२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । पूर्वगृहमन्त्री सुधन गुरुङ मन्त्री हुँदा र त्यसपछि उठेका सार्वजनिक सरोकारका विषयमा अध्ययन तथा छानबिन गर्न गठित समितिले आज सरकारलाई राय-सुझावसहितको प्रतिवेदन बुझाउने तयारी गरेको छ।
समितिले गुरुङसँग बयान लिने, सम्पत्ति विवरण अध्ययन गर्ने लगायतका कार्य पूरा गरेपछि प्रतिवेदन बुझाउन लागिएको समितिका सदस्य अच्युतमणि नेउपानेले जानकारी दिएका छन्।
उनका अनुसार प्रतिवेदनमा दोषी वा निर्दोष जे भए पनि प्रमाणका आधारमा स्पष्ट निष्कर्षसहित राय प्रस्तुत गरिएको छ।
गत वैशाख २८ गते प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा बसेको मन्त्रिपरिषद् बैठकले उच्च अदालतका पूर्वन्यायाधीश अच्युतप्रसाद भण्डारीको अध्यक्षतामा तीन सदस्यीय उच्चस्तरीय छानबिन समिति गठन गरेको थियो। समितिका अन्य सदस्यहरूमा महालेखा नियन्त्रक शोभाकान्त पौडेल र सहन्यायाधिवक्ता अच्युतमणि नेउपाने रहेका छन्। समितिलाई १५ दिनभित्र प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको थियो।
व्यापारी दीपक भट्टसँग व्यापारिक साझेदारी रहेको विषय सार्वजनिक भएपछि गुरुङ विवादमा तानिएका थिए। त्यसपछि उनले वैशाख ९ गते गृहमन्त्री पदबाट राजीनामा दिएका थिए। उनी २६ दिनमात्रै गृहमन्त्रीको जिम्मेवारीमा रहेका थिए।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij