२०८३ आश्विन २ गते शुक्रवार
काठमाडौं । सभामुख डोलप्रसाद अर्याल र राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले संसदको लोगो अंकित झण्डासहित विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्न सफल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मिङ्मा ग्याबु शेर्पालाई सम्मान गरेका छन्। मंगलबार सिंहदरबारमा एक विशेष कार्यक्रमको आयोजना गरी उनीहरूले सांसद शेर्पालाई सम्मान गरेका हुन्।
हिमाल आरोहणको क्षेत्रमा नयाँ नयाँ कीर्तिमान कायम गर्दै आएका सांसद शेर्पाले सभामुख अर्यालकै अनुमतिमा संसदको झण्डासहित गएको जेठ १३ गते बुधबार सगरमाथाको सफल आरोहण गरेका थिए।
सम्मान कार्यक्रममा बोल्दै सांसद शेर्पाले संघीय संसदमा सांसदको रूपमा आएपछि यसको गरिमालाई अझ उच्च बनाउने चाहना बमोजिम आफूले संसदको लोगो अंकित झण्डासहित सगरमाथा यात्रा तय गरेको बताए।
पर्वतारोहण क्षेत्रमा ‘मिङ्मा डेभिड’ नामले समेत चिनिने ३७ वर्षीय सांसद शेर्पा एक परिचित नाम हो। उनले विश्वका सबै १४ वटा आठ हजार मिटरभन्दा अग्ला हिमाल आरोहण गर्ने सबैभन्दा कान्छो आरोहीको कीर्तिमान समेत आफ्नो नाममा सुरक्षित गरेका छन्।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij