२०८३ आश्विन २ गते शुक्रवार
काठमाडौं । गत रातिदेखि भइरहेको निरन्तर वर्षाका कारण सुदूरपश्चिम प्रदेशका तराईका दुई जिल्ला कैलाली र कञ्चनपुरका विभिन्न क्षेत्रहरू डुबानमा परेका छन्।
अविरल वर्षाले यस क्षेत्रका ग्रामीण तथा सहरी भेगका खेतबारी जलमग्न भएका छन् भने प्रदेशको अस्थायी राजधानी धनगढीका अधिकांश बस्ती र मुख्य सडकसमेत डुबानमा परेका छन्। धनगढीका मुख्य व्यापारिक सडक, भित्री गल्ली, नाला र होचा भूभागमा पानी जम्दा सर्वसाधारणको दैनिक जनजीवन नराम्ररी प्रभावित भएको छ। सडकमा दुई फिटसम्म पानी जमेका कारण सवारीसाधन सञ्चालन तथा पैदल आवतजावतमा समेत ठुलो समस्या देखिएको छ।
लगातारको वर्षासँगै नदी तथा खोलाहरूमा जलस्तर बढेर बाढीको जोखिम उच्च भएको छ। जिल्ला प्रशासन कार्यालय तथा सम्बन्धित सुरक्षा निकायहरूले नदी, खोलानाला आसपास र होचा क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन र सुरक्षित स्थानमा रहन विशेष आग्रह गरेका छन्।
डुबानका कारण बिहानी कक्षा सञ्चालन हुने कलेज तथा विद्यालय जाने बालबालिकाहरू बढी प्रभावित भएका छन्। विद्यार्थीको सुरक्षालाई मध्यनजर गर्दै कैलालीका केही स्थानीय तहहरूले आजका लागि विद्यालयहरूमा सार्वजनिक बिदासमेत दिएका छन्।
मौसम पूर्वानुमान महाशाखाका अनुसार अझै केही दिन वर्षा जारी रहने सम्भावना रहेकाले विपद् व्यवस्थापन समिति र प्रशासनले उद्धार टोलीलाई तयारी अवस्थामा राख्दै सर्वसाधारण सबैलाई सजग रहन अनुरोध गरेको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij