२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । सप्तरीमा बुहारीलाई आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बोदेबरसाईन नगरपालिका–४ सिलहट प्रसाहीका ४० वर्षीय रामेश्वर राम रहेका छन्।
प्रहरीका अनुसार बोदेबरसाईन नगरपालिका–४ सिलहट प्रसाहीकी सरस्वती राम गत असार १२ गते राति आफ्नै घरको सुत्ने कोठामा झुण्डिएको अवस्थामा मृत फेला परेकी थिइन्। उनको शव असार १३ गते बिहान फेला परेको थियो।घटनाको प्रारम्भिक अनुसन्धानका क्रममा पक्राउ परेका रामेश्वरले आफ्नै बुहारीमाथि पटक-पटक यौन दुर्व्यवहार गर्ने गरेको खुलेको छ।
उक्त कुरा गाउँमा थाहा पाएपछि पञ्चायत बसेको र पञ्चायतमा बयान फेर्न उनले बुहारीलाई दबाब दिएका थिए। रामेश्वरले मृतक सरस्वतीलाई बयान नफेरे ज्यान मार्ने धम्कीसमेत दिएको र सोही मानसिक तनाव तथा धम्कीका कारण उनले आत्महत्या गर्न बाध्य भएको प्रहरी अनुसन्धानबाट खुलेको छ। स्थानीयका अनुसार गाउँमा भएको पञ्चायतीका क्रममा पीडित महिलालाई नै हप्कीदप्की दिई घटना सामसुम पार्ने प्रयास गरिएको थियो। घटना बाहिरिएपछि पञ्चायतमा संलग्न अन्य व्यक्तिहरू भने हाल फरार रहेका छन्। उनीहरूको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।
यस विषयमा बोदेबरसाईन नगरपालिका वडा नम्बर- ४ का वडाध्यक्ष किरन साहले घटना भएको पुष्टि गर्दै प्रहरीले अनुसन्धान गरिरहेकाले तत्कालै थप केही नबोल्ने बताएका छन्।पक्राउ परेका रामेश्वर रामलाई जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिई आत्महत्या दुरुत्साहन मुद्दामा हिरासतमा राखेर थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक (डिएसपी) हेमराज घिमिरेले जानकारी दिए।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij