२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ३२ अर्ब ९९ करोड ९९ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।
प्रदेशसभामा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जितबहादुर शेरचनले पुँजीगत तर्फ ६० प्रतिशतभन्दा बढी बजेट विनियोजन गरेको जानकारी दिएका छन् । पुँजीगत तर्फ २० अर्ब २ करोड ६१ लाख २२ हजार रुपैयाँ विनियोजन गरिएको छ भने चालू तर्फ १२ अर्ब ७२ करोड ३६ लाख ७८ हजार रुपैयाँ अर्थात् ३८.५६ प्रतिशत बजेट विनियोजन भएको हो ।
सरकारले गरेकै अनुपातमा कर्मचारीको तलब वृद्धि हुने अर्थमन्त्री शेरचनले बताएका छन् । पूरा बजेटमध्ये सङ्घ सरकारबाट वित्तीय समानीकरण शीर्षकमा ७ अर्ब ८४ करोड ८२ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ । राजस्व बाँडफाँडबाट १० अर्ब १६ करोड ४७ लाख ४८ हजार, रोयल्टी बाँडफाँड शीर्षकमा ५१ करोड ४८ लाख रुपैयाँ प्राप्त हुने अनुमान छ ।
सशर्त अनुदानबाट ३ अर्ब ९३ करोड ३ लाख, समपूरक अनुदान ५५ करोड ४६ लाख, विशेष अनुदान ३९ करोड ५४ लाख रुपैयाँ प्राप्त हुने अर्थमन्त्री शेरचनको अनुमान छ । गण्डकी प्रदेशले आन्तरिक श्रोतमा ५ अर्ब ८४ करोड १८ लाख ५२ हजार उठाउने र चालू वर्षको २ अर्ब रुपैयाँ मौज्दात रहने अनुमान गरिएको छ । १ अर्ब ७५ करोड रुपैयाँ आगामी वर्ष आन्तरिक ऋण परिचालन हुने अर्थमन्त्री शेरचनले जानकारी दिएका छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij