Logo

२०८३ आश्विन २ गते शुक्रवार

२०८३ आश्विन २ गते शुक्रवार

हुम्लाको नेप्का गाउँमा पहिरोले विद्यालय भवन बगायो

हुम्लाको नेप्का गाउँमा पहिरोले विद्यालय भवन बगायो


  • 1.0K
    Shares

    हुम्लाको नेप्का गाउँमा पहिरोले विद्यालय भवन बगायो
    images

    हुम्ला । हुम्लाको चंखेली गाउँपालिका–५ नेप्का गाउँमा आएको बाढीपहिरोले ठूलो क्षति पुगेको स्थानीयले बताएका छन् ।

    गएराति एक्कासी असिना–पानी सहितको बाढीले डाँफे आधारभूत विद्यालय नै बगाएको छ । साथै खेतीयोग्य जग्गा र गोठहरु पनि बगाएको प्रारम्भिक जानकारी आएको चंखेली गाउँपालिका वडानम्बर ५ का बासिन्दा छक्कबहादुर तामाङले जानकारी दिए । वडाध्यक्ष हर्कधन तामाङ र धनसिंह तामाङका गोठ पनि पहिरोले पुरेको छ । त्यसबाट भेँडाबाख्रामा क्षति पुगेको छ ।

    वडाध्यक्ष हर्कधन तामाङले पहिरोले गोठ पुरिए पनि कति क्षति भयो भन्ने यकिन जानकारी हुन नसकेको बताए । उनले मानवीय क्षति भएको बारे भने अहिलेसम्म जानकारी नभएको बताए । गाउँमा कोदो खेती हुने धेरै जग्गा बाढीले क्षतविक्षत बनाएको उनले जानकारी दिए । ‘जग्गा त तहसनहस पारेर केही बाँकी छैन रे,’ उनले भने, ‘रातिको घटना भएकाले क्षतिको एकिन हुनसकेको छैन,’ उनले भने ।

    घटनास्थलमा मेल्छाम प्रहरीचौकीको टोली आज बिहान प्रस्थान गरेको छ ।

    प्रमुख जिल्ला अधिकारी टेक कुमार रेग्मीले नेप्का गाउँ दुर्गममा भएकाले क्षतिको पूर्ण विवरण आउन नसकेको बताए । ‘बाढी–पहिरोले क्षति पुगेको भन्ने सूचना पाएको छु । स्थानीय र प्रहरीमार्फत् बुझ्ने काम भइरहेको छ,’ उनले भने ।

    हुम्ला सदरमुकाम सिमकोटदेखि उत्तरपूर्वमा पर्छ चंखेली गाउँपालिका तल्लो पाली, माथिल्लो पाली, पिप्लाङ र नेप्का गरी चार गाउँ छन् । नेप्का गाउँ ५ नम्बर वडामा पर्छ । यहाँ मोटर गुड्ने सडक छैन । गाउँपालिकाको केन्द्रसम्म पुग्न अप्ठ्यारो बाटोमा ज्यानकै जोखिम मोलेर पाँच घण्टा पैदल हिँड्नुपर्ने बाध्यता छ ।

    प्रकाशित मिति :जेठ ६ २०८३ बुधवार - ०९:२७:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij