Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

उपप्रमुखले सर्वसाधारण कुटेको भिडियो भाइरल

उपप्रमुखले सर्वसाधारण कुटेको भिडियो भाइरल


  • 1.8K
    Shares

    उपप्रमुखले सर्वसाधारण कुटेको भिडियो भाइरल
    images

    कैलाली । बाजुराको बुढीनन्दा नगरपालिकाका उपप्रमुख रामबहादुर बोहराले सर्वसाधारणलाई नगरपालिका परिसरमै कुटपिट गरेको भिडियो सार्वजनिक भएको छ । सामाजिक सञ्जालमा अहिले भिडिओ भाइरल भएपनि यो घटना असार १२ गतेको हो ।

    बुढीनन्दा नगरपालिका–२ स्थित श्री नन्देश्वरी माध्यमिक विद्यालय, पिपलचौरमा राहत कोटामा कार्यरत शिक्षक प्रेमबहादुर विष्टले असार १२ गते दिउँसो ३ः४० बजे नगरपालिकाको कार्यालयमा पुगेर नगरप्रमुखसहित अन्य व्यक्तिलाई दुव्र्यवहार तथा हातपात गरेका थिए । त्यसपछि उपप्रमुखले पनि कुटपिट गरेको जिल्ला प्रहरी कार्यालय बाजुराकी प्रमुख प्रहरी नायव उपरीक्षक शैलेश्वरी बोहराले बताइन् ।

    उनका अनुसार शिक्षक विष्टले मदिरा सेवन गरेर नगरपालिकाको कार्यालयमा पुगेका थिए । उपप्रमुखलगायत अन्य कर्मचारीलाई गालीगलौज तथा हातपात गरेको भन्दै नगरपालिकाले प्रहरीमा निवेदन दिएको थियो ।

    ‘नगरपालिकामै पुगेर शिक्षकले सुरुमा हातपात गरेपछि यस्तो अवस्था सिर्जना भएको हो, ’ उनले भनिन् । इलाका प्रहरी कार्यालय बुढीनन्दाको टोलीले विष्टलाई नियन्त्रणमा लिई स्वास्थ्य परीक्षण गर्दा उनले मदिरा सेवन गरेको पुष्टि भएको प्रहरीको भनाइ छ। त्यसपछि भोलिपल्ट दुवै पक्षबीच मिलापत्र गराइएको समेत उनले जानकारी दिइन् ।

    नगरपालिका परिसरमै उपस्थित एक प्रत्यक्षदर्शीका अनुसार शिक्षकले मदिरा सेवन गरेर हंगामा गरेका थिए । ‘शिक्षकले नै रक्सी खाएर उच्छृङ्खल व्यवहार गरेपछि उपप्रमुखले पनि हानेका हुन्। शिक्षकले पहिले सबैलाई गालीगलौज गर्दै हिँडे । त्यसपछि उनी उपप्रमुखमाथि पनि जाइलागे र हाने। त्यसपछि उपप्रमुखले पनि हात छोडेका हुन्,’ प्रत्यक्षदर्शीले भने । उपप्रमुख बोहराले आफूले सबैभन्दा पहिले कुटाइ खाएको दाबी गर्दै अहिले आफूले कुटेको भाग मात्रै भिडियोमा भाइरल बनाइएको बताए ।

    ‘हामी लेखापालसहित सबैलाई गाली गर्दै मलाई पनि उनले पहिले हात छोडेका हुन्। मलाई पहिले हानेपछि मैले पनि हानेको हो, ’ उनले भने, ‘मेरो नाकबाट रगत आइरहेको थियो। त्यो भिडियो काटेर मैले मात्रै हानेको जस्तो बनाइयो।’ यता शिक्षक विष्टले सामाजिक सञ्जालमार्फत यस विषयमा प्रतिक्रिया दिएका छन्। उपप्रमुख बोहरालाई ‘दाजु’ सम्बोधन गर्दै उनले पुरानो भिडियो सार्वजनिक गरेर आफ्नो चरित्र हत्या गरिएको बताएका छन्।

    प्रकाशित मिति :आषाढ २० २०८३ शनिवार - २१:१०:३० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij