२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । काभ्रेको पाँचखाल नगरपालिका-३ स्थित ठूली सामुदायिक वनमा बुधबार बिहान एक सशस्त्र प्रहरी अधिकारी र एक युवतीको शव सडेको अवस्थामा फेला परेको छ। बुधबार मौवाको २ ओटा रुखमा महिला र पुरुषको जस्तो देखिने सडेगलेको २ वटा कंकाल मात्र झुण्डिरहेको भन्ने खबर प्रहरीलाई स्थानीयले दिएका थिए।
गएको वैशाख १९ गते गणबाट २ दिनको विदा लिएर हिँडेका रामलाई बुधबार बिहान काभ्रेको पाँचखाल नगरपाािलका ३ ठुली सामुदायिक वनमा झुण्डिएको अवस्थामा मृत फेला पारेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जानकारी दिएको हो।
नजिकै अर्को रुखमा कैलाली घोडाघोडी नगरपालिका १ की २६ वर्षकी शर्मिला चौधरी पनि मृत फेला परेकी छन्। २०८३ बैशाख १८ गते शक्ति रामलाई भेट्न भन्दै उनी काभ्रे आएकी थिइन्।
राम सम्पर्कबिहिन रहेको भन्दै परिवारले नै खोजतलासका लागि निवेदन दिएका थिए। सशस्त्र प्रहरीले उक्त निवेदन वैशाख २१ गने नै जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकमा पठाएका थिए। शर्मिलाका भाइ रन्जित चौधरीले पनि २०८३ बैशाख २५ गते प्रहरी वृत्त बालाजुमा खोजतलासको लागि निवेदन दिएका थिए।
उनीहरू दुवै जनाको मोबाइलमा सम्पर्क हुन सकेको थिएन। प्रहरी वृत्त बालाजुबाट खोजतलास हुँदा शर्मिला चौधरीको मोबाइलको अन्तिम लोकेसन काभ्रेपलाञ्चोकमा देखिएको थियो।
दुवै जनाको शव पोष्टमार्टमका लागि धुलिखेल अस्पतालमा राखिएको छ। थप अनुसन्धान पनि भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकले जानकारी दिएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij