२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद रमेश प्रसाईंले कर्णाली राजमार्गमा बारम्बार भएका सवारी दुर्घटनाबारे गृहमन्त्रीको जवाफ माग गरेका छन् । प्रतिनिधि सभाको सोमवारको बैठकमा सांसद प्रसाईंले कर्णाली राजमार्गमा बारम्बार हुने सवारी दुर्घटनाबारे सरकारसँग जवाफ माग गरेका हुन् ।
कर्णाली राजमार्गमा हुने दुर्घटनाहरूलाई राज्य र समाजले केवल समाचारको विषय मात्र बनाएको भन्दै आपत्ति प्रकट गरेका छन् । सांसद प्रसाईंले नागरिकको जीवनभन्दा ठूलो सम्पती र प्राथमिकता राज्यको अरू हुन नसक्ने उल्लेख गर्दै हालै भएको दुर्घटनामा सरकारको उद्धार संयन्त्रको प्रभावकारितामाथि प्रश्न उठाएका छन् । उद्धारका क्रममा राज्यले आफ्नो सम्पूर्ण क्षमता परिचालन गरे–नगरेको र भीरमा अड्किएका नागरिकको हारगुहारका बाबजुद उद्धारमा लापरवाही भएको विषयमा सत्यतथ्य बाहिर ल्याउन उनले माग गरेका छन् ।
उनले भने, ‘कुनै पनि घटना आफ्नै घरमा घट्दा मात्र त्यसको पीडाबोध हुने र अरूको घरमा घट्दा त्यो केवल समाचार मात्र बन्ने गरेको छ । दुर्भाग्यवश समाज यति असंवेदनशील भएको छ कि कर्णालीका दुर्घटनाहरू हाम्रा लागि नियमित समाचार मात्र बन्न थालेका छन् ।’
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij