२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । सम्पत्ति छानबिन आयोगले सार्वजनिक पद धारण गरेका व्यक्तिहरूका लागि सम्पत्ति विवरण बुझाउने म्याद आगामी असार मसान्तसम्म थप गरेको छ।
यसअघि आयोगले गत जेठ १ गते एक सूचना जारी गर्दै पूर्वप्रधानमन्त्रीदेखि सहसचिव तहसम्मका विभिन्न पदाधिकारीहरूलाई जेठ मसान्तभित्र सम्पत्ति विवरण बुझाउन निर्देशन दिएको थाहा भएको छ। उक्त तोकिएको म्याद सकिन तीन दिन मात्र बाँकी रहँदा करिब ३ हजार ५०० जनाले मात्र सम्पत्ति विवरण बुझाएपछि आयोगले म्याद थप गर्ने निर्णय गरेको हो।
सार्वजनिक पदमा बहाल रहेका, पदबाट सेवा निवृत्त भएका वा पदमुक्त भइसकेका व्यक्तिहरूले आफ्नो सम्पत्ति विवरण आफैँ उपस्थित भएर, आफ्नो प्रतिनिधिमार्फत, हुलाकबाट वा आयोगको आधिकारिक इमेलमार्फत बुझाउन सक्ने व्यवस्था मिलाइएको आयोगले जनाएको छ।
आयोगले विक्रम संवत २०४८ देखि २०८३ सालसम्मको अवधिमा कुनै पनि समयमा सार्वजनिक पद धारण गरेका व्यक्तिहरूमाथि विशेष निगरानी राखेको छ। उक्त अवधिमा पदमा रहेका व्यक्तिहरूले पदीय दुरुपयोग गरी अस्वाभाविक वा गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको देखिएमा उजुरी दिएर छानबिन प्रक्रियामा सहयोग गर्न आयोगले सर्वसाधारण तथा सम्बद्ध सबैसँग विशेष अनुरोध समेत गरेको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij