२०८३ श्रावण १० गते आइतवार
काठमाडौं । नेपाली कला क्षेत्रका चर्चित हास्य कलाकार केदार घिमिरे ‘माग्ने बुढा’ यतिबेला अमेरिकामा छन्। उनी लामो समयदेखि नेपाल नफर्किएका कारण बजारमा उनको अमेरिका बसाइ र स्थायी बसोबास अनुमति पत्र अर्थात् ‘ग्रीन कार्ड’ को प्रक्रियाबारे विभिन्न चर्चा र अड्कलबाजी भइरहेका छन्।
चर्चाका बीच केदार आफैँले भने यस विषयमा कुनै आधिकारिक जानकारी दिएका छैनन्। तर, उनी तत्काल नेपाल फर्किने सम्भावना नदेखिएकै कारण दीपक–दीपा समूहको बहुप्रतीक्षित नयाँ चलचित्र ‘छ माया छपक्कै २’ मा उनको स्थानमा अर्को कलाकारलाई समेटेर सुटिङ अगाडि बढाइसकिएको छ। आफ्नो पछिल्लो फिल्म ‘जेरी अन टप’ प्रदर्शन भएलगत्तै उनी अमेरिका प्रस्थान गरेका थिए।
यसैबीच, केदारले अमेरिकाको ग्रीन कार्ड लिन लागेको हल्ला बाहिरिरहँदा उनकी श्रीमती तथा कलाकार सीतादेवी तिमल्सिनाले भने त्यसको खण्डन गरेकी छन्। हालै काठमाडौँमा आयोजित एक कार्यक्रममा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले आफ्ना श्रीमान् लामो समयदेखि अमेरिकामा बस्नुको मुख्य कारण छोरीको स्वास्थ्य अवस्था रहेको खुलासा गरेकी हुन्। श्रीमती सीताका अनुसार उनीहरूको छोरी अमेरिकामा छिन् र उनको स्वास्थ्यमा समस्या देखिएका कारण रेखदेख र सहयोग गर्न केदार उतै रोकिएका हुन्।
कार्यक्रममा श्रीमान्लाई कति मिस गर्नुहुन्छ भन्ने पत्रकारको प्रश्नको जवाफ दिँदै सीताले भनिन्, ‘मिस त अवश्य हुन्छ नै। तर, मिस भयो भनेर आफ्नो कर्तव्यबाट विमुख हुनु पनि भएन। मैले आज स्पष्ट पारेँ, हाम्री छोरी अमेरिका छिन्। छोरीलाई स्वास्थ्यले अलि साथ नदिएका कारण उहाँ छोरीलाई सहयोग गरेर बस्नुभएको छ। यता मैले छोरालाई हेरिरहेको छु, उता उहाँले छोरीलाई हेरिरहनुभएको छ।’ फिल्म वृत्तमा भने ग्रीन कार्ड प्राप्तिका लागि लामो समयसम्म अनिवार्य रूपमा अमेरिका नै बस्नुपर्ने कानुनी प्रावधान पूरा गर्न उनी उतै रोकिएको र त्यसैका कारण नेपालबाट अफर आएका थुप्रै फिल्महरू समेत छोडेको चर्चा अझै पनि सेलाएको छैन।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij