२०८३ आश्विन २ गते शुक्रवार
काठमाडौं । नारायणगढ-मुग्लिङ सडक खण्ड अन्तर्गत चितवनको भरतपुर महानगरपालिका-२९ स्थित दासढुंगामा म्याजिक र स्कार्पियो एक-आपसमा ठोक्किँदा ८ जना घाइते भएका छन्।
मुग्लिङबाट नारायणगढतर्फ आउँदै गरेको ना १ ज ४८७६ नम्बरको म्याजिक र विपरीत दिशाबाट जाँदै गरेको प्रदेश ३-०१-०२२ च १७५८ नम्बरको स्कार्पियो मंगलबार एक-आपसमा ठोक्किएका हुन्। दुर्घटनामा परी दुवै सवारी साधनमा सवार यात्रुहरू घाइते भएका छन्।
म्याजिकमा सवार घाइते हुनेहरूमा नवलपरासीको गैंडाकोट नगरपालिका-४ बस्ने ४९ वर्षीया गौरी लामिछाने, २८ वर्षीया मनिसा आले र उनका २० महिनाका छोरा पिन्स आले रहेका छन्। यस्तै, चितवनको भरतपुर महानगरपालिका-१ बस्ने २७ वर्षीया सिता दानी, इच्छाकामना गाउँपालिका-६ की २४ वर्षीया रचना गुरुङ र सोही ठाउँका ५३ वर्षीय कान्छा दागि पनि घाइते भएका छन्।
त्यसैगरी, स्कार्पियोमा सवार सर्लाहीको हरिवन नगरपालिका-८ निवासी ४५ वर्षीया कविता अग्रवाल र उनका ५३ वर्षीय श्रीमान शषि भसाल अग्रवाल घाइते भएका छन्। घाइते सबैजनाको हाल नयाँ मेडिकल कलेज, भरतपुरमा उपचार भइरहेको छ।
प्रहरीले म्याजिक चालक उदयपुर चौदण्डीगढी नगरपालिका-४ का ३९ वर्षीय अशोक परियार र स्कार्पियो चालक सर्लाही हरिवन नगरपालिका-२ का ३४ वर्षीय अशोक कुमार महत कैडीलाई नियन्त्रणमा लिएको छ। दुर्घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij