२०८३ आश्विन २ गते शुक्रवार
काठमाडौं । काठमाडौँको टोखा नगरपालिका-५ बसुन्धारामा रहेको एक गार्मेन्ट उद्योगमा बुधबार बिहान भीषण आगलागी भएको छ। बसुन्धारास्थित सिद्धबाबा युनिफर्म इन्टरप्राइजेजमा विद्युत् सर्ट भई अचानक सल्किएको आगोका कारण करिब ८ करोड रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको अनुमान गरिएको छ।
बुधबार बिहान करिब २:५२ बजेको समयमा उद्योगमा अचानक आगो सल्किएको थियो। मध्यराति लागेको आगोले हेर्दाहेर्दै उग्र रूप लिएपछि नियन्त्रणका लागि ठुलो संख्यामा सुरक्षाकर्मी र दमकल परिचालन गरिएको थियो। आगलागी भएको खबर पाउनासाथ नेपाल प्रहरी, नगर प्रहरी, स्थानीय बासिन्दा तथा अन्य सम्बद्ध निकायहरू आगो निभाउन खटिएका थिए।काठमाडौँ र आसपासका क्षेत्रबाट पुगेका ११ वटा दमकल र एउटा पानी ट्याङ्करको सहयोगमा अथक प्रयासपछि बिहान करिब ५:४५ बजे मात्र आगो पूर्ण रूपमा नियन्त्रणमा आएको हो।
आगलागीका कारण सिद्धबाबा युनिफर्म गार्मेन्ट पूर्ण रूपमा जलेर नष्ट भएको छ। आगो छिमेकी पसल र घरहरूमा समेत फैलिँदा थप क्षति पुगेको प्रहरीले जनाएको छ। उद्योगसँगै जोडिएका अन्नपूर्ण किराना स्टोर र प्रतीक्षा इलेक्ट्रोनिक्समा आगोले ठुलो नोक्सानी पुर्याएको छ।यसका साथै स्थानीय लुम्बिनी खाजा घर, क्यापिटल इन्टरनेशनल मेनपावर तथा आसपासमा रहेका अन्य दुईवटा घरमा समेत आंशिक क्षति पुगेको छ। यस घटनामा कुनै पनि मानवीय क्षति भने हुन पाएन। घटनाको सम्बन्धमा प्रहरीले थप विस्तृत अनुसन्धान गरिरहेको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij