२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । यातायात व्यवस्था विभागले सवारी साधनमा उत्पादक कम्पनीले तोकेको भन्दा भिन्न र मापदण्ड विपरीतका हेडलाइट तथा हर्न जडान गर्नेहरूलाई कडा कारबाही गर्ने चेतावनी दिएको छ। विभागले एक सार्वजनिक सूचना जारी गर्दै अनधिकृत रूपमा लाइट र हर्न परिवर्तन नगर्न सबै सवारी धनी तथा चालकहरूलाई सचेत गराएको हो।
पछिल्लो समय सवारी साधनमा शक्तिशाली लाइटहरू जडान गर्ने क्रम बढेको र यसले गर्दा अन्य चालक तथा पैदल यात्रीको आँखा तिर्मिर्याई दुर्घटनाको जोखिम उच्च भएको विभागले जनाएको छ। सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को धारा ३९ अनुसार स्वीकृति नलिई सवारी साधनमा कुनै पनि हेरफेर गर्न पाइँदैन।
लाइटको तीव्रता डिप वा कम बिम भएको हेडल्याम्पको हकमा १५,००० देखि ३०,००० क्यान्डेला सम्म हुनुपर्ने उल्लेख छ । यस्तै हाई बिम हेडल्याम्पको हकमा प्रत्येक ल्याम्प १,००,००० क्यान्डेला भन्दा कम हुनुपर्नेछ । चारवटै हेडल्याम्पको समग्र तीव्रता २,००,००० क्यान्डेला भन्दा कम हुनुपर्ने विभागले जनाएको छ ।
हर्नको आवाज न्यूनतम ९० डिबीदेखि अधिकतम ११२ डिबीसम्म मात्र हुनुपर्ने र प्रेसर हर्न र अन्य चर्को आवाज निकाल्ने हर्नहरू जडान गर्न पूर्णतः निषेध गरिएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij