Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

रौतहट दुर्घटना: साइकल यात्रीको मृत्यु, पहिचान खुल्न बाँकी

रौतहट दुर्घटना: साइकल यात्रीको मृत्यु, पहिचान खुल्न बाँकी


  • 778
    Shares

    रौतहट दुर्घटना: साइकल यात्रीको मृत्यु, पहिचान खुल्न बाँकी
    images

    काठमाडौं । रौतहटको पूर्वी भेग गढीमाई नगरपालिका–४ सुन्दरपुरस्थित गरुडा–समनपुर सडकखण्डमा अज्ञात सवारी साधनको ठक्करबाट एक साइकल यात्रीको मृत्यु भएको छ। मृतकको पहिचान हालसम्म खुल्न नसकेको प्रहरीले जनाएको छ।

    इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डीएसपी शङ्कर प्रसाद आचार्यका अनुसार नम्बर नखुलेको सवारी साधनले साइकल यात्रीलाई ठक्कर दिँदा उनको टाउकोमा गम्भीर चोट लागेको र घटनास्थलमै ज्यान गएको हो। 

    घटना कुन समयमा भएको हो भन्ने यकिन हुन नसके पनि आज सोमबार बिहान करिब ६ बजे स्थानीयवासीले सडक किनारमा शव देखेपछि प्रहरीलाई जानकारी गराएका थिए। जानकारी पाउनासाथ डीएसपी आचार्यसहितको प्रहरी टोली घटनास्थल पुगेको थियो।

    प्रारम्भिक अनुसन्धानमा मृतक पुरुषको उमेर करिब ४० देखि ४५ वर्षको बिचमा हुन सक्ने अनुमान गरिएको छ। शव सडक छेउमा लडिरहेको अवस्थामा फेला परेको र मृतकको बायाँ खुट्टा साइकलको भागमा अड्किएको अवस्थामा रहेको प्रहरीले जनाएको छ। प्रहरी टोलीले घटनास्थलको मुचुल्का उठाउनुका साथै आवश्यक प्रमाण सङ्कलन गरिसकेको छ।

    शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौर पठाउने तयारी भइरहेको छ। साथै मृतकको पहिचान खुलाउन आसपासका क्षेत्रमा सोधपुछ तथा अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। 

    प्रहरीले मृतकको पहिचान वा घटनाबारे अन्य कुनै जानकारी भएमा नजिकको प्रहरी कार्यालयमा सम्पर्क गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।

    प्रकाशित मिति :जेठ २५ २०८३ सोमवार - १०:२२:३३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij