२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । एसईई र कक्षा-१२ को परीक्षाका क्रममा परीक्षार्थीहरूबाट जफत गरिएका मोबाइल फोन तथा स्मार्ट घडी पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध विद्यार्थी संगठनहरू आन्दोलित भएका छन्।
जिल्ला प्रशासन कार्यालय सिरहाको उक्त कदमको कडा विरोध गर्दै संयुक्त विद्यार्थी संगठनले आन्दोलन र विरोध प्रदर्शनको घोषणा गरेका हुन्। सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको सूचना अनुसार विद्यार्थी संगठनहरूले सोमबार दिउँसो १२ बजे जिल्ला प्रशासन कार्यालय सिरहाको अगाडि विरोध प्रदर्शन गर्ने तयारी गरेका छन्।
उक्त प्रदर्शनमा सहभागी हुन सिरहाका सम्पूर्ण विद्यार्थीहरूलाई आह्वान गरिएको छ। संयुक्त विद्यार्थी संगठनद्वारा जारी प्रचार सामग्रीमा ‘विद्यार्थीलाई क्षतिपूर्ति दे सरकार’ भन्ने मुख्य नारा तय गरिएको छ। आन्दोलनकारीहरूले जफत गरिएका मोबाइल फोनको उचित क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने, विद्यार्थीमाथि भएको प्रशासनिक दमन अन्त्य हुनुपर्ने र पीडित विद्यार्थीको न्याय सुनिश्चित गरिनुपर्ने माग राखेका छन्।
जिल्ला प्रशासन कार्यालय सिरहाले गत चैत महिनामा सञ्चालित एसईई र कक्षा-१२ को परीक्षाका क्रममा परीक्षार्थीहरूबाट करिब ५०० थान मोबाइल फोन र स्मार्ट घडीहरू जफत गरेको थियो।
परीक्षाको मर्यादा कायम राख्न र भविष्यमा यस्ता इलेक्ट्रोनिक उपकरणहरूको दुरुपयोग रोक्न भन्दै प्रशासनले ती सबै उपकरणहरूलाई पानीमा डुबाएर नष्ट गरेपछि यो विषय अहिले तीव्र विवादमा तानिएको छ।
प्रशासनका अनुसार परीक्षाका क्रममा सात वटा आईफोन, ४८९ वटा विभिन्न कम्पनीका एन्ड्रोइड मोबाइल फोन तथा पाँच वटा स्मार्ट वाच बरामद गरिएको थियो । ती सबै उपकरण हालै नष्ट गरिएको र बरामद सामग्रीको अनुमानित बजार मूल्य एक करोड रुपैयाँभन्दा बढी रहेको बताइएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij