२०८३ आश्विन २ गते शुक्रवार
काठमाडौं । कीर्तिपुरको राधास्वामी सत्संग ‘होल्डिङ सेन्टर’मा राखिएका ६५ सुकुम्वासी परिवारको ‘भेरिफिकेसन’ सकिएको छ । तिनमा पाँच परिवारसँग मात्र जग्गा भएको फेला परेको छ ।
तीन परिवारको विवरण अस्पष्ट हुँदा जग्गा भए नभएको टुंगो लागेको छैन । चार परिवारले आवश्यक पर्ने कागजातसहितका विवरण उपलब्ध गराउन नसक्दा उनीहरूको केही विवरण प्राप्त हुन नसकेको भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको उच्च स्रोतले जानकारी दिएको छ ।
मन्त्रालय स्रोतका अनुसार, ५३ परिवार सुकुम्वासी प्रमाणित भएका छन् । केही परिवारले केही वर्षअघि जग्गा बेचेको भेटिएको छ । “जग्गा बेचेको पाइएकाहरूले दलालमार्फत पछि आफ्नै बनाउने आसमा सुकुम्वासी बस्तीमै जग्गा किनेको हुन सक्छ,” स्रोतले भन्यो, “यो विषय सम्बन्धित व्यक्तिले भने मात्र खुल्न सक्छ ।” केही समयअघि सुकुम्वासी बस्तीमा जग्गा किनबेच समेत भएको भनी मन्त्रालयलाई अनौपचारिक जानकारी आएको ती अधिकारीले जानकारी दिए ।
सरकारले अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिमार्फत अन्यत्रका होल्डिङ सेन्टरमा राखिएका ३८८ परिवारको डिजिटल तथ्यांक तयार पारेर सहरी विकास मन्त्रालयमा पठाएको थियो । उक्त विवरण भूमि व्यवस्थापन तथा अभिलेख विभागमा पठाएको थियो । विभागले डिजिटल रूपमा प्राप्त ३८८ परिवारका एक हजार ४८८ सदस्यहरूको तीनपुस्ते विवरण भिडाउँदै सुकुम्वासी भए या नभएको जाँचेको थियो ।
त्यसरी विवरण जाँच हुँदा हालसम्म कीर्तिपुरको होल्डिङ सेन्टरमा रहेका सुकुम्वासीको मात्र तथ्यांक तयार भएको भूमि समस्या समाधान आयोगका सूचना अधिकारी सञ्जीवकुमार साहले जानकारी दिए ।
उनका अनुसार, बनेपाको रेडक्रस तालिम केन्द्र होल्डिङ सेन्टरको पनि भेरिफिकेसन अन्तिम चरणमा पुगेको छ । उक्त होल्डिङ सेन्टरमा केही त्रुटि भेटिएपछि पुनः भेरिफिकेसनको काम भइरहेको उनले जानकारी दिए । बनेपाको रेडक्रस तालिम केन्द्र होल्डिङ सेन्टरमा ४५ परिवारका १९४ सदस्य छन् ।
कुन सेन्टरमा कस्तो विवरण प्राप्त भयो भन्ने जानकारी मन्त्रालयमार्फत सार्वजनिक हुने जानकारी साहले दिए । भूमि व्यवस्था मन्त्रालय स्रोतले औपचारिक रूपमा विवरण प्राप्त नभइसकेको जानकारी दिएको छ । अनौपचारिक रूपमा एउटा होल्डिङ सेन्टरको विवरण प्राप्त भएको पुष्टि गरेको छ ।
सरकारले वैशाख १२ र १३ गते डोजर लगाउँदै काठमाडौं उपत्यकाको नदी किनाराका सुकुम्वासीहरू हटाएको थियो । त्यसपछि सरकारले तिनलाई दशरथ रंगशालामा सम्पर्कका लागि डाकेको थियो ।
दुई दिनसम्म सम्पर्कमा आएका परिवारको संख्या दुई हजार ६०८ थियो । सरकारले सञ्चालन गरेका सात होल्डिङ सेन्टरमा ३८८ परिवारका १४८८ सदस्य रहेको तथ्यांक छ । त्यसबाहेकका सुकुम्वासी परिवारहरू आफ्नै ढंगले बसेको अधिकारसम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले जनाएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij