्लिकेशनको कार्यालय अगाडि रहेको बा. प्रदेश-०१-०३४ च ८४८० नम्बरको गाडी सानिमा बैंकको नाममा रहेको पाइएको छ। हिमालयन टेलिभिनको कार्यालय अगाडि राखिएको बा १० च १२५५ नम्बरको गाडी व्यक्तिको नाममा रहेको पाइएको छ।
त्यस्तै, अनलाइन खबरको कार्यालय अगाडि रहेको बा. १२ च ८५४५ नम्बरको गाडी सुनिल पौडेलको नाममा रहेको यातायात व्यवस्था विभाग स्रोतले जानकारी दिएको छ।
तीनै गाडी राख्ने मान्छेबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ। नेपाल प्रहरी र ट्राफिक प्रहरीको टोली तीनै ठाउँका गाडी हटाएको छ। क्रेनको सहयोगमा गाडी हटाइएका हुन्।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij