२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । एक महिलामाथि खुकुरी प्रहार भएको छ । खुकुरी प्रहारबाट स्थानीय २९ वर्षीया सुमा राई गम्भीर घाइते भएकी छन् ।
प्रहरीका अनुसार स्थानीय रबिन्द्र पौडेलको घरको आँगनमा बिहान करिब १०ः३० बजे सोही ठाउँ बस्ने ४३ वर्षीय बिनोद राईले सुमा राईमाथि खुकुरी प्रहार गरेका हुन् । बिनोद राई पीडितका मामा नाता पर्ने व्यक्ति रहेको प्रहरीले जनाएको छ ।
घटनाको जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय उदयपुरबाट प्रहरी निरीक्षक विष्णुबहादुर खड्काको नेतृत्वमा १० जनाको टोली घटनास्थलमा खटिएको थियो ।
खुकुरी प्रहारबाट सुमा राईको टाउको तथा शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ । उनलाई तत्काल जिल्ला अस्पताल उदयपुर लगेर प्रारम्भिक उपचार गरिएको थियो । चिकित्सकले अवस्था गम्भीर रहेको बताएपछि थप उपचारका लागि बिहान ११ः५० बजे न्युरो अस्पताल विराटनगर रिफर गरिएको प्रहरीले जानकारी दिएको छ ।
घटनामा संलग्न बिनोद राईलाई प्रहरीले तत्काल नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय उदयपुरको हिरासतमा राखेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij