२०८३ श्रावण ११ गते सोमवार
वासिङ्टन डिसी । अमेरिकी सेनाले इरानमाथि ‘आत्मरक्षा’ का लागि भन्दै हवाई आक्रमण गरेको छ। यसका साथै खाडी मुलुकहरू र पानीजहाजलाई लक्षित गरी इरानले प्रहार गरेका ब्यालेस्टिक क्षेप्यास्त्र तथा ड्रोनहरूलाई बिचमै खसालिदिएको दाबी अमेरिकी पक्षले गरेको छ।
स्ट्रेट अफ होर्मुजमा अवस्थित क्युशम टापुमा अमेरिकी सेनाले गरेको यो हमला मध्यपूर्वभर इरानले गर्न खोजेको आक्रमणको जवाफ भएको अमेरिकी सेन्ट्रल कमाण्ड (सेन्टकम)ले जनाएको छ। यता इरानले भने बदलास्वरुप एक ‘क्षेत्रीय मुलुक’ मा रहेका अमेरिकी सैन्य अखडा र हेलिकप्टरहरूमा क्षेप्यास्त्र तथा ड्रोनमार्फत आक्रमण गरेको दाबी गरेको छ।
सेन्टकमका अनुसार तेहरानले कुवेततर्फ दुई र बहराइनतर्फ तीनवटा क्षेप्यास्त्र प्रहार गरेको थियो। तीमध्ये केही बाटोमै खसेका थिए भने केहीलाई आकाशमै ध्वस्त पारिएको थियो। महिनौँदेखि जारी युद्ध अन्त्य गर्ने विषयमा भएको युद्धविराम वार्ता असफल भएलगत्तै दुई देशबिच फेरि तनाव बढेको हो।
अमेरिकी सेनाले क्युशम टापुमा इरानी सैन्य जमिन नियन्त्रण केन्द्रलाई निशाना बनाएको स्पष्ट पारेको छ। त्यस्तै अन्तर्राष्ट्रिय जलक्षेत्रबाट कानुनी रूपमा यात्रा गरिरहेका ‘नागरिक नाविक’ तर्फ लक्षित गरिएका तीनवटा इरानी ड्रोन पनि खसालिएको अमेरिकाले जनाएको छ।
यसैबिच इरानी इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीस) ले स्ट्रेट अफ होर्मुजको सुरक्षामा खलल पुर्याए आक्रामक अमेरिकी सेनाले ठुलो मूल्य चुकाउनुपर्ने चेतावनी दिएको छ। अमेरिकाले कुवेत र बहराइनमा रहेका आफ्ना सैन्य बेसलाई लक्षित गरी प्रहार गरिएका क्षेप्यास्त्रहरू अमेरिकी र बहराइनी वायु रक्षा बलले तत्कालै निष्क्रिय पारेको बताएको छ।
यसअघि, सेन्टकमले अप्रिल १३ देखि स्ट्रेट अफ होर्मुजमा वासिङ्टनले लगाएको नौसैनिक नाकाबन्दीको हिस्सा स्वरूप इरानतर्फ जाँदै गरेको एउटा खाली तेल ट्याङ्करमा आक्रमण गरी त्यसलाई निष्क्रिय बनाएको जानकारी दिएको थियो। बोट्सवानाको झण्डा रहेको ‘एमरटी लेक्सी’ नामक उक्त जहाजका चालक दलले बारम्बारका चेतावनीलाई बेवास्ता गरेपछि अमेरिकी विमानले त्यसको इन्जिन कोठामा हेलफायर क्षेप्यास्त्र प्रहार गरेको हो।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij