२०८३ आश्विन २ गते शुक्रवार
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा आइसकेपछि स्थानीय सरकारको महत्त्व र गरिमा व्यापक र गहन भएको बताएका छन्।
सुनसरीको कोशी गाउँपालिकामा निर्माण भएको लौकही सिटी हल समुदघाटन समारोहलाई बुधबार सम्बोधन गर्दै उनले जनताका न्यूनतम आधारभूत आवश्यकता, तथा जनचाहना अनुरूप विकासका कार्यलाई तिव्रता दिएर सङ्घीय लोकतान्त्रिक गणतन्त्रको मूल्य, मान्यता र आदर्श अनुरूपका कार्यहरू सवल बनाउनुपर्नेमा जोड दिएका छन्।
राष्ट्रपति पौडेलले भने, “शान्ति, विकास र सुशासनको माध्यमबाट नै जनताको हित र चाहनासँगै संविधान र शासनप्रणालीले राखेको उद्देश्य पूरा हुन्छ । यसतर्फ तपाईँहरूले विशेष ध्यान दिनुहुनेछ भन्ने मैले आशा राखेको छु ।”
राष्ट्रपति पौडेलले स्थानीय तह जनताको सबैभन्दा नजिकको सरकार भएको उल्लेख गर्दै जनअपेक्षा अनुरूप सेवा प्रवाह गर्नु, सुविधा उपलब्ध गराउनु तथा विकासका कार्यहरू सञ्चालन गर्नु स्थानीय सरकारको महत्त्वपूर्ण दायित्व भएको बताएका छन् ।
सप्तकोशी नदीको किनारमा रहको कोशी गाउँपालिका ऐतिहासिक एवं धार्मिक दृष्टिकोणले पनि महत्त्वपूर्ण ठाउँ भएको उल्लेख गर्दै राष्ट्रपति पौडेलले सप्तकोशी नदीको कुशाहाघाटमा प्रजातन्त्र प्राप्तिका लागि क्रान्ति भएकाले यो ठाउँको सम्बन्ध प्रजातान्त्रिक आन्दोलनसँग जोडिएको स्मरण गरेका छन्।
राष्ट्रपति पौडेलले २०६५ सालमा कोशी बाँध फुट्दा बस्ती नै विस्थापित भएको यस ठाउँमा बस्ती पुनःस्थापित भएको र विकासका गतिविधिहरू तीव्र रूपमा सञ्चालन भएको देख्दा आफूलाई खुशी लागेको बताएका छन्। तीनै तहको सरकारको हातेमालोबाट यस बाढीपीडित जोखिमयुक्त क्षेत्रमा विपद् व्यवस्थापनका पूर्व तयारीको पर्याप्त व्यवस्था गर्न ध्यान पुर्याउने अपेक्षा आफूले राखेको उनको भनाइ छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij