२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । नेपालको पर्यटन क्षेत्रमा नीतिहरू बन्ने तर कार्यान्वयन नहुने परिपाटीले लगानीकर्ताको आत्मविश्वास घट्दै गएको र पर्यटन अर्थतन्त्र जोखिममा परेको सरोकारवालाहरुले बताएका छन् ।
नेपाल उद्योग परिसंघले आयोजना गरेको एक कार्यक्रममा पर्यटन र नागरिक उड्डयन क्षेत्रका अगुवाहरूले सरकारको कार्यशैली र कानूनी जटिलतामाथि प्रश्न उठाएका छन् । नेपाल पर्यटन बोर्डका निवर्तमान प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले बजेटमा आएका कार्यक्रमहरू कार्यान्वयन शून्य हुँदा नेपालले ठूलो मूल्य चुकाउनु परेको बताएका छन् ।
विगत १४ वर्षदेखि नेपालले युरोपसँग प्रत्यक्ष हवाई सम्बन्ध स्थापित गर्न सकेको छैन, जसले गर्दा ठूलो ‘भ्यालु-ड्रिभन’ बजार गुमाउनुपरेको छ । देशभर रहेका ५३-५४ वटा आन्तरिक विमानस्थलमध्ये करिब २२ वटा पूर्ण रूपमा बन्द रहेको तथ्य प्रश्तुत गर्दै उनले ती विमानस्थललाई निजी क्षेत्रलाई ‘एयर स्पोट्र्स’ वा उडान प्रशिक्षण विद्यालयका रूपमा सञ्चालन गर्न दिनुपर्ने बताएका छन्।
यस्तै, होटल क्षेत्रलाई दिने भनिएको विद्युत सहुलियत कार्यान्वयन नहुँदा र होटलको ‘अकुपेन्सी’ करिब ४० प्रतिशतमा खुम्चिँदा लगानीकर्ताहरू त्रसित बनेको उनको भनाइ छ । यस वर्ष १५ लाख पर्यटक भित्राउने लक्ष्य राखिए पनि प्राकृतिक विपद् र अन्य अवरोधका कारण करिब साढे १३ लाख मात्र पुग्न सक्ने उनले आकलन गरेका छन् ।
होटल संघ नेपालका सीईओ टेकबहादुर महतले नेपालको पर्यटन विकासको गति सुस्त भएको बताएका छन् । २०५५-५६ को ’भिजिट नेपाल’ ताका ४ लाख पर्यटक आएकोमा २८ वर्षपछि पनि यो संख्या १२ लाखमा मात्रै सीमित हुनुले पर्यटन कता जाँदैछ भन्ने गम्भीर प्रश्न उठाएको उनले बताएका छन् ।
वायुसेवा सञ्चालक संघका उपाध्यक्ष तथा यति एयरलाइन्सका सीईओ सुवास सापकोटाले विमानस्थल बने पनि जहाज ल्याउने नीति नहुँदा समस्या बल्झिएको बताएका छन् । १५ वर्षभन्दा पुरानो जहाज किन्न नपाइने व्यवस्थाले पहाडी क्षेत्रका विमानस्थलहरू रित्तिँदै गएको उनको दाबी छ । उनकाअनुसार पहाडी क्षेत्रमा उड्ने जहाजहरूको संख्या लगातार घट्दो छ, यही अवस्था रहे ५ वर्षपछि लुक्ला जस्ता ठाउँमा उड्ने जहाज नै हुने छैनन् । सापकोटाले इन्धनको मूल्यवृद्धिका कारण हवाई माग ४० प्रतिशतले घटेको र कतिपय अवस्थामा उडान गर्नुभन्दा रद्द गर्नु नै वायुसेवा कम्पनीका लागि आर्थिक रूपमा फाइदाजनक हुने विडम्बनापूर्ण स्थिति सिर्जना भएको सुनाएका छन् ।
नेपाल उद्योग परिसंघ (सीएनआई) पर्यटन समितिकी संयोजक पम्फा धमलाले पर्यटन क्षेत्रको वृद्धिका लागि नयाँ ‘प्रोडक्ट’ थप्नु अनिवार्य रहेको बताएका छन् । एउटै गन्तव्यमा पर्यटक बारम्बार नआउने भएकाले नयाँ आकर्षणहरू सिर्जना गर्नुपर्ने उनको सुझाव छ । धमलाका अनुसार भारत र चीनजस्ता विशाल बजारलाई लक्षित गरी कनेक्टिभिटी र प्रवद्र्धन बढाउन सकियो भने नेपालले धान्न नसक्ने गरी पर्यटक आउने सम्भावना छ । नेपाललाई युरोपेली युनियनको कालोसूचीबाट हटाउन भइरहेको प्रयास सफल भएमा अन्तर्राष्ट्रिय उडान थपिने र त्यसले पर्यटनमा सकारात्मक प्रभाव पार्ने उनले विश्वास व्यक्त गरेका छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij