२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले काममा ढिलासुस्ती गर्ने ठेकेदारको ‘ ‘खुट्टा भाँचिदिनु’ भन्ने सार्वजनिक निर्देशन दिएपछि विवादमा परेका छन्।
आइतबार नागढुंगा–मुग्लिङ सडक आयोजनाको निरीक्षणका क्रममा उनले बिजुलीका पोल नसार्ने ठेकेदारलाई खोजेर ल्याउन र काम नगरे ‘खुुट्टा भाँ च्नू’ भन्दै निर्देशन दिएका थिए।
‘यो पोलवाला जो हो नि बिजुलीको पोल। यो कन्ट्रयाक्टर कहाँ छ, यो धर्तीमा जहाँ भए पनि यहाँ ल्याएर राख्नुस्। घर पठाउने होइन। त्यसले काम गरेन भने खुट्टा भाँचिदिनुस् मतलब भएन,’ मन्त्री लम्सालले निर्देशन दिँदै भने, ‘चाँडोभन्दा चाँडो पोल सार्न पर्यो। यहाँका पब्लिकले धेरै दुःख पाए।’
मन्त्रीको उक्त अभिव्यक्ति मन्त्रालयका सचिव, धादिङकी प्रमुख जिल्ला अधिकारी र प्रहरी उपरीक्षककै उपस्थितिमा आएको थियो। घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि उनको चर्को आलोचना भइरहेको छ। धादिङकी प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेयले भने मन्त्रीले काममा ढिलासुस्ती नगर्न निर्देशन दिएको बताएकी छन्।
आयोजनाका अनुसार सडक विस्तारका लागि पश्चिम खण्डमा १०७ र पूर्वी खण्डमा ८० भन्दा बढी बिजुलीका पोल अझै सार्न बाँकी छन्। पोल नहट्दा निर्माण कार्य प्रभावित भएको छ। यसअघि पनि मन्त्री लम्सालले निर्माण व्यवसायीलाई प्रहरीमार्फत नियन्त्रणमा लिन लगाएको विषय विवादमा परेको थियो।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij