Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

कोरोनाबाट आफ्ना गाउँबासीलाई बचाउन थ्रीस्टारको विशेष पहल

कोरोनाबाट आफ्ना गाउँबासीलाई बचाउन थ्रीस्टारको विशेष पहल


  • 9.3K
    Shares

    • images
    कोरोनाबाट आफ्ना गाउँबासीलाई बचाउन थ्रीस्टारको विशेष पहल


              कोरोना संक्रमणले गाउँमा ब्यापक त्रास उत्पन्न भएपछि यस्तो संक्रमणबाट आफ्नो गाउँबासीलाई बचाउनको लागि थ्रीस्टार युवा क्लव, भीमसेन थापा गाउँपालिका–१ मसेलले विशेष पहल थालेको छ । क्लवले ‘थ्री स्टार युवा क्लव, कोभीड–१९ राहत तथा उद्धार समिति’को नाउँमा यस्तो पहल थालेको हो । 
               ‘यो जीवन आफैमा अर्थहीन र रंगहीन छ । जीवनलाई अर्थपूर्ण बनाउने र त्यसमा रंग भर्ने काम त व्यक्ति स्वयंले गर्नुपर्छ ।’ भन्ने दार्शनिक मान्यतालाई आत्मसात् गर्दै क्लवले गाउँमा विपद् उत्पन्न हुँदा त्यसविरुद्धको अभियान संचालन गरेर आफ्नो संस्थागत जीवनलाई अर्थपूर्ण बनाएको र संस्थाको जीवनमा रंग भरेको प्रतिक्रिया त्यसक्षेत्रका बासिन्दाले दिएका छन् । 
              देशैभर कोरोना संक्रमित बढ्दै गएको बेला चौतर्फीरूपमा सिर्जित अक्सिजनको अभावका कारण आफ्नो गाउँबासीले ज्यान गुमाउन नपारोस् भन्ने उद्देश्यका साथ क्लवले तत्काल ५ वटा अक्सिजन सिलिण्डरको व्यवस्था गर्दै थप सिलिण्डर आवश्यक परेमा तुरुन्त उपलब्ध गराउने प्रवन्ध समेत मिलाएको छ ।
               गोरखा सेवा समाज यूएईका पूर्व अध्यक्ष विनोद श्रेष्ठको अर्थ संयोजन तथा अगुवाई र थ्रीस्टार क्लवको समन्वयमा सिलिण्डरको अलवा आवश्यक अक्सिमिटर, पीपीई सेट, एन्टिजेन किट, मास्क तथा सेनिटाईजरको समेत व्यवस्था गरिएको छ भने कोभिडका बिरामीहरुलाई अस्पतालसम्म पुर्याउन निःशुल्क गाडी समेतको प्रवन्ध मिलाईएको जानकारी ‘थ्री स्टार युवा क्लव, कोभीड–१९ राहत तथा उद्धार समिति’का संयोजक अञ्जन मग्रातीले दिए । यस कार्यक्रमको सहयोगार्थ अष्ट्रेलियाको लागि अर्थ संयोजन अनिल पाण्डेबाट भइरहेको जानकारी क्लवले दिएको छ ।

    189999248_3957531291027523_2019160255363311752_n.jpg
               कोभिड संक्रमितलाई निःशुल्करुपमा अस्पतालसम्म पुर्याउनको लागि क्लवलाई गोरखा मनासलु अस्पताल घ्याम्पेसालका संचालक विकास श्रेष्ठले गाडी उपलब्ध गराइदिएका हुन् । थ्रीस्टार युवा क्लवले आवश्यक परेको खण्डमा तुरुन्त उपलब्ध हुनसक्ने गरी अक्सिजनको व्यवस्था गरिदिएपछि अक्सिजन अभावकै कारण सैयौं कोरोना संक्रमितहरुले ज्यान गुमाउनुपरेको समाचारले त्रस्त भिमसेन थापा गाउँपलिका–१ (सविकको मसेल गा.वि.स.)का बासिन्दाहरुले सन्तोषको सास फेरेका छन् ।
               साविक मसेल गा.वि.स.भरका बासिन्दामा कोरोना संक्रमण देखिएमा उपचारको निम्ति गाडी, अक्सिजन र पीपीए सेटको निःशुल्क व्यवस्था गरेको थ्रीस्टार क्लव कोरोनाको तेस्रो लहरको सम्भावनालाई समेत ध्यानमा राख्दै व्यवस्थित आईसोलेसन सेण्टरको निर्माणमा समेत जुटेको छ । 
               कोरोना संक्रमण विरुद्ध जुध्नको लागि आर्थिक पाटोका संयोजन गरिरहेका गोरखा सेवा समाज, युएईका पूर्व अध्यक्ष विनोद श्रेष्ठले आफ्नो गाउँबासीलाई कोरोनाबाट बचाउनको लागि जस्तोसुकै सहयोग गर्न तयार रहेको र अर्थ अभावका कारण काममा बाधा पुग्ने अवस्था आउन नदिने बताए ।
              यस्तो विपद्को घडीमा क्लवलाई विश्वास गरेर सहयोग गर्ने सबै सहयोगीहरूप्रति क्लवले धन्यवाद ज्ञापन गर्दै आफूमाथि दाताहरूले गर्नुभएको विश्वासलाई टुट्न नदिने बताएको छ । 

    प्रकाशित मिति :जेठ १६ २०७८ आइतवार - १८:१४:२८ बजे

    खबर सेन्टर

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij