Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

‘विधान विपरीत’ को निर्वाचन परिणाम बदर गर्न माग

‘विधान विपरीत’ को निर्वाचन परिणाम बदर गर्न माग


  • 1.5K
    Shares

    ‘विधान विपरीत’ को निर्वाचन परिणाम बदर गर्न माग
    images

    काठमाडौं । गएको बैशाख २७ देखि २९ सम्म भएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको पोखरामा सम्पन्न महाधिवेशन कानून र विधानविपरीत भएको भन्दै गृह मन्त्रालयमा उजुरी परेको छ । 

    उपाध्यक्षका प्रत्यासी रामशशी पाण्डे, कोषाध्यक्षका प्रत्यासी राजेशकुमार श्रेष्ठ, वर्गीय संयोजक (माइक्रो) का प्रत्यासी केदार सापकोटालगायतले आफूले दाबी विरोध गर्दा पनि विधानको व्यवस्थाविपरीत पदाधिकारी निर्वाचित भएको भन्दै निर्वाचन परिणाम बदर गर्न, पदस्थापना रोक्न र निर्वाचन समितिका संयोजक कृष्णप्रसाद ज्ञवाली समेतलाई कारबाहीको माग गर्दै गृहमन्त्रालयदेखि विभिन्न निकायमा उजुरी दिएका हुन् । 

    उपाध्यक्षका उम्मेदवार चन्द्रा ओझा, उपमहासचिबका उम्मेदवार देबिन श्रेष्ठ, कोषाध्यक्षका उम्मेदवार राजेन्द्र आचार्य, सहकोषाध्यक्षका उम्मेदवार शोभाकर पौडेल र बागमती प्रदेश संयोजक उम्मेदवार सुमन गिरीको योग्यता नपुगे पनि उम्मेदवारी कायम गराएको आरोप उजुरीकर्ताहरुको छ । 

    यातायात व्यवसायी राजेशकुमार श्रेष्ठका अनुसार फर्जी व्यवसायीका आधारमा निर्वाचन गरिएको र आफूले दाबी विरोध गर्दा पनि निर्वाचन समितिबाट सुनुवाइ नभएपछि गृह मन्त्रालयमा उजुरी दिइएको हो ।

    महासंघले जारी गरेको सूचनाबमोजिम मताधिकार भएका १ हजार ४ सय ७३ जनाको नाम वैशाख २७ गते निर्वाचन समितिले मतदाता सूची प्रकाशित गर्दा पनि सोही संख्या रहेकोमा वैशाख २९ गते २ सय ६ जनाको नाम थप गरी वैशाख ३० गते निर्वाचन गराएको थियो ।

    केन्द्रीय सदस्यमा टंकप्रसाद बस्याल, गणेश श्रेष्ठ र ज्ञानबहादुर बस्नेत गरी तीन जना विधानको दफा २५ (क) बमोजिम मनोनीत भइसकेको अवस्थामा श्री श्रेष्ठ, अरुण श्रेष्ठ, देवेन श्रेष्ठ, राजेन्द्र आचार्य तथा मालवाहकतर्फ विज्ञ सल्लाहकारका रूपमा गोकर्णप्रसाद पराजुलीलाई अन्तिम समयमा नेतृत्वकै लागि विधानविपरीत केन्द्रीय सदस्यमा मनोनीत गरिएको उनीहरूको आरोप छ । उनीहरूका अनुसार यसरी रातारात विधानविपरीत मनोनीत गरिएका व्यक्तिहरूलाई महासंघको पदाधिकारीसमेत बनाइएको छ ।

    उजुरीकर्ताहरूले निर्वाचन बदर गर्न १ हजार ४ सय ७३ जनाको मतदाता सूचीसमेत छानबिन गरी कायम गर्न र निर्वाचित भएको मानिएका व्यक्तिहरुको पदस्थापना कार्यक्रमसमेत रोक्का गर्न र विधानविपरीत मनोनीत गरिएका केन्द्रीय कार्यकारिणी समितिको बैठकका निर्णय कपीहरु महासंघको कार्यालयबाट झिकाई छानबिन गर्न माग गरेका छन् । निर्वाचन समितिले माइकिङ गरी महासचिवका अर्का उम्मेदवार रमेशकुमार खड्काको उम्मेदवारी योग्यता नपुगेको भन्दै फिर्ता गराएको थियो । योग्यताको हकमा फरक–फरक मापदण्ड लागू भएको उनीहरूको आरोप छ । 

    विधानविपरीत केन्द्रीय सदस्य बनाएर कोषाध्यक्षमा राजेन्द्र आचार्यलाई जस्केलाबाट ल्याएको आरोप महासंघका पूर्वअध्यक्ष बिजयबहादुर स्वाँरमाथि लागेको छ । उनकै डिजाइनमा महासंघको बिधान अनुसार ३ जना केन्द्रीय सदस्य मनोनीत गर्नुपर्नेमा ८ जना गरिएको र राजेन्द्र आचार्यहरुसँग प्रभावमा परी उनलाई कोषाध्यक्ष बनाएको आरोप छ । स्वाँर नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत हुन् ।

    निर्वाचन परिणाम बदर गर्न, पदस्थापना कार्यक्रम रोक्न र निर्वाचन समितिका संयोजकलाई कारबाही गर्न माग गर्दै उच्च अदालत पाटनमा मुद्दा पनि दर्ता भएको छ । महासंघको निर्वाचन विधानविपरीत भएको दावीसहित यस्तो मुद्दा दर्ता भएको हो । यसको सुुनुवाइ जेठ २६ गते रहेको छ ।

    त्यसैगरी, गृहमन्त्रालयमा समेत विधानविपरीत भएको निर्वाचन परिणाम बदर गर्न माग गर्दै निवेदन दर्ता गरिएको छ । हेलो सरकारमा समेत महासंघको विधानविपरीत भएको महाधिवेशनका बारेमा उजुरी परेको जानकारी खबरसेन्टरलाई प्राप्त भएको छ ।

    प्रकाशित मिति :जेठ २७ २०८३ बुधवार - १८:०३:१९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij