२०८३ आश्विन १ गते बिहिवार
१. मनसुन शुरु भएसँगै इलाम सम्पर्कविहीन हुने उच्च जोखिममा
यस वर्षको मनसुन शुरु भएसँगै इलाम जिल्ला देशका अन्य भू–भागबाट कुनैपनि समयमा सम्पर्कविच्छेद हुनसक्ने उच्च जोखिममा परेको छ । गत वर्षको भारी वर्षाका कारण क्षति पुगेका राजमार्गका पुल निर्माण र ठूला–ठूला पहिरो गएका स्थानको पुनर्निर्माण हुन सकेको छैन । विपद्का कारण भत्किएका सडक र पुलहरू बेलैमा मर्मत हुन नसक्दा यस वर्ष इलामको आर्थिक उत्पादन बाहिर पठाउन नसकिने र जिल्ला नै सम्पर्कविहीन हुनसक्ने खतरा बढेको हो । वर्षातको समयमा आउने बाढी र पहिरोका घटनाले इलाम फेरि पनि सडक सञ्जालबाट अलग हुन सक्ने खतरा देखिएको छ । इलाम नगरपालिकाका प्रमुख केदार थापाकाअनुसार गत वर्ष असोज १८ र १९ गतेको विनाशकारी वर्षापछिको बाढी र पहिरोबाट नगरपालिकाले ठूलो नोक्शानी व्यहोर्नुपरेको बताउनु भयो । पृथ्वीले धान्नै नसक्ने गरी २ सय ३१ मिलिलिटरसम्म पानी पर्दा कयौँ बाटोघाटा, कल्भर्ट र पुलहरू बगाए । मानवीय क्षति भयो । विगत चार वर्षमा निर्माण गरेका भौतिक संरचनाहरूमा गम्भीर क्षति पुग्यो ।
२. मध्यपूर्वको तनावले रोकिएको नागढुङ्गा–नौबिसे सडक कालोपत्रे पुनः शुरु, धार्के बजार क्षेत्रमा धमाधम काम हुँदै
काठमाडौं प्रवेश गर्ने मुख्य लाइफलाइनको रूपमा रहेको नागढुंगा–नौबिसे–मलेखु सडक खण्ड अन्तर्गत धादिङको धार्के बजार क्षेत्रमा रोकिएको कालोपत्रे (पिच) गर्ने कार्य पुनः शुरु भएको छ । मध्यपूर्वमा बढ्दै गएको भू–राजनीतिक तनावका कारण नेपालमा अलकत्रा (बिटुमिन) आयात ठप्प भएपछि यो महत्वपूर्ण सडक विस्तार र पुल निर्माणको काम लामो समयदेखि प्रभावित बनेको थियो । सडक निर्माण व्यवसायी सहदेव खड्काकाअनुसार बिटुमिनको अभावका कारण केही समय ठप्प प्रायः बनेको सडकको काम आयातमा भएको सामान्य सुधारसँगै पुनः सञ्चालनमा ल्याइएको हो । हाल अत्यन्तै संवेदनशील र सवारी चाप बढी हुने क्षेत्रहरूलाई प्राथमिकतामा राखेर कालोपत्रे गर्ने काम अगाडि बढाइएको छ । यद्यपि लामो समयको प्रतिक्षापछि कच्चा पदार्थ उपलब्ध भएपनि प्रतिकूल मौसम (वर्षा) का कारण कामलाई सोचेजस्तो गति दिन कठिनाइ भइरहेको व्यवसायी खड्काले बताउनु भयो । यो सडक खण्ड संघीय राजधानी काठमाडौंलाई देशको पूर्वी र पश्चिमी भागसँग जोड्ने सबैभन्दा व्यस्त मार्ग हो ।
३. मंगलवारदेखि सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप हुने
सूर्य नेपाल गल्फ टुर २०२५–२६ को अन्तिम प्रतियोगिता सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप मंगलवारदेखि काठमाडौंमा शुरु हुने भएको छ । नेपाल प्रोफेसनल गल्फर एसोसिएनको आयोजनामा हुँदै आएको सूर्य नेपाल गल्फ टुरको यो सिजनको अन्तिम प्रतियोगिता हो । उक्त सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप गोकर्ण गल्फ कोर्समा हुनेछ । आयोजकले आईतवार त्रिपुरेश्वरस्थित नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) मा पत्रकार सम्मेलन आयोजना गर्दै सिजनको अन्तिम प्रतियोगिता गर्न लागेको हो । उक्त प्रतियोगिता चार दिनसम्म चल्नेछ । कुल ७२ होलमा प्रतिष्पर्धा हुने प्रतियोगितामा ३६ होलपछि कट लागू गरिने आयोजकले जनाएको छ ।
कट पार गर्ने शीर्ष १८ व्यावसायिक र एमेच्योर गल्फरहरू (सोही स्कोर बनाउने) ले अन्तिम दुई चरणका लागिस्थान बनाउनेछन् । नेपाल प्रोफेसनल गल्फर्स एसोसिएसनका अध्यक्ष रवीन्द्रमान श्रेष्ठले यो प्रतियोगिता नेपाली गल्फमा हालसम्मकै ठूलो पुरस्कार राशिसहित आयोजना हुन लागेको र खेलाडीहरू उपाधिका लागि उत्साहित रहेको बताए । विजेताले तीन लाख २० हजार रुपैयाँ र उपविजेताले दुई लाख ६० हजार रुपैयाँ प्राप्त गर्नेछन् । तेस्रो, चौथो र पाँचौं स्थानका खेलाडीहरूले क्रमशः एक लाख ६२ हजार, एक लाख ४५ हजार र एक लाख २८ हजार रुपैयाँ हात पार्नेछन् । शीर्ष १८ भित्र रहने सबै खेलाडीले नगद पुरस्कार पाउनेछन् ।
४. प्रधानमन्त्रीको अभिव्यक्ति र सुस्ता विवादलाई लिएर माईतीघरमा विद्यार्थी संगठनको विरोध प्रदर्शन
वैज्ञानिक समाजवादी विद्यार्थी संगठन, नेपालले प्रधानमन्त्रीको पछिल्लो अभिव्यक्ति र सुस्ता क्षेत्रमा भइरहेको भारतीय हस्तक्षेपको विरोधमा काठमाडौंको माईतीघरमा प्रदर्शन गरेको छ । आईतवार दिउँसो आयोजित उक्त विरोध कार्यक्रममा सहभागीहरूले प्रधानमन्त्रीको भनाइ राष्ट्रहित विपरित भएको भन्दै आक्रोश व्यक्त गरेका छन् । केही समयअघि संसदमा सम्बोधन गर्ने क्रममा प्रधानमन्त्रीले नेपालले पनि कतिपय क्षेत्रमा भारतीय भूमि मिचेको हुनसक्ने आशयको अभिव्यक्ति दिएपछि त्यसको चौतर्फी विरोध भइरहेको छ । सोही सन्दर्भलाई लिएर विद्यार्थीले सुस्तामा भइरहेको भारतीय पक्षको ज्यादती र साम्राज्यवादी हस्तक्षेप तत्काल बन्द गर्न माग गरेका हुन् । प्रदर्शनका क्रममा सहभागीहरूले ‘कमजोर राष्ट्रहरूमाथि साम्राज्यवादी हस्तक्षेप बन्द गर’, ‘मलाई बोल्न दे सरकार’, ‘भारतीय साम्राज्यवाद मुर्दावाद’ र ‘विद्यार्थी एकता जिन्दावाद’ जस्ता नारा लेखिएका प्लेकार्डहरू प्रदर्शन गरेका थिए । उनीहरूले राष्ट्रिय स्वाधिनताको रक्षाका लागि विद्यार्थी आन्दोलन एक हुनुपर्नेमा जोड दिएका छन् ।
५. नदी किनारका जोखिमपूर्ण बस्ती स्थानान्तरण र सुकुम्बासी व्यवस्थापनका लागि महानगरको नयाँ रणनीतिः सामूहिक आवास र संघीय समन्वयमा जोड
काठमाडौं महानगरपालिकाले अवव्यवस्थित बसोवासी तथा नदी किनारका जोखिमपूर्ण बस्ती व्यवस्थापनका लागि नयाँ दृष्टिकोण अघि सारेको छ । आईतवार आर्थिक वर्ष २०८३÷८४ का लागि आफ्नो वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गर्दै महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले सुकुम्बासी बस्ती हटाउने विषयमा सृजना भएको तनाव र विवादलाई मध्यनजर गर्दै यस पटक महानगरपालिकाले बल प्रयोगभन्दा पनि संघीय र प्रदेश सरकारसँगको प्रत्यक्ष समन्वय, त्रि–पक्षीय साझेदारी र ‘सामूहिक आवास’ निर्माणको नीतिलाई केन्द्रमा राखेको बताउनु भयो । डंगोलद्वारा प्रश्तुत यो नीतिले काठमाडौँलाई ‘मानवीयताको शहर’ बनाउने संकल्पलाई थप सुदृढ गरेको देखिन्छ । जलमग्न र जोखिमपूर्ण नदी किनार तथा सार्वजनिक स्थलहरूमा वर्षौंदेखि बस्दै आएका अव्यवस्थित बसोवासीहरूको स्थानान्तरण र उचित पुनःस्थापना सधैं काठमाडौंको मुख्य सहरी चुनौती रहि आएको छ । यस वर्षको नीति तथा कार्यक्रमले उक्त समस्याको दीर्घकालीन र न्यायिक समाधानको मार्गचित्र कोरेको छ ।
६. असारी–भालटार सडक निर्माणको अन्तिम ३०० मिटर खण्ड अलपत्रः छिटो सम्पन्न गर्न स्थानीयको माग
सिराहाको धनगढीमाई नगरपालिका–१३ स्थित असारीदेखि भालटार जोड्ने सडक निर्माण कार्य अन्तिम चरणमा पुगेर पनि करिव ३०० मिटर खण्डका कारण समग्र आयोजना नै अलपत्र परेको छ । लामो समयको प्रतीक्षापछि निर्माण भइरहेको उक्त सडकको सानो खण्ड अधुरो रहँदा पर्यटकीय र आर्थिक विकासको प्रक्रिया प्रभावित बनेको भन्दै स्थानीयवासी र सञ्चारकर्मीहरूले सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् । स्थानीयकाअनुसार सडकको अधिकांश भाग निर्माण भइसके पनि अन्तिम चरणको थोरै दूरी नखुल्दा पूर्ण सञ्चालनमा बाधा पुगेको छ । यसबाट स्थानीय बासिन्दामा निराशा छाएको छ । धनगढीमाई नगरपालिकाका प्रमुख शिव शंकर महतोले नागरिकका माग र सञ्चारकर्मीहरूको सुझावलाई सकारात्मक रूपमा लिँदै आवश्यक पहल गर्ने आश्वासन दिनुभएको छ।
७. अर्थमन्त्रीद्वारा कर प्रणाली र सार्वजनिक सेवामा आमूल सुधारको घोषणाः साना उद्यमीलाई ‘आममाफी’ र डिजिटल सेवामा जोड
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मुलुकको अर्थतन्त्रलाई औपचारिकीकरण गर्न र युवा उद्यमीहरूलाई प्रोत्साहन गर्न सरकारले कर प्रणाली तथा सार्वजनिक सेवा प्रवाहमा आमूल परिवर्तन शुरु गरेको बताउनुभएको छ । आईतवार काठमाडौंमा आयोजित ‘युवा उद्यमशीलता सम्मेलन–२०८३’ लाई सम्बोधन गर्दै उहाँले दशकौँदेखि चर्चामा सिमित कर सुधारका एजेण्डालाई वर्तमान सरकारले कार्यान्वयनमा लगेको दाबी गर्नुभयो । अर्थमन्त्री वाग्लेले करको बोझ र कानूनी झन्झटका कारण व्यवसाय बन्द गरेर बसेका वा लुकेर बस्न बाध्य भएका साना उद्यमीहरूका लागि सरकारले विशेष ‘आममाफी’को योजना ल्याएको जानकारी दिनुभयो । उहाँकाअनुसार विगतका वक्यौताहरूका कारण ठूलो दायित्व बोकेका करिव २ देखि ३ लाख साना कम्पनी तथा व्यक्तिहरूले अब १ प्रतिशत प्रशोधन शुल्क तिरेर आफ्नो व्यवसायलाई पुनः वैधानिक रूपमा अगाडि बढाउन सक्नेछन् । उहाँले भन्नुभयो, ‘राज्यलाई कर छलेर वा डराएर बस्नु पर्दैन, कम क्लिन, स्टार्ट अन्यूको भावनाका साथ अगाडि बढ्नुस्, विगतको कर्मचारीतन्त्र र राजनीतिक नेतृत्वले आँट्न नसकेको यो ऐतिहासिक र शाहसिक निर्णय वर्तमान सरकारले लिएको छ ।’
८. ‘मानवीयताको शहर’ बनाउने काठमाडौं महानगरको सङ्कल्पः ज्येष्ठ नागरिकलाई घरदैलोमै चिकित्सकदेखि चराचुरुङ्गीलाई पानीपात्रसम्म
काठमाडौं महानगरपालिकाले महानगरलाई भौतिक संरचनाको चक्रव्युहबाट बाहिर निकालेर एक सहृदयी, समावेशर ‘मानवीयताको शहर’ को रूपमा विकास गर्ने दूरगामी सङ्कल्प अघि सारेको छ । आगामी आर्थिक वर्ष २०८३÷०८४ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै आईतवार नगरसभाको १९ औँ अधिवेशनमा कार्यवाहक प्रमुख सुनिता डंगोलले उक्त संकल्प गर्नुभएको हो । नीति तथा कार्यक्रमले कंक्रिटको सडकभन्दा माथि उठेर सामाजिक न्याय, नागरिक संवेदना र पर्यावरणमैत्री कल्याणकारी अभ्यासलाई अभूतपूर्व प्राथमिकता दिएको छ । महानगरले आगामी वर्षको बजेट तथा कार्यक्रममा ‘मानवीयताको शहरः काठमाडौं’ भन्ने मार्गनिर्देशक सन्देशलाई कार्यान्वयन गर्न थुप्रै प्रयोगात्मक र सिर्जनात्मक योजनाहरू समावेश गरेको छ । यस अन्तर्गत महानगरवासी र यहाँ आश्रय लिने सम्पूर्ण प्राणीहरूको हितलाई रक्षा गर्ने प्रतिवद्धता जनाइएको छ ।
९. अमेरिका र इरानबीच २४ घण्टाभित्र शान्ति सम्झौता हुने सम्भावना बलियोः पाकिस्तानी प्रधानमन्त्री
पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफले शनिवार अमेरिका र इरानबीच आगामी २४ घण्टाभित्र ऐतिहासिक शान्ति सम्झौता हुने सम्भावना रहेको बताउनुभएको छ । उहाँले सामाजिक सञ्जाल एक्समा एक पोस्ट गर्दै यस्तो टिप्पणी गर्नुभएको हो । प्रधानमन्त्री सरिफले लेख्नुभएको छ, “हामी शान्ति सम्झौताको इतिहासमै सबैभन्दा नजिक पुगेका छौँ। आगामी २४ घण्टाभित्र यसलाई अन्तिम रूप दिइने अपेक्षा गरिएको छ । यसलगत्तै पाकिस्तानले यस शान्ति सम्झौतामा इलेक्ट्रोनिक हस्ताक्षर (विद्युतीय हस्ताक्षर) गर्ने तयारी गरिरहेको छ, जसको निरन्तरता स्वरूप अर्को हप्ता प्राविधिक स्तरको वार्ता हुनेछ ।” उनले थप अगाडि भन्नुभयो, “यो ऐतिहासिक शान्ति सम्झौताले स्थायी शान्तिका लागि बलियो जग खडा गर्नेछ भन्ने कुरामा हामी पूर्ण विश्वस्त छौँ ।”
१०.अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा भेनेजुएली अपराधिक समूह ट्र्न डे अरागुआका नेता अमेरिकी सैन्य कारबाहीमा मारिएको दाबी
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी सेनाले भेनेजुएलाली मूलको कुख्यात समूह ट्रेन डे अरागुआका सर्वोच्च नेतालाई मारेको घोषणा गर्नुभएको छ । संयुक्त राज्य अमेरिकाले यस समूहलाई सुरक्षा खतरा मान्दै आधिकारिक रूपमा आतंकवादी संगठनको संज्ञा दिएको छ । राष्ट्रपति ट्रम्पले एक वक्तव्यमार्फत यस महत्वपूर्ण सैन्य सफलताको जानकारी दिनुभएको हो ।
११. इरान–अमेरिका वार्ताको अन्तिम चरणको पाकिस्तान र साउदी अरबद्वारा स्वागत
पाकिस्तानका उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री मोहम्मद इसहाक दार र साउदी अरबका विदेशमन्त्री राजकुमार फैसल बिन फरहान बिन अब्दुल्लाह अल साउदले अमेरिका र इरानबीचको वार्ताको अन्तिम चरणको स्वागत गर्नुभएको छ । आईतवार सम्झौताको विद्युतीय हस्ताक्षर (इलेक्ट्रोनिक साइनिङ) समारोह तय भएको पाकिस्तानको परराष्ट्र मन्त्रालयले शनिबार जनाएको छ । एक टेलिफोन वार्ताका क्रममा दुवै मन्त्रीहरूले अमेरिका र इरानबीच चलिरहेको वार्ताका बारेमा छलफल गर्नुका साथै यो प्रक्रियाले यस क्षेत्रमा दिगो शान्ति र स्थिरता ल्याउने आशा व्यक्त गरेको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिअनुसार साउदी विदेशमन्त्रीले वार्ता प्रक्रियाभरि मध्यस्थता र संवादको समर्थनमा पाकिस्तानको निरन्तर र दिगो प्रयासको प्रशंसा गर्नुभयो ।
१२. केनेडी सेन्टरबाट डोनाल्ड ट्रम्पको नाम हटाउने आदेश रोक्न अमेरिकी अदालतको अस्वीकार
एक अमेरिकी संघीय पुनरावेदन अदालतले जोन एफ. केनेडी सेन्टर फर द पर्फर्मिङ आट्र्सबाट राष्ट्रपति डोनल्ड ट्रम्पको नाम हटाउन निर्देशन दिने अदालतको आदेशलाई अस्थायी रूपमा रोक्न न्याय मन्त्रालयले गरेको अन्तिम समयको अनुरोधलाई अस्वीकार गरेको छ । यसअघि सोही दिन, ट्रम्प प्रशासन र केनेडी सेन्टरको सञ्चालक समिति (बोर्ड अफ ट्रस्टीज) दुवैले संघीय जिल्ला न्यायाधीशको नाम हटाउने आदेशविरुद्ध पुनरावेदन गरेका थिए । उक्त आदेशअनुसार शुक्रवार मध्यरातभित्रै भवनबाट ट्रम्पको नाम हटाइसक्नुपर्ने थियो । शुक्रवार दिउँसोसम्ममा, निर्माण टोलीले केनेडी सेन्टरको ट्रम्पको नाम अंकित खण्डलाई घेरेर त्यसलाई हटाउनका लागि खट खडा गर्न थालिसकेका थिए । शुक्रवार साँझ उक्त खटको अगाडि उभिएर केनेडी सेन्टरका एक कलाकार प्याट्रिक नुरले कुरा गर्दै यो स्थान अपमानित हुनबाट जोगिएकोमा आफू खुशी भएको बताउनु भयो ।
१३. बाढी नियन्त्रणका लागि बेइजिङद्वारा पहाडी क्षेत्रमा पाँच वटा विशाल जलाशय निर्माण गर्ने ऐतिहासिक योजना
बेइजिङले आफ्नो पहाडी क्षेत्रमा बाढी नियन्त्रणका लागि पाँचवटा जलाशय निर्माण गर्ने योजना अघि सारेको छ । चिनियाँ राजधानीले झन्डै आधा शताब्दी (५० वर्ष) यता पहिलो पटक यस्तो ठूलो पहल शुरु गरेको बेइजिङ जलस्रोत प्राधिकरणले बिहीबार जानकारी दिएको छ । यी पाँच जलाशयहरू योङदिङ, जुमा, दाशी र वेन्यु नदीहरूको माथिल्लो तटीय क्षेत्रमा अवस्थित छन् । प्राधिकरणका अनुसार हालका वर्षहरूमा बेइजिङले बाढी नियन्त्रण पूर्वाधार निर्माणलाई व्यापक रूपमा अगाडि बढाइरहेको छ । बाढीको पानीलाई रोक्न र बहाव कम गर्न प्रमुख नदीहरूको माथिल्लो क्षेत्रमा जलाशयहरू निर्माण भइरहेका छन्। त्यस्तै, नदीको मध्य भागमा पानीको बहाव तीव्र बनाउन नदी सफा गर्ने (ड्रेजिङ) र तटबन्ध सुदृढीकरण गर्ने काम भइरहेको छ । तल्लो तटीय क्षेत्रमा भने डुबान रोक्न ढल निकास र पानी फर्काउने प्रणालीलाई स्तरोन्नति गरिँदैछ। बाढी भण्डारण र नियन्त्रण क्षेत्रहरूसँग समन्वय गर्दा यी प्रयासहरूले वैज्ञानिक व्यवस्थापनमा मद्दत पु¥याउँछन्, जसले वर्षायाममा सुरक्षालाई अधिकतम बनाउन सहयोग गर्दछ ।
१४. भारतको असममा सैन्य विमान दुर्घटनाः वायुसेनाका ५ जवानको मृत्यु
भारतको उत्तर–पूर्वी राज्य असममा शनिवार भारतीय वायु सेनाको एउटा एएन–३२ सैन्य परिवहन विमान दुर्घटनाग्रस्त हुँदा पाँच जना वायु सेनाका कर्मचारीहरूको मृत्यु भएको छ । सरकारी अधिकारीहरूकाअनुसार उक्त विमान असमको पहाडी क्षेत्रमा दुर्घटनाग्रस्त भएको हो । दुर्घटनाको कारणबारे विस्तृत अनुसन्धान शुरु गरिएको छ । मृतकका शवहरू संकलन गर्ने प्रयास भइरहेको अधिकारीहरूले जनाएका छन् ।
१५. जिम्मेवार पत्रकारिता र संसदीय रिपोर्टिङबारे पत्रकारलाई अभिमुखीकरण
नेपाल पत्रकार महासंघले जिम्मेवार पत्रकारिता, संसदीय रिपोर्टिङ तथा सामाजिक सञ्जालको प्रभावकारी प्रयोग सम्बन्धी अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ । महासंघले आईतवार काठमाडौमा संसदीय मामिलामा रिपोर्टिङ गर्दै आएका पत्रकारहरुलाई उक्त अभिमुखिकरण दिएको हो । कार्यक्रममा पत्रकारिताको व्यावसायिक मर्यादा, तथ्यमा आधारित समाचार सम्प्रेषण, संसदीय गतिविधिको प्रभावकारी रिपोर्टिङ तथा सामाजिक सञ्जालको जिम्मेवार प्रयोगका विषयमा जानकारी गराइएको थियो । संघीय संसद सचिवालयका उपसचिव दशरथ धमलाले संसदीय पत्रकारहरुमा विधेयक प्रक्रिया, संसदीय प्रश्ताव, विषयगत समिति सबैको बारेमा जानकारी हुन अति आवश्यक रहेको बताउनु भयो । यी विषयमा जानकारी नहुँदा कतिपय पत्रकारले त्रुटीपूर्ण समाचार लेख्ने गरेको उल्लेख गर्नुहुँदै उहाँले उक्त त्रुटीले समाजमा पत्रकारिता क्षेत्रलाई हेर्ने दृष्टिकोण नै परिवर्तन हुने गरेको बताउनु भयो ।
१६. पाँच वर्षभित्र सम्पूर्ण भवनलाई विपद् उत्थानशील बनाउने महानगरको घोषणा
काठमाडौं महानगरले आगामी पाँच वर्षभित्र महानगरभित्रका सम्पूर्ण भवनलाई विपद् उत्थानशील बनाउने घोषणा गरेको छ । महानगरपालिकाको नगरसभा १९ औँ अधिवेशनमा आगामी आर्थिक वर्ष २०८३÷८४ को नीति तथा कार्यक्रम प्रश्तुत गर्दै कार्यवाहक प्रमुख सुनिता डंगोलले उक्त घोषणा गर्नुभएको हो । सम्पूर्ण भवनलाई विपद् उत्थानशील बनाउने अभियान चालू आर्थिक वर्षदेखि नै शुरु गरिने उहाँले जानकारी दिनुभयो । चालु आर्थिक वर्षमा समुदायको सहभागितामा जोखिम सर्वेक्षण, प्रवलीकरण तथा आवश्यक मर्मतसम्भारका कार्यक्रम सञ्चालन गर्ने उहाँले बताउनु भयो । महानगरले विपद् व्यवस्थापनसँग सम्बन्धित सम्पूर्ण सूचना तथा विवरणलाई भौगोलिक सूचना प्रणाली (जिआईएस) मा आवद्ध गर्ने तथा मनसुनजन्य विपद् जोखिम न्युनिकरणका लागि पूर्वतयारी र प्रतिकार्य योजना कार्यान्वयन गर्ने नीति लिएको छ । विद्यालय, अस्पताल, होटल, सपिङ मल तथा सार्वजनिक भवनहरूको नियमित सुरक्षा परीक्षण र विपद् सुरक्षा मापदण्ड कार्यान्वयनलाई समेत प्राथमिकता दिएको उहाँले बताउनु भयो ।
१७. सुशासन, डिजिटल सेवा र शहरी व्यवस्थापन काठमाडौं महानगरको प्राथमिकतामा
काठमाडौं महानगरपालिकाले सुशासन, डिजिटल सेवा र शहरी व्यवस्थापनलाई प्राथमिकतामा राखेर आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम ल्याएको छ । महानगरपालिकाको नगरसभा १९ औँ अधिवेशनमा आगामी आर्थिक वर्ष २०८३÷८४ को नीति तथा कार्यक्रम प्रश्तुत गर्दै कार्यवाहक प्रमुख सुनिता डंगोलले सुशासन, डिजिटल प्रविधिको उपयोग, कर्मचारी व्यवस्थापन तथा शहरी सुव्यवस्थापनलाई प्राथमिकतामा राखिएको बताउनु भयो । मौलिक, ऐतिहासिक, सांस्कृतिक, पर्यटकीय र सुशासनयुक्त महानगर निर्माणमा सहयोग गर्नेगरि नीति तथा कार्यक्रम ल्याईएको उहाँले जानकारी दिनुभयो । उहाँले नेपालको संविधान, सङ्घीय तथा प्रदेश कानुन तथा कार्यविस्तृतीकरण प्रतिवेदनअनुसार स्थानीय सरकारका अधिकार र जिम्मेवारी प्रभावकारी रूपमा कार्यान्वयन गर्न आवश्यक कानुनी तथा संस्थागत व्यवस्था गरिने बताउनु भयो । महानगरका गतिविधि तथा सूचना संप्रेषणका लागि वेबसाइट, आधिकारिक मल्टिमिडिया च्यानल तथा डिजिटल प्लेटफर्मको प्रयोग विस्तार गरिने र स्रोत–साधनको विनियोजनलाई थप मितव्ययी, पारदर्शी तथा नतिजामुखी बनाइने नीति लिएको उहाँले जानकारी दिनुभयो ।
१८. मुलुक विगत १५ वर्षदेखि स्वार्थ समूहको कब्जामा थियो, नेताहरु उनीहरुको गोजीमाः अर्थमन्त्री वाग्ले
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले देश विगत १०–१५ वर्षदेखि निहित स्वार्थ समूहहरूको प्रभावमा रहेको दाबी गर्दै सरकार त्यसलाई तोड्ने अभियानमा रहेको बताउनुभएको छ । आईतवार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले विगतमा राजनीतिक नेतृत्वदेखि राज्यका विभिन्न अंगहरु समेत स्वार्थ समूहको कब्जामा रहेको तथ्यहरु खुलिरहेको बताउनु भयो । उहाँले मुलुकको इतिहासकै सबैभन्दा ठूलो वित्तीय घोटालाको फाइल एक खर्बभन्दा बढी बिगो मागसहित प्रक्रियामा रहेको जिकिर गर्नुभयो । उहाँले सरकार अहिले मुलुकको अर्थव्यवस्थामा देखिएको बेथितिलाई सफा गर्ने अभियान रहेको बताउनु भयो । मुलुक कहिल्यै बन्दैन भनेर युवाहरु विदेशिनुपर्ने भाष्य चिर्नेगरी सरकार अघि बढिरहेको उहाँको दाबी छ ।
१९. अब मुलुकमा आन्दोलन शुरु हुन्छ, गणतान्त्रिक शासन व्यवस्था समाप्त हुन्छः दुर्गा प्रसाईं
नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंले मुलुकमा गणतान्त्रिक शासन व्यवस्थाको अन्त्य हुने चेतावनी दिनुभएको छ । आईतवार काठमाडौंमा आयोजित राष्ट्रवादी पार्टी निर्माणार्थ जिम्मेवारी हस्तान्तरण तथा परिचयात्मक कार्यक्रममा बोल्दै उहाँले उक्त जिकिर गर्नुभएको हो । सहकारीमा आफूले ठगेको पैसा जनताको करबाट तिर्ने काम शुरु गर्ने वित्तिकै वर्तमान सरकारको दशा शुरु हुने र व्यवस्था पनि नरहने संयोजक प्रसाईंको भनाई थियो । उहाँले वर्तमान सरकार र राष्ट्रिय स्वतन्त्र पार्टीलाई पनि आफूले नेकपा (एमाले)लाई जस्तै नांगेझार पार्ने पनि बताउनु भयो । मुलुकमा अब आन्दोलन हुने भन्दै संयोजक प्रसाईंले त्यसले पिँध नभएको गमला जस्तो वर्तमान शासन व्यवस्था जाने बताउनु भयो । उहाँले भन्नुभयो,‘जसरी एमाले नांगो बनाएको थिए नि । तिमीहरुलाई त्यसरी नै दुर्गा प्रसाईंले नांगो बनाएर हिजो तिमीहरुले जसरी हरेकको घरमा आँगो लगाएका थियौ नि । यस्तो थियो नि सर्पोटरको घरमा पनि आगो लगाएका थियौ नि । अब कन्टेन्ट क्रियटर राखेको रहेछ–२,४ जनालाई पैसा दिएर । उनीहरुको काम नै मुख छाड्ने ।
२०. दुर्गा प्रसाईं राजासंस्था र हिन्दुराष्ट्र कायम गर्ने एजेण्डाका ब्राण्ड हुन्, नयाँ पार्टी उहाँकै नेतृत्वमा अघि बढ्नेछः धवलशमशेर राणा
राष्ट्रिय प्रजातन्त्र पार्टी परित्याग गर्नुभएका डा. धवलशमशेर राणाले राजसंस्था र हिन्दु राष्ट्रको एजेण्डालाई स्थापित गराउन आफूहरुले नयाँ राष्ट्रवादी पार्टी निर्माण गर्न लागेको बताउनुभएको छ । आईतवार काठमाडौंमा आयोजित राष्ट्रवादी पार्टी निर्माणार्थ जिम्मेवारी हस्तान्तरण तथा परिचयात्मक कार्यक्रममा बोल्दै उहाँले उक्त कुरा स्पष्ट पार्नुभएको हो । नेता राणाले नयाँ पार्टीको नेतृत्व राजा र हिन्दु राष्ट्रको एजेण्डालाई बोकेर निमुख जनताको नेता बन्नुभएको भन्दै दुर्गा प्रसाईले गर्ने पनि बताउनु भयो । राजा र हिन्दु राष्ट्र बोकेको एजेण्डालाई लिएर देशव्यापी रुपमा निमुखा जनताको नेता हुनुभएको, ब्राण्ड हुनु भएकाले प्रसाईंले पार्टीको नेतृत्व गर्ने उहाँको भनाई थियो । नेता राणाले नयाँ बन्ने पार्टीले राजासहितको प्रजातन्त्र बोक्ने र हिन्दु राष्ट्र मुलुकमा कायम गरिछाड्ने संकल्प लिएको पनि बताउनु भयो । उहाँले भन्नुभयो, ‘राजसंस्था र हिन्दु राज्यको एजेण्डालाई रेस्क्यू गर्नुपर्छ । र यो एजेण्डालाई रेस्क्यू गर्दा सबै राष्ट्रवादी, राजावादी एक ठाउँमा ल्याउनु पर्छ भन्ने क्रममा सबभन्दा पहिला दृष्टि हाम्रो दुर्गा प्रसाईंजी माथि गयो ।
२१. नेपालमा राजसंस्था पुनस्र्थापना नभई देश र जनताले सुख र शान्ति पाउँदैनन्ः दुर्गा प्रसाईं
नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंले नेपालमा राजसंस्था पुनस्र्थापना नभई देश र जनताले सुख र शान्ति नपाउने दाबी गर्नुभएको छ । आईतवार काठमाडौंमा आयोजित प्रस्तावित राष्ट्रवादी पार्टी निर्माणार्थ जिम्मेवारी हस्तान्तरण तथा परिचयात्मक कार्यक्रममा बोल्दै उहाँले उक्त जिकिर गर्नुभएको हो । संयोजक प्रसाईले राजसंस्था फर्काउन र गद्धीमा राख्नका लागि धवलशमशेर राणासँग आफूले मिलेर नयाँ पार्टी खोल्ने निर्णय लिएको पनि स्पष्ट पार्नुभयो । उहाँले आफूहरुले हिन्दु अधिराष्ट्र कायम गर्ने संकल्प पनि लिएको बताउनु भयो । सनातन हिन्दु अधिराज्य र राजसंस्था स्थापना नगरी यो देश र नेपाली जनताले सुख र शान्ति नपाउने संयोजक प्रसाईको भनाई थियो ।
२२. बालेन सरकारले धेरै गल्ती गरिसक्योः धवलशमशेर राणा
राष्ट्रिय प्रजातन्त्र पार्टी परित्याग गरेका डा. धवलशमशेर राणाले वर्तमान सरकारको आयूलाई लिएर प्रश्न उठिसकेको टिप्पणी गर्नुभएको छ । बालेन्द्र (बालेन) साह नेतृत्वको वर्तमान सरकारले धेरै गल्ती गरेकाले त्यसको आयुलाई लिएर देशभर प्रश्न उठीरहेको उहाँको जिकिर थियो । आईतवार काठमाडौंमा आयोजित राष्ट्रवादी पार्टी निर्माणार्थ जिम्मेवारी हस्तान्तरण तथा परिचयात्मक कार्यक्रममा बोल्दै नेता राणाले सरकारले समय दिन नपुग्दै गल्ती गरेकाले सरकारको नयाँ विकल्पको रुपमा आफूृहरुले नयाँ पार्टी खोल्न लागेको दावी समेत गर्नुभयो । नयाँ पार्टीले राजासहितको प्रजातन्त्र बोक्ने र मुलुकलाई हिन्दु राष्ट्र कायम गराउने गरी वर्तमान सरकारको विकल्प दिने उहाँले बताउनु भयो । नेता राणाले मलमास परेकाले नयाँ पार्टीको नाम, झण्डासहितको कार्यक्रम केही पछि मात्रै सार्वजनिक गर्ने निर्णय गरिएको बताउनु भयो । उहाँले भन्नुभयो,‘यो बालेन सरकार पनि के होला, कसो होला ? भन्ने यो सय दिन नप्ुग्दै तमाम प्रश्न चिन्हहरु उठिसके । तमाम गल्तीहरु गरिसके । यो बालेन सरकार देशमा असफल भयो भने नेपाली जनताले एउटा विकल्प खोज्नेछन् । त्यो विकल्प भनेको एमाले, काँग्रेस, माओवादी र राप्रपा पनि होइन । त्योि विकल्प भनेको राजासहितको प्रजातन्त्र बोक्ने पार्टी, हिन्दुराष्ट्र ल्याउने पार्टीं त्यो विकल्प हुनेछ । त्यो विकल्प हाम्रो पार्टीले दिनेछ । हाम्रो नयाँ बन्ने पार्टीले दिनेछ ।’
२३. सरकारले युवालाई सीप, रोजगार र उद्यमसँग जोड्ने कामलाई राष्ट्रिय अभियानको रुपमा अघि बढाएको छः मन्त्री यादव
युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले सरकारले युवालाई सीप, रोजगार र उद्यमसँग जोड्ने कामलाई राष्ट्रिय अभियानको रुपमा अघि बढाएको दाबी गर्नुभएको छ । आईतवार काठमाडौंमा आयोजित राष्ट्रिय युवा उद्यमशीलता सम्मेलन, २०८३ मा बोल्दै उहाँले उक्त कुरा बताउनुभएको हो । मन्त्री यादवले रोजगारीको अवसर सृजना गर्नका लागि सरकारले रोजगारदातालगायतका सम्बन्धित पक्षसँग व्यापक छलफल गरेर अघि बढने योजना बनाएको पनि बताउनु भयो । उहाँले बौद्धिक सम्पती संरक्षण सम्बन्धि राम्रो कानून बनाएर त्यसबाट पनि रोजगारीको अवसर सृजना गर्न चाहेको बताउनु भयो । मन्त्री यादवले कुनैपनि युवालाई रोजगारीको खोजीमा विदेश जान बाध्य हुने विद्यमान अवस्थाको अन्त्य गर्ने सपना आफूले लिएको पनि बताउनु भयो । उहाँले भन्नुभयो,‘सरकारको तर्फबाट म के भन्न चाहन्छु भने–हामी युवालाई सीप, रोजगार र उद्यमसँग जोडने कामलाई राष्ट्रिय अभियानको रुपमा बढाएका छौ । अबको दशकमा गोभरमेन्ट, इम्प्वोइयरको बीचमा कोअपरेशन गरेर रोजगार कसरी सृजना गर्न सकिन्छ ? यसमा छलफलहरु गरौँला, कामहरु गरौँला ।
२४. असारका लागि नयाँ ब्याजदर सार्वजनिक, ककसले घटाए ब्याजदर ?
असार महिनाका लागि वाणिज्य बैंकहरूले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । उनीहरुले सार्वजनिक गरेको विवरणअनुसार धेरैजसो बैंकहरुले ब्याजदर घटाएका छन् । २० वटा वाणिज्य बैंकहरूको औसत व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर ४ दशमलव २७ प्रतिशत कायम भएको छ । जेठमा औसत व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर ४ दशमलव ३४ प्रतिशत थियो । त्यस्तै, संस्थागत मुद्दती निक्षेपतर्फको औसत ब्याजदर ३ दशमलव १८ प्रतिशत कायम भएको छ । जेठमा ३ दशमलव २० प्रतिशत थियो । असार महिनाका लागि ७ बैंकले ब्याजदर घटाएका छन् भने १३ बैंकले जेठ महिनाको ब्याजदरलाई नै निरन्तरता दिएका छन् । ब्याजदर घटाएको कुमारी बैंकले असारमा व्यक्तिगत मुद्दती निक्षेपमा ३ दशमलव ९१ प्रतिशत, लक्ष्मी सनराइज बैंकले ४ प्रतिशत, प्राइम कमर्सियल बैंकले ४ प्रतिशत, एनएमबि बैंकले ४ दशमलव ७५ प्रतिशत, स्ट्यान्डर्ड चार्टर्ड बैंकले ३ दशमलव ९५ प्रतिशत, हिमालयन बैंकले ४ प्रतिशत र एनआईसी एशिया बैंकले ४ प्रतिशत ब्याज दिनेछ ।
२५. औद्योगिक कर्जाको ७२ प्रतिशत बागमतीमा केन्द्रित, कर्णालीमा ०.२५ प्रतिशत मात्रै
बैंक तथा वित्तीय संस्थाबाट औद्योगिक क्षेत्रमा प्रवाहित कर्जामध्ये सबैभन्दा बढी हिस्सा वागमती प्रदेशमा केन्द्रित रहेको देखिएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार २०८२ पुस मसान्तसम्म औद्योगिक क्षेत्रमा प्रवाहित कुल कर्जामध्ये वागमती प्रदेशमा १२ खर्ब ८४ अर्ब ३० करोड अर्थात् ७२.२२ प्रतिशत कर्जा लगानी भएको छ । कर्णाली प्रदेशमा भने सबैभन्दा कम ४ अर्ब ४१ करोड अर्थात् ०.२५ प्रतिशत मात्र कर्जा प्रवाह भएको छ ।
प्रदेशगत रूपमा औद्योगिक कर्जाको हिस्सा कोशी प्रदेशमा ९.२२ प्रतिशत, मधेश प्रदेशमा ७.२२ प्रतिशत, गण्डकी प्रदेशमा १.६२ प्रतिशत, लुम्बिनी प्रदेशमा ७.९१ प्रतिशत तथा सुदूरपश्चिम प्रदेशमा १.५५ प्रतिशत रहेको छ । राष्ट्र बैंककाअनुसार औद्योगिक क्षेत्रमा प्रवाहित कर्जा २०८१ पुस मसान्तको तुलनामा २०८२ पुस मसान्तमा ७.९९ प्रतिशतले वृद्धि भई १७ खर्ब ७८ अर्ब ३० करोड पुगेको छ । अघिल्लो वर्ष सोही अवधिमा यस्तो कर्जा १७.६६ प्रतिशतले बढेको थियो । कुल बैंक कर्जामध्ये औद्योगिक क्षेत्रको हिस्सा ३०.८२ प्रतिशत रहेको छ ।
२६. विपी राजमार्ग मुख्य सडक किनाराबाट यातायात सञ्चालनको तयारी
गत असोजमा आएको विनाशकारी बाढीले क्षतिग्रस्त बनेको विपी राजमार्गको भकुण्डेवेशी–नेपालथोक खण्डमा असार १५ गतेभित्रै सडक किनाराबाट यातायात सञ्चालन गर्ने तयारी गरिएको छ । सडक डिभिजन भक्तपुरले वर्षायाममा खोलाको डाइभर्सनले दुख दिने अवस्थालाई मध्यनजर गर्दै मुख्य निर्माणधिन सडकबाटै सवारी साधन सुचारु गर्न लागेको हो । सडक डिभिजन भक्तपुरका प्रमुख सुमन योगेशकाअनुसार, सामान्य वर्षा हुँदा पनि अहिलेको डाइभर्सन बगाएर सडक अवरुद्ध भइरहेकोले वर्षाअघि नै माथिल्लो भागबाट सवारी सञ्चालन गर्ने गरी कामलाई तिब्रता दिइएको छ । आफूहरुको मुख्य लक्ष्य वर्षायाममा खोलाबाट डाइभर्सन दिएर नभई, स्थायी संरचनामार्फत यातायात सञ्चालन गर्ने रहेको बताउनुभयो । उहाँका अनुसार जेठ मसान्तसम्म महत्वपूर्ण संरचनाहरू सम्पन्न हुनेछन् र असारदेखि सवारी साधन मुख्य सडक संरचनाको किनाराबाट गुड्नेछन् ।
योगेशले भन्नुभयो,‘धुलिखेल–खावा खण्डको कुल लम्बाइ ४ किलोमिटर हो । यसमध्ये साढे दुई किलोमिटरमा पहिलो तहको बिटुमिनस कार्य सम्पन्न भइसकेको छ भने बाँकी डेढ किलोमिटरमा सब–बेसको काम भइरहेको छ । त्यसपछि बेस र डिबिएमले गर्ने काम बिटुमिनको उपलब्धतामा निर्भर हुनेछ ।
२७. बजेटले मध्यम वर्गलाई राहत होइन, व्ययभार मात्र थप्योः सभापति थापा
नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले वर्तमान सरकारले ल्याएको बजेटले मध्यम वर्गलाई राहत दिने भ्रम छरेर उल्टै आर्थिक भार थपेको बताउनुभएको छ । काँग्रेस नीति तथा अनुसन्धान प्रतिष्ठानद्वारा आईतवार सानेपामा आयोजित ‘सुवर्णशमशेर इकोनोमिक सिरिज’ को पहिलो कार्यक्रममा बोल्दै सभापति थापाले यस्तो बताउनुभएको हो । सरकारले आयकरको सीमा १० लाख रुपैयाँसम्म पु¥याएर मध्यम वर्गलाई खुशी पार्न खोजेको देखिए पनि अन्य शिर्षकमा गरिएका कर वृद्धिका कारण आम नागरिकको ढाड सेकिने थापाको तर्क छ । सरकारले अगाडिको गोजीमा २० हजार रुपैयाँ हालिदिए जस्तो गरेर पछाडिको गोजीबाट सुटुक्क ३२ देखि ३४ हजार रुपैयाँ निकालिसकेको उहाँको टिप्पणी छ । शिक्षामा ३ प्रतिशत समता शुल्क, स्वास्थ्यमा थप शुल्क, र ५० युनिटभन्दा बढीको विद्युत खपतमा १३ प्रतिशत भ्याट लगाउँदा वार्षिक रूपमा मध्यम वर्गको खर्च निकै बढ्ने उहाँले उल्लेख गर्नुभयो । निजी विद्यालय र अस्पताल विलासिता नभई राज्यको कमजोरीका कारण नागरिकको बाध्यता बनेको भन्दै ती क्षेत्रमा कर थोपर्नु गलत भएको उहाँको भनाइ छ ।
२८. ‘ड्यु प्रोसेस अफ ल’ पालना गर्न सरकारलाई काँग्रेस सभापति थापाको चेतावनी
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारलाई बहुमतको आडमा कानूनलाई राजनीतिक हतियारका रूपमा प्रयोग नगर्न सरकारलाई चेतावनी दिनुभएको छ । आईतवार पार्टीको केन्द्रिय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले सानेपामा आयोजना गरेको कार्यक्रममा बोल्दै सभापति थापाले यस्तो चेतावनी दिनुभएको हो । उहाँले पार्टीका सांसदहरुलाई ‘कानूनको शासन’ र ‘कानूनद्वारा शासन’बीचको भेद छुट्याई सोहीअनुसार प्रश्तुत हुन निर्देशन दिनुभयो । उहाँले सरकारले मुलुकको आर्थि रुपान्तरणका लागि प्रभावकारी काम गरे काँग्रेसको सहयोग रहने तर संविधान र कानून कार्यान्वयको सवालमा कुनै सम्झौता गर्न नसकिने बताउनुभयो । उहाँले वि.सं. २०४८ सालजस्तै अनुकूल राजनीतिक वातावरण र वि.सं. २०१५ सालजस्तै जनसमर्थन प्राप्त भएको अवस्थामा सरकारले मुलुकको बृहत्तर हित हुनेगरी परिणाम निकाल्नुपर्नेमा जोड दिनुभयो । उहाँले कानून निर्माण र मुलुक सञ्चालनको क्रममा सबैलाई सहभागि गराउनुपर्ने उल्लेख गर्दै सरकारले आफू संविधानभित्रै रहेर बनेको कुरामा हेक्का राख्नुपर्ने तर्क गर्नुभयो । उहाँले सरकारले संवैधानिक मर्यादा र विधिको शासनलाई बेवास्ता गरे नेपाली कांग्रेस नाफा–घाटाको हिसाब नगरी त्यसविरुद्ध उभिने स्पष्ट पार्नुभयो । –न्युज एजेन्सी नेपाल
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij