२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । विराटनगर महानगरपालिका–१ स्थित परोपकार घाटमा अश्लील हर्कत गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। दाहसंस्कार गरिने पवित्र सार्वजनिक स्थलमा अभद्र व्यवहार देखाएको भन्दै उनीहरूलाई नियन्त्रणमा लिइएको हो।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार मंगलबार राति करिब १२ः३० बजेको समयमा परोपकार घाटमा केही व्यक्तिहरू भेला भई हो–हल्ला गरिरहेको र तीमध्ये दुई जना पुरुष निर्वस्त्र अवस्थामा रहेको सूचना प्रहरीलाई प्राप्त भएको थियो। सोही सूचनाका आधारमा तत्काल खटिएको प्रहरी टोलीले उनीहरूलाई घटनास्थलबाटै नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेहरूमा मोरङका सुरेन्द्र मणि मण्डल, सुनसरीका कैलाश ढुङ्गाना, भोजपुरका मनिष काफ्ले र मोरङका छविलाल घिमिरे रहेका छन्।
जिल्ला प्रहरी कार्यालय मोरङका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक (डीएसपी) मकेन्द्र कुमार मिश्रका अनुसार पक्राउ परेका व्यक्तिहरूलाई जिल्ला प्रहरी कार्यालयमा राखेर थप अनुसन्धान भइरहेको छ। सार्वजनिक स्थलमा अभद्र र अश्लील व्यवहार गर्नेहरू विरुद्ध कानुनी प्रक्रिया अगाडि बढाइने प्रहरीले जनाएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij