२०८३ आश्विन २ गते शुक्रवार
काठमाडौं । इन्डोनेसियामा सातजना नेपाली पक्राउ परेका छन् । इन्डोनेसियाको सेन्ट्रल जाभा क्षेत्रीय प्रहरीको साइबर अपराध अनुसन्धान निर्देशनालयले उनीहरूलाई पक्राउ गरेको हो ।
सोलो राया क्षेत्रमा सञ्चालित अन्तर्राष्ट्रिय अनलाइन ठगी गिरोहमा संलग्न रहेको आशंकामा सातजना नेपाली र चारजना म्यानमारका नागरिकलाई पक्राउ गरेको हो ।
स्थानीय सञ्चारमाध्यम कोम्पास डटकमका अनुसार उक्त गिरोहले करिब ४१.१ अर्ब इन्डोनेसियाली रुपैयाँ बराबरको कारोबार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
सेन्ट्रल जाभा क्षेत्रीय प्रहरीको साइबर अपराध अनुसन्धान निर्देशक वरिष्ठ आयुक्त हिमावान सुतान्तो सारागिहका अनुसार आरोपितहरूले ‘रोमान्स स्क्याम’ शैलीमा पीडितहरूसँग भावनात्मक सम्बन्ध स्थापित गरी विश्वास जित्ने र त्यसपछि नक्कली लगानी योजना तथा क्रिप्टोकरेन्सीमा लगानी गर्न प्रलोभन दिने गरेका थिए ।
अनुसन्धानका क्रममा प्रहरीले एक कम्पनीको कार्यालय र ६ वटा भाडाका कोठासहित ७ स्थानमा छापा मारेको जनाएको छ। ‘पीटी डिगी ग्लोबल कन्सल्टेन्ट’ नामक कम्पनीलाई कामदार भर्ना गर्ने तथा मुख्य सञ्चालन केन्द्रका रूपमा प्रयोग गरिएको आशंका गरिएको छ । केही आरोपितहरूले भने आफ्नो गतिविधि लुकाउन भाडाका कोठाबाटै ठगी सञ्चालन गर्ने गरेको पाइएको समाचारमा उल्लेख छ ।
प्रहरीका अनुसार अपराधीहरूले टिन्डर, ट्यानट्यान, बम्बललगायतका डेटिङ एप र फेसबुकजस्ता सामाजिक सञ्जालमार्फत सम्भावित पीडितहरूसँग सम्पर्क स्थापित गर्थे । विश्वासको सम्बन्ध बनेपछि कुराकानीलाई व्यक्तिगत म्यासेजिङ एपमा सारेर लगानीका नाममा रकम जम्मा गर्न दबाब दिने गरिएको थियो ।
सारागिहका अनुसार ठगीलाई विश्वसनीय बनाउन नक्कली पहिचान प्रयोग गरी सामाजिक सञ्जालका अकाउन्ट सञ्चालन गरेका थिए । पीडितको विश्वास जित्न महिलाका फोटो र भिडियो प्रयोग गर्नुका साथै केही महिलामार्फत प्रत्यक्ष भिडियो कलसमेत गराइन्थ्यो, जसबाट पीडितहरूलाई ठगी गिरोहको नियन्त्रणमा रहेको लगानी प्लेटफर्ममा रकम लगानी गर्न प्रेरित गरिने गरेको बताइएको छ ।
सो कार्यमा संलग्न नेपालीमध्ये चारजना महिला र तीनजना पुरुष रहेका र उनीहरू सबै २० वर्ष उमेर समूहका युवा रहेको बताइएको छ । प्रहरीका अनुसार उनीहरूलाई आकर्षक रोजगारीको प्रलोभन देखाएर इन्डोनेसिया ल्याइएको थियो ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij