२०८३ आश्विन २ गते शुक्रवार
१. सुरक्षा संयन्त्रको कमजोरी र चरम ध्रुवीकरणले लोकतान्त्रिक संस्थाहरू कमजोर बनेको अभियन्ता अन्सारीको टिप्पणी
जेन–जी अभियन्ता माजिद अन्सारीले मुलुकका प्रमुख लोकतान्त्रिक संस्थाहरू र सुरक्षा निकायको कमजोरीका कारण राष्ट्रिय सुरक्षा र लोकतन्त्रको भविष्यमाथि गम्भीर प्रश्न उठेको बताउनुभएको छ ।
अन्सारीले राज्यका संयन्त्रहरू आन्तरिक रूपमै क्षय हुँदै गएको धारणा व्यक्त गर्नुभएको हो । अन्सारीकाअनुसार लोकतन्त्रमा दुई चरम विचारबीच मध्यम मार्ग वा समायोजनको खोजी नहुँदा एक पक्षले अर्कोलाई दबाउने वा निरन्तर संघर्ष गरिरहनुपर्ने अवस्था सिर्जना भएको छ । उहाँले गत वर्षको २३ गतेको आन्दोलन शुरुमा सरकार ढाल्ने नियतले नभई अनियमितता विरुद्ध र राज्यको न्युनतम जवाफदेहिता खोज्नका लागि मात्र भएको स्पष्ट पार्नुभयो । संविधान निर्माणपछिको एक दशक पुराना राजनीतिक दलहरूकै वर्चश्व रहेका कारण नयाँ र वैकल्पिक बहसहरू मूलधारमा आउन नसकेको उहाँको तर्क छ । २३ गतेको घटनापछि पुराना दलहरू एक किसिमले विस्थापित हुँदा नयाँ बहस शुरु भएपनि सामाजिक सञ्जालमा देखिएको ‘झोले’, ‘सुल्फे’ वा ‘खरानी’ जस्ता गालीगलौज र चरम ध्रुवीकरणले लोकतान्त्रिक संस्थाहरूलाई थप कमजोर बनाएको उहाँले उल्लेख गर्नुभयो ।
२. शिर्ष ब्याटरले राम्रो शुरुवात दिँदा खुुशी छुः कुशल
आइसिसी विश्वकप लिग–२ को शश्रंखलामा अमेरिकामाथि फराकिलो जितपछि नेपालका शतकधारी कुशल भुर्तेलले आफ्नो शतकभन्दा पनि शिर्ष ब्याटरले रन बनाउन सक्दा खुशी भएको बताएका छन् । ओपनर कुशलले शतक पूरा हुँदा त्यसबारे व्यक्त गर्ने आफूसँग शब्द नभएको र शिर्ष ब्याटरले रन बटुल्दा भने धेरै खुशी रहेको प्रतिक्रिया दिए । जितपछि पत्रकार सम्मेलनमा कुशलले शिर्ष ब्याटरबाट राम्रो शुरुवात नभएको लामो समय भएकाले आज राम्रो हुँदा खुशी रहेको बताएका हुन् । आफ्नो शतकभन्दा पनि टोलीको जित महत्वपूर्ण रहेको उनको भनाइ छ । ओमानसँग आफूले खराब सट खेले पनि टी ट्वान्टीमा आफूले राम्रो ब्याटिङ गरेको बताउँछन् । ओमानसँग राम्रो सुरुआत पाएर पनि खराब सट खेल्दा तीन म्याच बाहिर बस्नु परेको उनको भनाइ छ । समग्रमा नेटमा आफूले राम्रो ब्याटिङ गरे पनि खेलमा त्यसलाई लागू गर्न नसकेको उल्लेख गरे ।
३.राजनीतिक दलहरू ‘प्रा.लि.’ जस्ता भए, अदालतले हिम्मत गुमायोः वरिष्ठ अधिवक्ता भट्टराई
वरिष्ठ अधिवक्ता टिकाराम भट्टराईले नेपालको वर्तमान संविधान, न्यायपालिका र राजनीतिक दलहरूको कार्यशैलीप्रति चिन्ता व्यक्त गर्नुभएको छ । संविधान निर्माणमा संलग्न शक्तिहरूले नै यसलाई क्षतविक्षत पार्ने प्रयास गरेको उहाँको टिप्पणी छ । शनिवार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै वरिष्ठ अधिवक्ता भट्टराईले प्रतिनिधि सभाको पहिलो र दोस्रो विघटनबाट संविधानलाई ‘डिरेल’ गर्ने र यसको ‘चिरहरण’ गर्ने कार्य प्रारम्भ भएको बताउनु भयो । विगतका विघटनका समयमा नागरिक र दलहरू सडकमा उत्रिएको तथा अदालतले संविधानलाई सही मार्गमा ल्याएको स्मरण गर्दै उहाँले अहिलेको अवस्था भने फरक रहेको जिकिर गर्नुभयो । दैनिक रूपमा बहसका लागि अदालत पुग्ने कानून व्यवसायी भएर पनि यस्तो भन्नुपर्दा आफू दुःखी रहेको उहाँले बताउनु भयो । भट्टराईले राजनीतिक दलहरूको आन्तरिक लोकतन्त्र समाप्त हुँदा नागरिक स्वतन्त्रतामा ठूलो धक्का लागेको उल्लेख गर्नुभयो ।
४. मौद्रिक नीतिको तेस्रो समीक्षाः स्थायी निक्षेप सुविधासम्बन्धी व्यवस्था पुनरावलोकन हुने
नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो समीक्षा गरेको छ । राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षा गर्दै धेरै जसो हालका व्यवस्थाहरुलाई कायमै राखेको छ भने ब्याजदर करिडोरलाई थप प्रभावकारी बनाउन बैंक तथा वित्तीय संस्थालाई उपलब्ध गराइने स्थायी निक्षेप सुविधासम्बन्धी व्यवस्था पुनरावलोकन गर्ने घोषणा गरेको छ । राष्ट्र बैंकले विदेशी विनिमय सञ्चिति र मुद्रास्फीति लक्ष्यअनुसार रहेको तथा न्युन आर्थिक वृद्धिको अवस्थालाई दृष्टिगत गर्दै लचिलो मौद्रिक नीतिको कार्यदिशालाई निरन्तरता दिएको राष्ट्र बैंकले जनाएको छ । ब्याजदर करिडोर, बैंकदर, अनिवार्य नगद मौज्दात र वैधानिक तरलता अनुपातसम्बन्धी विद्यमान व्यवस्थामा राष्ट्र बैंकले खासै कुनै सुधार गरेको छैन् ।
राष्ट्र बैंकले वर्तमान आर्थिक अवस्थालाई समेत केलाएको छ । राष्ट्र बैंकका अनुसारअर्थतन्त्रको वाह्य क्षेत्र सहज स्थितिमा छ । चालु आर्थिक वर्षको नौ महिनासम्म विप्रेषण आप्रवाह उल्लेख्य विस्तार भएकोले चालु खाता, शोधनान्तर बचत र विदेशी मुद्रा सञ्चिति बढ्दो क्रममा रहेको छ । तर, नेपालमा करिव ४० प्रतिशत विप्रेषण आप्रवाह पश्चिम एसियाबाट प्राप्त हुने गरेकोले सो क्षेत्रमा जारी तनाव कायम रहेमा विप्रेषण आप्रवाह प्रभावित हुने र इन्धन तथा आयातित वस्तुको मूल्य वृद्धि भई व्यापार घाटा विस्तार हुने समेतका कारण विदेशी विनिमय सञ्चितिमा दबाब पर्ने जोखिम छ । तथापि, विदेशी विनिमय सञ्चितिले आयात धान्ने क्षमता यस बैंकको लक्ष्यभन्दा माथि रहने प्रक्षेपण गरिएको छ ।
५. मोबाइल व्यवसायीको सुरक्षामा राज्य गम्भीर हुनुपर्छः नेता आङदेम्बे
नेपाली काँग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बेले मोबाइल व्यवसायमा संलग्न उद्यमीहरूको सुरक्षा र भविष्यप्रति राज्यले अभिभावकीय भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभएको छ ।
पछिल्लो समय मोबाइल आयातको परिमाण बढे पनि व्यवसायीहरूमा उत्साह नदेखिनु र पलायन हुने क्रम बढ्नु चिन्ताको विषय भएको उहाँले बताउनुभएको हो । नेता आङदेम्बेले मोबाइल फोनको आवश्यकता र अपरिहार्यता समाजका हरेक वर्गमा बढ्दै गएको उल्लेख गर्नुभयो । उहाँले पछिल्लो तथ्याङ्क प्रश्तुत गर्दै अघिल्लो वर्षको तुलनामा चालु समयमा झन्डै ८ अर्ब रुपैयाँ बराबरको अतिरिक्त आयात हुनु र ९० हजारभन्दा बढी थान मोबाइल भित्रिनुले यसको बढ्दो मागलाई स्पष्ट पारेको बताउनु भयो । किसान, मजदुरदेखि हरेक वर्गका लागि मोबाइल प्रविधि आजको युगको सबैभन्दा भरपर्दो र आवश्यक माध्यम बनेको उहाँको भनाइ छ ।
६. मिथिलाञ्चलमा श्रद्धापूर्वक मनाइँदै वटसावित्री पर्व
मिथिलाञ्चल क्षेत्रमा आज विवाहित महिलाहरूले आफ्नो पतिको दीर्घायु र सन्तान प्राप्तिको कामना गर्दै सांस्कृतिक एवं धार्मिक पर्व ‘वटसावित्री’ (बरसाइत) मनाइरहेका छन् । प्रत्येक वर्ष जेठ महिनाको औँसी तिथिका दिन मनाइने यस पर्वका अवसरमा शनिवार बिहानैदेखि विभिन्न स्थानमा रहेका बरको रूखमुनि पूजा अर्चना गर्ने महिलाहरूको उल्लेख्य भीड लागेको छ । मिथिला संस्कृतिमा आदर्श नारीत्वको प्रतिक मानिने यस पर्वमा महिलाहरू नयाँ वस्त्र तथा श्रृङ्गारका सामग्रीहरूमा सजिएर पूजामा सहभागी हुने गर्दछन् । विशेषगरी नवविवाहित महिलाहरूका लागि यो पर्व थप विशेष रहने गर्दछ । नववधुहरूका लागि यस अवसरमा बेहुलाको घरबाट पूजा सामग्रीका साथै लुगाकपडा र अन्य उपहार (पाहुर) पठाउने परम्परा रहेको छ । हिन्दु धर्मावलम्बीहरूले पिपलझैँ बरको रूखलाई पनि पवित्र र पूजनीय मान्ने गर्दछन् ।
७. नेपाल ‘बफर स्टेट’ होइन, परराष्ट्र नीतिमा हिनताबोध त्याग्न आवश्यकः विज्ञ अधिकारी
परराष्ट्र मामिला तथा सुरक्षा विज्ञ इन्द्र अधिकारीले नेपालको परराष्ट्र कुटनीति सञ्चालनका क्रममा ऐतिहासिक कालदेखि नै शासकहरू यहाँको संवेदनशील भू–अवस्थितिबारे सचेत रहेको बताउनुभएको छ । नेपालको सार्वभौमसत्तालाई विभिन्न राजनीतिक प्रणालीहरूमा नेतृत्वले जोगाउँदै ल्याएको भएपनि कुटनीतिक अभ्यासमा कतिपय अवस्थामा ‘हिनताबोध’ झल्कने गरेको उहाँको विश्लेषण छ । अधिकारीकाअनुसार नेपालले कानूनी रूपमा (डि–ज्युरे) आफ्नो सार्वभौमसत्ता कायम राखे पनि व्यवहारिक (डि–फ्याक्टो) रूपमा आफूलाई कमजोर वा ‘इन्फेरियर’ ढङ्गले प्रश्तुत गर्ने गरेको पाइएको छ । विशेष गरी पृथ्वीनारायण शाहको ‘दुई ढुङ्गाबीचको तरुल’ भन्ने उपदेशलाई सन्दर्भ जोड्दै उहाँले यस भाष्यले नेपाललाई स्वभावैले कमजोर र चलखेल गर्न नसक्ने राज्यका रूपमा चित्रण गरेको टिप्पणी गर्नुभयो । नेपाललाई ‘बफर जोन’ (मध्यवर्ती क्षेत्र) मान्ने गरिएको विषयमा स्पष्ट पार्दै उहाँले नेपालले आफूलाई कहिल्यै पनि औपचारिक रूपमा ‘बफर स्टेट’ स्वीकार नगरेको जानकारी दिनुभयो ।
८. नीति तथा कार्यक्रम कुनै ठट्टाको विषय होइनः नेता आङदेम्बे
प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बेले सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि संघीय संसद्मा भएको बहसको समय अपर्याप्त भएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको छ । मुलुकको आगामी एक वर्षको मार्गचित्र तय गर्ने महत्वपूर्ण दस्तावेजमाथि पर्याप्त छलफल हुनुपर्नेमा सरकारले यसलाई छोटो समयमा सिमित गरेको उहाँको तर्क छ । नेता आङदेम्बेले विगतमा कम्तीमा तीन दिनसम्म चल्ने यस्तो बहसलाई यसपटक ६ घण्टामा मात्र खुम्च्याइनु दुःखद भएको बताउनु भयो । नीति तथा कार्यक्रम कुनै ठट्टाको विषय नभई मुलुकको भविष्यसँग जोडिएको विषय भएकोले यसमा माननीय सांसदहरूले विस्तृत रूपमा धारणा राख्न पाउनुपर्ने उहाँले उल्लेख गर्नुभयो । सरकारले नीति तथा कार्यक्रममा ‘डिजिटलाइजेसन’ र प्रविधिको कुरा जोडतोडका साथ उठाए पनि गाउँका गरिब किसान र मजदुरको पहुँचमा प्रविधि पु¥याउने विषयमा भने ध्यान नदिएको आङदेम्बेले आरोप लगाउनु भयो ।
१०. कुशलको शतकमा नेपालको रबाफिलो जित
ओपनर कुशल भुर्तेलको शतकप्रेरित नेपालले आइसिसी विश्वकप लिग–२ को त्रिकोणात्मक शृंखलामा अमेरिकामाथि रबाफिलो जित निकालेको छ । कीर्तिपुरमा शनिवार भएको श्रृंखलाको आफ्नो दोस्रो खेलमा बलिङ र ब्याटिङमा साथ पाएपछि नेपालले पाहुना टोली अमेरिकामाथि ९ विकेटको रबाफिलो जित आत्मसात् गरेको हो । लिग–२ को अंकतालिकामा शीर्ष दुई टोली अमेरिका र स्कटल्यान्ड सम्मिलित यस श्रृंखलामा जितले नेपाली टोलीमा आत्मबल प्रदान गर्नेछ । पहिलो खेलमा भने घरेलु टोली स्कटल्यान्डसँग जितनजिक पुगेर २ रनले पराजित भएको थियो । तर, बलिङ र ब्याटिङमा उत्कृष्ट प्रदर्शन गरेपछि नेपालले यस साइकलमा पहिलोपल्ट अमेरिकालाई हराउन सफल भयो । नेपालको जितमा ओपनर कुशलले १२० रनको सानदार अविजित इनिङ खेले ।
११. ‘विस्थापित परिवारका बालबालिकामाथि विभेद र मानसिक स्वास्थ्यको चुनौती–एसईईसम्म आवासीय छात्रवृत्ति उपलब्ध गराउँदै कामनपा’
काठमाडौं महानगरपालिकाले नदी किनारका अनधिकृत संरचना हटाउने क्रममा विस्थापित भई कीर्तिपुरस्थित ‘होल्डिङ सेन्टर’मा आश्रय लिइरहेका परिवारका बालबालिकाको शिक्षा सुनिश्चित गर्न विशेष पहल शुरु गरेको छ । महानगरपालिका, निजी विद्यालयका छाता संगठनहरू (प्याब्सन तथा एन–प्याब्सन) र अभिभावकबीच भएको त्रिपक्षीय सम्झौताअनुसार विस्थापित बालबालिकाहरूले माध्यमिक शिक्षा परीक्षा (एसईई) सम्मको पूर्ण आवासीय छात्रवृत्ति प्राप्त गर्ने भएका हुन् । महानगरपालिकाका शिक्षा अधिकृत केशव ज्ञवालीकाअनुसार विस्थापित परिवारका बालबालिकालाई शिक्षाको मूलधारमा ल्याउन यो कार्यक्रम अगाडि बढाइएको हो । सम्झौताअनुसार छनोट भएका बालबालिकाको पठनपाठन, आवास तथा छात्रावासको सम्पूर्ण खर्च सम्बन्धित विद्यालयले व्यहोर्नेछन् ।
१२. ‘एक चीन’ नीतिप्रति पाकिस्तानको पुनः प्रतिवद्धता, ताइवानलाई चीनको अभिन्न अङ्ग भएको ठहर
पाकिस्तान सरकारले ‘एक चीन’ नीतिप्रति आफ्नो दृढ प्रतिवद्धता पुनः दोहो¥याएको छ । साप्ताहिक मिडिया ब्रिफिङका क्रममा पाकिस्तानले ताइवानलाई चीनको ‘अविभाज्य र अभिन्न’ अङ्गको रूपमा वर्णन गर्दै यस मामिलामा बेइजिङको अडानलाई पूर्ण समर्थन गर्ने स्पष्ट पारेको हो । इस्लामावादमा आयोजित पत्रकार सम्मेलनमा पाकिस्तानको विदेश मन्त्रालयका प्रवक्ता ताहिर एन्द्राबीले ताइवानका सम्बन्धमा पाकिस्तानको नीति सुसंगत र अटल रहेको बताउनु भयो । उहाँले विश्व स्वास्थ्य सभामा ताइवानको सहभागिताका विषयमा पनि चीनको धारणालाई पाकिस्तानको साथ रहने जानकारी दिनुभयो । पाकिस्तान र चीनबीच विश्व स्वास्थ्य सभामा घनिष्ठ सहकार्य रहेको उल्लेख गर्दै प्रवक्ताले अन्तर्राष्ट्रिय मञ्चहरूमा ताइवान मामिलामा चीनले चाल्ने कदम र प्रयासहरूलाई पाकिस्तानले दृढतापूर्वक समर्थन गर्ने बताउनु भयो ।
१३. इजरायल र लेबनानबीचको युद्धविराम ४५ दिनका लागि थप
इजरायल र लेबनान गत महिनादेखि लागू भएको युद्धविरामलाई थप ४५ दिन लम्ब्याउन सहमत भएका छन् । अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताले शुक्रवार यस सहमतिबारे जानकारी दिनुभएको हो । अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता टमी पिगोटले सामाजिक सञ्जाल एक्समार्फत अप्रिल १६ देखि शुरु भएको शत्रुताको अन्त्यलाई थप ४५ दिनका लागि विस्तार गरिएको बताउनु भयो । वार्तामा थप प्रगति हासिल गर्नका लागि यो समय थपिएको उहाँले उल्लेख गर्नुभयो । सहमतिअनुसार आगामी जुन २ र ३ तारिखमा अमेरिकी विदेश मन्त्रालयमा दुई देशबीच राजनीतिक वार्ता हुनेछ । त्यसअघि मे २९ मा दुवै देशका सैन्य प्रतिनिधिहरूबीच पेन्टागनमा सुरक्षा केन्द्रित वार्ता हुने पिगोटले जानकारी दिनुभयो ।
१४. इण्डोनेसियामा पहिरोमा परी ९ जनाको मृत्यु
इण्डोनेसियाको पश्चिम सुमात्रा प्रान्तमा एक अवैध सुन खानी नजिकै गएको पहिरोमा परी नौ जनाको मृत्यु भएको छ । स्थानीय प्रहरीले शुक्रवार दिएको जानकारीअनुसार बिहीवार राति सिजुन्जुङ रेजेन्सीस्थित एक भिर खस्दा उक्त दुर्घटना भएको हो । प्रत्यक्षदर्शीहरूकाअनुसार खानी क्षेत्र नजिकैको भीरमा पहिरो जाँदा त्यहाँ कार्यरत थुप्रै कामदारहरू भग्नावशेषमा पुरिएका थिए । स्थानीय स्रोतकाअनुसार मृतकहरूको शव उनीहरूका परिवार र नजिकैका बासिन्दाहरूले निकालेर अन्त्येष्टि गरिसकेका छन् । इण्डोनेसियामा विशेष गरी वर्षायाममा यस्ता खानी दुर्घटनाहरू बारम्बार हुने गरेका छन् । भारी वर्षाका कारण जमिन कमजोर भई पहिरो जाँदा खानीमा काम गर्ने मजदुरहरू उच्च जोखिममा पर्ने गरेका छन् ।
१५. उत्तर भारतमा प्राकृतिक विपद्ः भारी वर्षा र चट्याङका कारण ८० भन्दा बढीको मृत्यु
उत्तर भारतका विभिन्न क्षेत्रमा विगत २४ घण्टामा भएको भारी वर्षा, हावाहुरी र चट्याङका कारण ८० जनाभन्दा बढीको मृत्यु भएको छ भने १०० जनाभन्दा बढी घाइते भएका छन् । सरकारी अधिकारीहरूले बिहीबार दिएको जानकारीअनुसार यो प्राकृतिक विपद्बाट सबैभन्दा बढी उत्तर प्रदेश राज्य प्रभावित भएको छ । भारी वर्षासँगै आएको असिना र तिब्र गतिको हावाहुरीले त्यहाँको जनजीवन अस्तव्यस्त बनाएको छ । विपद्का कारण उत्तर प्रदेशका विभिन्न स्थानमा ठूलो संख्यामा पशुचौपायाको क्षति हुनुका साथै घर तथा अन्य भौतिक सम्पतीमा नोक्शानी पुगेको रिपोर्ट गरिएको छ । हजारौं रूखहरू ढलेका छन् भने कतिपय स्थानमा पर्खाल भत्किँदा च्यापिएर मानवीय क्षति भएको छ ।
१६. उत्तर–पश्चिम पाकिस्तानमा आत्मघाती आक्रमणः ९ सुरक्षाकर्मीको मृत्यु, २१ जना घाइते
पाकिस्तानको उत्तर–पश्चिम प्रान्त खैबर पख्तुनख्वामा भएको एक आत्मघाती बम विष्फोटमा परी ९ जना सुरक्षाकर्मीको मृत्यु भएको छ भने २१ जना अन्य घाइते भएका छन् । प्रहरी स्रोतका अनुसार बाजाउर जिल्लास्थित स्काउट्स क्याम्पको मुख्यालयलाई लक्षित गरी विस्फोटक पदार्थले भरिएको एक सवारी साधन ठोक्काएर उक्त आत्मघाती आक्रमण गराइएको हो । प्रारम्भिक विवरणअनुसार विस्फोटक पदार्थ बोकेको सवारी साधन मुख्यालयको मुख्य ढोकातर्फ अघि बढेको थियो । त्यहाँ तैनाथ सुरक्षाकर्मीहरूले उक्त सवारीलाई रोक्ने प्रयास गर्दा विष्फोट भएको र त्यसबाट मुख्य ढोका तथा वरपरका पर्खालहरूमा ठूलो क्षति पुगेको छ । विष्फोटलगत्तै अत्याधुनिक हतियारसहित आएका सशस्त्र विद्रोहीहरूले अन्धाधुन्ध गोली प्रहार गरेका थिए । त्यसपछि मुख्यालयमा रहेका सुरक्षा बल र विद्रोहीहरूबीच केही समय दोहोरो मुठभेड भएको थियो ।
१७. एस्टोनियाद्वारा रुससँगको सीमा नाका राति बन्द गर्ने निर्णय थप तीन महिना विस्तार
एस्टोनिया सरकारले रुससँगको दक्षिण–पूर्वी सीमा क्षेत्रमा रहेका दुईवटा सडक नाकाहरू राति बन्द गर्ने निर्णयलाई थप तीन महिनाका लागि लम्ब्याएको छ । यसका साथै नार्भा–१ पैदल यात्री सीमा नाकाको सञ्चालन समयमा समेत कटौती गरिएको छ । बिहीवार भएको मन्त्रिपरिषद्को निर्णयअनुसार कोइदुला र लुहामा सडक सीमा नाकाहरू आगामी अगस्ट ३१ सम्म बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म मात्र सञ्चालन हुनेछन् । सरकारले यसअघि फेब्रुअरीमा लागू गरेको अस्थायी नियमलाई नै निरन्तरता दिने निर्णय गरेको हो । यसैगरी रुसी शहर सेन्ट पिटर्सबर्ग नजिकै अवस्थित नार्भा–१ पैदल यात्री सीमा नाकाको सञ्चालन अवधि पनि जुन १५ देखि घटाइने भएको छ । हाल बिहान ७ देखि राति ११ बजेसम्म खुला रहने यो नाका अब बिहान ७ देखि साँझ ७ बजेसम्म मात्र सञ्चालन हुनेछ । गृहमन्त्री इगोर तारोले पत्रकार सम्मेलनमा बोल्दै तीन महिनाअघि लागू गरिएका सीमा नियन्त्रणका उपायहरू प्रभावकारी र उपयुक्त देखिएकाले यसलाई कायम राख्न आवश्यक रहेको बताउनु भयो । उपलब्ध तथ्याङ्कअनुसार फेब्रुअरीदेखि लुहामा नाकाबाट हुने आवतजावतमा २० प्रतिशतले गिरावट आएको छ भने कोइदुला नाकामा ६ प्रतिशतले वृद्धि भएको छ । नार्भा–१ नाका हाल सेन्ट पिटर्सबर्ग नजिकैको एक मात्र प्रमुख पैदल यात्री मार्ग हो । सन् २०२३ नोभेम्बरमा फिनल्याण्डले रुससँगको आफ्नो सीमा नाकाहरू बन्द गरेपछि फिनल्याण्ड लगायत अन्य युरोपेली देशका बासिन्दाहरूले यो नाकालाई प्रमुख विकल्पका रूपमा प्रयोग गर्दै आएका छन् ।
सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालल तयार पारेको समाचार सामग्री ।
१८. गाजामा इजरायली आक्रमणः हमासका वरिष्ठ कमाण्डर मारिएको दाबी
इजरायली सेनाले गाजा शहरमा गरेको पछिल्लो हवाई आक्रमणमा परी ७ प्यालेस्टिनीको मृत्यु भएको छ भने ५० जनाभन्दा बढी घाइते भएका छन् । प्यालेस्टिनी चिकित्सा स्रोतकाअनुसार शुक्रवार साँझ एक आवासीय अपार्टमेन्ट र गुडिरहेको सवारी साधनलाई लक्षित गरी उक्त हमला गरिएको हो । इजरायली रक्षा बल (आईडीएफ) ले हमासको सशस्त्र सैन्य शाखा ‘अल–कसाम ब्रिगेड’ का वरिष्ठ कमाण्डर इज अल–दिन अल–हदादलाई लक्षित गरी सो कारबाही गरिएको जनाएको छ । इजरायलको सरकारी टेलिभिजन ‘कान टिभी’ ले एक वरिष्ठ सुरक्षा अधिकारीलाई उद्धृत गर्दै उक्त आक्रमण सफल भएको र अल–हदाद सम्भवतः मारिएको उल्लेख गरेको छ । यसअघि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र रक्षामन्त्री इजरायल काट्जले एक संयुक्त विज्ञप्ति जारी गर्दै ७ अक्टोबर २०२३ मा इजरायलमा भएको भीषण आक्रमणका मुख्य योजनाकारमध्ये एक अल–हदादमाथि सेनाले कारबाही गरेको जानकारी दिनुभएको थियो । स्थानीय स्रोत र प्रत्यक्षदर्शीकाअनुसार इजरायली लडाकु विमानले पश्चिमी गाजा शहरमा रहेको अल–मुताज भवनको एक अपार्टमेन्टमा कम्तीमा तीनवटा मिसाइल प्रहार गरेका थिए । आक्रमणका कारण उक्त अपार्टमेन्टमा भीषण आगलागी भएको थियो । प्यालेस्टिनी रेड क्रिसेन्ट सोसाइटीद्वारा सञ्चालित अल–सराय फिल्ड अस्पतालका चिकित्सकहरूले दिएको जानकारीअनुसार उक्त स्थानबाट एक महिला र एक बालकसहित चारजनाको शव निकालिएको छ भने ४४ जना घाइतेको उपचार भइरहेको छ । त्यसैगरी, गाजा सहरको मध्य भागमा पर्ने अल–वेहदा सडकमा गुडिरहेको एक सवारी साधनलाई इजरायली ड्रोनले निशाना बनाउँदा अन्य तीनजनाको मृत्यु भएको र ६ जना घाइते भएको स्थानीय स्रोतले जनाएको छ । इजरायली सञ्चारमाध्यमका अनुसार ‘घोस्ट अफ अल–कसाम’ उपनामले चिनिने अल–हदाद इजरायलको सर्वाधिक खोजीको सूचीमा रहेका व्यक्ति हुन् । उहाँले यसअघि भएका धेरै घातक आक्रमण र हत्याका प्रयासहरूबाट बच्न सफल भएका थिए ।
सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालल तयार पारेको समाचार सामग्री ।
१९. चीनद्वारा पाँचवटा उपग्रहसहित ’लिजियान–१ वाई १३’ रकेटको सफल प्रक्षेपण
चीनले शुक्रवार ‘लिजियान–१ वाई १३’ क्यारियर रकेटमार्फत पाँचवटा उपग्रह सफलतापूर्वक अन्तरिक्षमा पठाएको छ । उत्तर–पश्चिम चीनको डोङफेङ कमर्सियल स्पेस इनोभेसन पाइलट जोनबाट बेइजिङ समयअनुसार दिउँसो १२ः३३ बजे उक्त रकेट प्रक्षेपण गरिएको थियो । रकेटले बोकेका पाँचवटै उपग्रहहरूलाई सफलतापूर्वक तिनको निर्धारित कक्षमा स्थापित गरेको छ । यो लिजियान–१ क्यारियर रकेटको १३ औँ उडान र समग्र लिजियान श्रृंखलाको १४ औँ प्रक्षेपण हो । हालसम्म यस श्रृंखलाका रकेटहरूले कुल १८ टनभन्दा बढी तौलका १०० वटा उपग्रहहरू सफलतापूर्वक अन्तरिक्षमा पु¥याइसकेका छन् । ‘सीएएस स्पेस’ द्वारा विकसित लिजियान–१ एक ठोस–इन्धनयुक्त क्यारियर रकेट हो । द्रुत प्रतिक्रिया क्षमता भएको यस रकेटलाई युनिभर्सल प्लेटफर्ममा आधारित रहेर डिजाइन गरिएको छ, जसले गर्दा रकेट बडी र उपग्रह मिसनहरूबीच सहज समन्वय सम्भव हुने कम्पनीले जनाएको छ । यस मिसनअन्तर्गत प्रक्षेपण गरिएको ‘तियानयान–२७’ उपग्रहमा स्पेस डिस्प्ले स्क्रिन, निगरानी क्यामेरा, इन्फ्रारेड क्यामेरा र अनबोर्ड इन्टेलिजेन्ट प्रोसेसिङ पेलोड जडान गरिएको छ । यस उपग्रहले नयाँ इन्फ्रारेड रिमोट सेन्सिङ प्रविधिको इन–अर्बिट प्रमाणीकरण गर्नुका साथै अन्तरिक्षबाट सेल्फी खिच्ने र बौद्धिक तथ्याङ्क प्रशोधन गर्ने जस्ता कार्यहरू गर्नेछ ।
सीएएस स्पेसका अनुसार कम्पनीले आगामी दिनमा रकेटको पुनः प्रयोग मोड्युलर डिजाइनको स्तरोन्नति र रकेटको स्वास्थ्य अनुगमन जस्ता मुख्य क्षेत्रहरूमा थप अनुसन्धान र विकास कार्यलाई निरन्तरता दिनेछ ।
सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालल तयार पारेको समाचार सामग्री ।
२०. दक्षिण कोरियाः पूर्वराष्ट्रपति युनकी पत्नीलाई साढे सात वर्ष जेल सजायको माग
दक्षिण कोरियाका विशेष अभियोजनकर्ताले शुक्रवार पूर्वराष्ट्रपति युन सुक–योलकी पत्नी किम केओन–हीलाई भ्रष्टाचार र सरकारी पदको दुरुपयोग गरेको आरोपमा साढे सात वर्षको जेल सजाय माग गरेका छन् । पूर्वराष्ट्रपतिको दम्पती संलग्न भ्रष्टाचार प्रकरणको अनुसन्धान गरिरहेको स्वतन्त्र काउन्सिल मिन जुङ–की नेतृत्वको टोलीले सियोल केन्द्रिय जिल्ला अदालतसमक्ष किमलाई सात वर्ष ६ महिनाको कारावास सजाय तोक्न माग गरेको हो। किममाथि महँगा गहना, महँगो चित्रकला र डिजाइनर ब्यागको बदलामा सरकारी पदहरू उपलब्ध गराएको (विक्री गरेको) आरोप लगाइएको छ । अभियोग पत्रकाअनुसार किमले सन् २०२२ को मार्चदेखि मे महिनाको बीचमा एक व्यवसायीका जेठा ज्वाइँलाई सरकारी पदमा नियुक्त गराइदिए बापत ती व्यवसायीबाट हार, ब्रोच र झुम्का लिएकी थिइन् ।
त्यसैगरी, सन् २०२२ को अप्रिलमा राष्ट्रिय शिक्षा आयोगका पूर्व प्रमुखबाट नियुक्ति गरिदिने शर्तमा ‘सुनको कछुवा’ र सोही वर्षको सेप्टेम्बरमा एक रोबोट डग उद्यमीलाई व्यावसायिक लाभ दिलाउने आश्वासन दिँदै घडी उपहार लिएको दाबी गरिएको छ ।
अन्य आरोपहरूमा सन् २०२२ को जुनदेखि सेप्टेम्बरको बीचमा एक पादरीबाट महँगो डिजाइनर ब्याग र सन् २०२३ को फेब्रुअरीमा एक पूर्व सरकारी वकिलबाट मनोनयनको सिफारिस गरिदिए बापत चित्रकला प्राप्त गरेको विषयहरू समावेश छन् ।
सन् २०२५ को अगस्टमा हिरासतमा लिई अभियोग दर्ता गरिएकी किम दक्षिण कोरियाको इतिहासमा थुनामा राखेर मुद्दा चलाइएकी पहिलो पूर्वप्रथम महिला हुन् ।
यसैबीच, पूर्वराष्ट्रपति युन सुक–योललाई सन् २०२४ को डिसेम्बरमा सैन्य शासन (मार्सल ल) घोषणा गरी राज्यद्रोह गरेको अभियोगमा गत फेब्रुअरीमा आजीवन कारावासको सजाय सुनाइएको थियो। राज्यद्रोहको मुख्य योजनाकार रहेको आशंकामा सन् २०२५ को जनवरीमा उनी पदमै बहाल रहेको अवस्थामा पक्राउ गरी अभियोग दर्ता गरिएको थियो। उनी बहालवाला पदमै रहँदा पक्राउ पर्ने र अभियोग सामना गर्ने दक्षिण कोरियाको पहिलो राष्ट्रपति हुन् ।
सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालल तयार पारेको समाचार सामग्री ।
२१ं. दक्षिण कोरियाली शेयर बजारमा ६ प्रतिशतभन्दा बढीको गिरावट, ‘साइडकार’ लागू
दक्षिण कोरियाली शेयर बजारमा शुक्रवार ६ प्रतिशतभन्दा बढीको भारी गिरावट आएको छ । कारोबारको शुरुवाती समयमा ऐतिहासिक उचाई कायम गरेको बजारमा तिब्र गिरावट आएपछि ‘सेल–साइड साइडकार’ (बिक्री पक्षको साइडकार) सक्रिय गरिएको छ । शुक्रवार बेन्चमार्क ६.१२ प्रतिशत अर्थात् ४८८.२३ अङ्कले घटेर ७,४९३.१८ मा बन्द भएको छ । त्यसैगरी, साना कम्पनीहरूको सूचक कोस्डाक ५.१४ प्रतिशत अर्थात् ६१.२७ अङ्कले गिरावट भई १,१२९.८२ मा खुम्चिएको छ । कारोबारको शुरुवाती चरणमा कोस्पी सूचकले इतिहासमै पहिलोपटक ८ हजार अङ्कको बिन्दु पार गरेको थियो । तर त्यसलगत्तै शुरु भएको भारी बिक्री चापका कारण बजारमा तीव्र उतारचढाव देखियो । कोस्पी २०० फ्युचर्स ५ प्रतिशतभन्दा बढीले घटेपछि दिउँसोको सत्रमा ५ मिनेटका लागि ‘प्रोग्राम ट्रेडिङ’ आदेशहरू रोक्का गर्दै साइडकार लागू गरिएको थियो । बजारमा विशेषगरी विदेशी र संस्थागत लगानीकर्ताहरूले नाफा सुरक्षित गर्न (प्रफिट बुकिङ) शेयर बिक्री बढाएपछि गिरावट आएको हो । यद्यपि, व्यक्तिगत (रिटेल) लगानीकर्ताहरूले घटेको मूल्यमा सेयर खरिद गरेपछि बजारको गिरावटलाई केही हदसम्म नियन्त्रण गर्न मद्दत पुगेको थियो । मुद्रा बजारमा दक्षिण कोरियाली वनको तुलनामा अमेरिकी डलर बलियो देखिएको छ । स्थानीय समयअनुसार अपराह्न ३ः३० बजे वनको विनिमय दर अघिल्लो दिनको तुलनामा ९.८ वनले वृद्धि भई प्रतिडलर १,५००.८ वन कायम भएको छ ।
बजारका प्रमुख कम्पनीहरूको सेयर मूल्यमा पनि ठूलो गिरावट देखिएको छ । बजारकै नेतृत्वदायी कम्पनी सामसुङ इलेक्ट्रोनिक्सको सेयर ८.६१ प्रतिशत र मेमोरी चिप निर्माता एसके हाइनिक्सको सेयर ७.६६ प्रतिशतले घटेको छ । त्यस्तै, अटो व्यवस्थापक हुन्डाई मोटर १.६९ प्रतिशत, ब्याट्री निर्माता एलजी इनर्जी सोलुसन ५.६६ प्रतिशत र बायोफार्मास्युटिकल कम्पनी सामसुङ बायोलोजिक्स २.०७ प्रतिशतले ओरालो लागेका छन् । अन्य ठूला कम्पनीहरूमा हनवा एरोस्पेस ६.८९ प्रतिशत, एचडी हुन्डाई हेभी इन्डस्ट्रिज ४.६२ प्रतिशत र दुसान इनर्बिलिटी ५.३८ प्रतिशतले घटेका छन् ।
सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालल तयार पारेको समाचार सामग्री ।
२२. भारतको थोक मुद्रास्फीतिमा वृद्धि, अप्रिलमा ८.३ प्रतिशत पुग्यो
भारतको थोक मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति (थोक मुद्रास्फीति) यस वर्षको अप्रिल महिनामा बढेर ८.३ प्रतिशत पुगेको छ । भारतको केन्द्रिय वाणिज्य तथा उद्योग मन्त्रालयले बिहीवार सार्वजनिक गरेको तथ्याङ्कले यस्तो देखाएको हो । मन्त्रालयद्वारा जारी विज्ञप्तिअनुसार अप्रिल महिनामा देखिएको यो वृद्धि मुख्यतया खनिज तेल, कच्चा पेट्रोलियम तथा प्राकृतिक ग्याँस, आधारभूत धातु, अन्य उत्पादनमूलक क्षेत्र र गैर–खाद्य वस्तुहरूको मूल्यमा भएको बढोत्तरीका कारण भएको हो । थोक बजारको मूल्य स्थितिलाई मापन गर्ने यो सूचकाङ्क मुख्यतया विश्वव्यापी बजारमा वस्तुहरूको मूल्यमा आउने उतारचढावका कारण प्रभावित हुने गर्दछ ।
सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालल तयार पारेको समाचार सामग्री ।
२३.रुसी आक्रमणमा किएभको आवासीय भवन क्षतिग्रस्त, २४ जनाको मृत्यु
युक्रेनको राजधानी किएभस्थित एक नौतले आवासीय भवनमा रुसले गरेको भीषण क्षेप्यास्त्र तथा ड्रोन आक्रमणमा परी २४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तीन बालबालिकासमेत रहेको युक्रेनी राज्य आपतकालीन सेवाले शुक्रबार पुष्टि गरेको छ । उक्त आक्रमणमा किएभको डार्निट्स्की जिल्लामा रहेको आवासीय भवनको एक हिस्सा पूर्ण रूपमा ध्वस्त भएको थियो । एजेन्सीका अनुसार सो घटनामा अन्य ४८ जना घाइते भएका छन् । ध्वस्त संरचनामा २८ घण्टाभन्दा लामो समयसम्म उद्धार कार्य सञ्चालन गरिएको थियो । त्यस क्रममा उद्धारकर्मीहरूले ३ हजार घनमिटरभन्दा बढी भग्नावशेष हटाएका थिए । युक्रेनी वायुसेनाकाअनुसार रुसले ६७५ वटा ड्रोन र ५६ वटा क्षेप्यास्त्र प्रहार गरेको थियो, जसको मुख्य निसाना राजधानी किएभ थियो । युक्रेनी रक्षा प्रणालीले ६५२ वटा ड्रोन र ४१ वटा क्षेप्यास्त्रलाई आकाशमै विफल पारिदिएको दाबी गरेको छ । यता, रुसी रक्षा मन्त्रालयले शुक्रवार एक वक्तव्य जारी गर्दै रुसी सेनाले युक्रेनका सैन्य लक्ष्यहरूमा श्रृङ्खलावद्ध आक्रमण गरेको जनाएको छ । रुसमाथि भएका युक्रेनी आक्रमणको प्रतिशोध स्वरूप मङ्गलबारदेखि शुक्रवारसम्म यी प्रहारहरू गरिएको रुसको दाबी छ । रुसी मन्त्रालयकाअनुसार आक्रमणको मुख्य निसानामा युक्रेनी रक्षा–औद्योगिक परिसर, इन्धन तथा ऊर्जा केन्द्रहरू, र सैन्य प्रयोजनका लागि प्रयोग हुने यातायात तथा बन्दरगाह पूर्वाधारहरू रहेका थिए । साथै, सैन्य विमानस्थल, ड्रोन निर्माण एवं भण्डारण स्थल, र विदेशी लडाकुहरूको अस्थायी आश्रयस्थलहरूमा पनि क्षति पु¥याइएको रुसले उल्लेख गरेको छ । यद्यपि, आवासीय भवनमा भएको मानवीय हताहती र क्षतिका सम्बन्धमा रुसले हालसम्म कुनैपनि सार्वजनिक टिप्पणी गरेको छैन ।
सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालल तयार पारेको समाचार सामग्री ।
२४.सन् २०२६ को पहिलो चार महिनामा हङकङ भ्रमण गर्ने पर्यटकको सङ्ख्यामा १५ प्रतिशतले वृद्धि
सन् २०२६ को पहिलो चार महिनामा हङकङ भ्रमण गर्ने पर्यटकको सङ्ख्यामा गत वर्षको सोही अवधिको तुलनामा १५ प्रतिशतले वृद्धि भएको छ । हङकङ पर्यटन बोर्ड (एचकेटीबी) ले शुक्रबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार यस अवधिमा करिव १ करोड ८५ लाख २० हजार पर्यटकले हङकङको भ्रमण गरेका छन् । बोर्डले सार्वजनिक गरेको विवरणअनुसार जनवरीदेखि अप्रिलसम्मको अवधिमा मुख्यभूमि चीनबाट हङकङ आउने पर्यटकको सङ्ख्या १८ प्रतिशतले बढेर १ करोड ४१ लाख ८० हजार पुगेको छ । त्यसैगरी, विश्वका अन्य मुलुकबाट हुने भ्रमणमा ८ प्रतिशतले वृद्धि भई ४३ लाख ४० हजार पुगेको छ । अप्रिल महिनामा मात्रै हङकङमा करिब ४२ लाख २० हजार पर्यटक भित्रिएका छन्, जुन अघिल्लो वर्षको सोही महिनाको तुलनामा १० प्रतिशतले बढी हो ।
पर्यटक आगमनमा देखिएको यस वृद्धिको मुख्य श्रेय अप्रिलमा आयोजित ‘हङकङ सेभेन्स’ रग्बी प्रतियोगितालाई दिइएको छ । विश्व रग्बी खेलको एक प्रतिष्ठित प्रतियोगिताका रूपमा रहेको यस इभेन्टले ठुलो सङ्ख्यामा अन्तर्राष्ट्रिय पर्यटकहरूलाई आकर्षित गर्न सफल भएको बोर्डले जनाएको छ । यस प्रकारका ठूला कार्यक्रमहरूले हङकङमा पर्यटक आगमनको सकारात्मक लयलाई निरन्तरता दिन महत्वपूर्ण भुमिका खेलेका छन् ।
सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालल तयार पारेको समाचार सामग्री ।
२५.सन् २०२६ को पहिलो त्रैमासमा मलेसियाको अर्थतन्त्र ५.४ प्रतिशतले विस्तार
आन्तरिक माग र निर्यातमा देखिएको सुधारका कारण सन् २०२६ को पहिलो त्रैमासिकमा मलेसियाको अर्थतन्त्र ५.४ प्रतिशतले विस्तार भएको छ । मलेसियाको केन्द्रिय बैंक, ‘बैंक नेगारा मलेसिया’ले शुक्रवार सार्वजनिक गरेको तथ्याङ्कअनुसार अघिल्लो त्रैमासिकमा ६.३ प्रतिशत रहेको आर्थिक वृद्धि दरमा यस पटक केही सुस्तता देखिएको हो । बैंकले जारी गरेको विज्ञप्तिअनुसार सुधारिएको श्रम बजार, न्युन बेरोजगारी दर र लक्षित नीतिगत व्यवस्थाहरूका कारण घरायसी उपभोगमा वृद्धि भएको छ । यसले समग्र आर्थिक वृद्धिलाई बलियो टेवा पु¥याएको बैंकको भनाइ छ । लगानीका क्षेत्रमा पनि विस्तार जारी रहेको छ । निजी र सार्वजनिक दुवै क्षेत्रमा बहुवर्षीय आयोजनाहरूको कार्यान्वयन, स्वीकृत लगानीको उच्च परिचालन र राष्ट्रिय गुरुयोजनाहरूको शुरुवातले लगानीका गतिविधिहरूमा सकारात्मक प्रभाव पारेको छ । यसैगरी, निर्यात क्षेत्रमा पनि उल्लेख्य वृद्धि देखिएको छ । विशेषगरी इलेक्ट्रिकल र इलेक्ट्रोनिक्स (ई एण्ड ई) उत्पादनहरूको ढुवानीमा भएको निरन्तर विस्तारले निर्यातलाई मजबुत बनाएको हो । मौसमी रूपमा समायोजित त्रैमासिक आधारमा भने अर्थतन्त्रमा ०.०१ प्रतिशतको झिनो गिरावट देखिएको छ । सन् २०२५ को चौथो त्रैमासिकमा अर्थतन्त्र १.४ प्रतिशतले वृद्धि भएको थियो । अघिल्लो त्रैमासिकको बलियो प्रदर्शनपछि यस पटक सामान्य गिरावट आएको बैंकले स्पष्ट पारेको छ । बैंकका गभर्नर अब्दुल रसिद गफुरले सन् २०२६ मा मलेसियाको अर्थतन्त्र ४ देखि ५ प्रतिशतको हाराहारीमा रहने प्रक्षेपण गर्नुभ्यो । स्थिर आन्तरिक माग र निर्यातमा हुने निरन्तर विस्तारले अर्थतन्त्रलाई चलायमान राख्ने उहाँको विश्वास छ । उहाँले ऊर्जाको बढ्दो मूल्य, आपूर्ति शृङ्खलामा आउने अवरोध र वाह्य वातावरणमा व्याप्त अनिश्चितताले अर्थतन्त्रमा चुनौती थप्न सक्ने उल्लेख गर्नुभयो ।
यद्यपि, बलियो श्रम बजार, सरकारी नीतिगत सहयोग र निरन्तरको लगानीले वाह्य चुनौतीहरूलाई सामना गर्न मद्दत गर्ने केन्द्रिय बैंकको ठहर छ । विश्वव्यापी अनिश्चितताका बाबजुद प्रविधि क्षेत्रमा आएको सुधारले मलेसियाको ई एन्ड ई उत्पादनको निर्यातलाई थप बल पुग्ने अपेक्षा गरिएको छ ।
सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालल तयार पारेको समाचार सामग्री ।
२६. जनकपुरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउन यात्रा
जानकी मन्दिरलाई युनेस्कोको विश्व सम्पदा सूचीमा सूचीकृत गराउन ‘जनकपुरधाम सम्पदा यात्रा’ आयोजना गरिएको छ । रोल..
शनिवार उक्त सम्पदा यात्राको आयोजना गरिएको हो । जानकी मन्दिर प्राङ्गणबाट शुरु भएको सम्पदा यात्रा जनकपुरधामका सम्पदाहरुको परिक्रमा गरि महेन्द्र नारायण निधि मिथिला सांस्कृतिक भवनसम्म पुगेर सकिएको थियो । सम्पदा यात्रमा जानकी मन्दिर, पेठिया बजार, रंगभूमि मैदान, रामजानकी विवाह मण्डप, अरगज्जा पोखरी, राम मन्दिर, धनुष सागर, गंगासागर लगायतका सम्पदाहरुको बाजागाजासहित पद यात्रा गरिएको हो । जनकपुरधामको ऐतिहासिक तथा धार्मिक सम्पदाको संरक्षण गर्न तथा जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउन सम्पदा यात्रा आयोजना गरिएको आयोजकले जनाएको छ । यात्रामा स्थानिय बासी, युवा, विद्यार्थी, संस्कृति संरक्षणकर्मी तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरु सहभागी थिए । – न्युज एजेन्सी नेपाल
२७. नारायणघाट–बुटवल सडकको भौतिक प्रगति ९१ प्रतिशत, दाउन्नेमा अब सास्ती खेप्नु नपर्ने
लामो समय निर्माण अलपत्र परेको पूर्व–पश्चिम राजमार्ग अन्तर्गतको नारायणघाट–बुटवल सडकखण्ड विस्तारको काम अन्तिम चरणमा पुगेको छ । रोल...
आयोजनाको भौतिक प्रगति ९१ प्रतिशत पुगेको सडक विभागका महानिर्देशक डा विजय जैसीले जानकारी दिनुभयो । नागढुंगा–नौबिसे तथा नारायणघाट–बुटवल सडक खण्डको स्थलगत अनुगमन गर्दै उहाँले सडक निर्माणको काम अन्तिम चरणमा पुगेको जानकारी दिनुभएको हो । महानिर्देशक डा जैसीले आयोजनाका अधिकांश मुख्य काम सम्पन्न भइसकेको बताउनु भयो । उहाँकाअनुसार हाल फिनिसिङ, ट्राफिक सेफ्टी, सर्भिस लेन तथा केही सहायक संरचनाका निर्माणका मात्र काम बाँकी रहेका छन् ।
उहाँले भन्नुभयो, ‘नारायणघाट बुटवल सडक लामो समयदेखि समस्याग्रस्त थियो । अहिले निर्माणको यो हामी अन्तिम चरणमा आइपुगेका छौँ । भौतिक प्रगति ९१ प्रतिशत भएको जानकारी प्राप्त भएको छ, मुख्यमुख्य कामहरु सबै सकिएका छन्, फिनिसिङ्, ट्राफिक सेफ्टीका कामहरु, सर्भिस लेन लगायतका केही काम बाँकी रहेको छ ।’
महानिर्देशक जैसीले अब दाउन्ने क्षेत्रमा विगतका वर्षामाझैँ यातायात अवरुद्ध हुने समस्या झेल्नु नपर्ने बताउनु भयो । दाउन्नेमा हाल एकतर्फी दुई लेनको रिपेभमेण्ट सम्पन्न भइसकेको र तेस्रो लेन निर्माण कार्य तिब्र गतिमा अघि बढिरहेको बताउनु भयो । जेठ १५ गतेसम्म मुख्य काम सक्ने लक्ष्य राखिएको उहाँले जानकारी दिनुभयो । नारायणघाट–बुटवल सडकखण्डको निर्माणमा ढिलाई हुँदा यात्रुहरुले सास्ती खेप्दै आएका थिए ।
उहाँले भन्नुभयो, ‘विगतको वर्षकोहरुको जस्तो वर्षामा समस्या हुँदैन । हामीले धेरैजस्सो कामहरु गरिसकेका छौँ । एकतर्फको दुई लेनको काम सकिएको छ, तेस्रो लेनको काम भईरहेको छ । जेठ १५ सम्म मुख्य कामहरु सकिन्छ । धेरै पछि अब नेपाली जनताले दाउन्नेको कहर सहन पर्दैन ।’
बाइट...डा. विजय जैसी, महानिर्देशक, सडक विभाग
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालको नेतृत्वको प्रतिनिधिमण्डलले शनिवार नाघढुंगा नौबिसे र नारायणघाट सडकखण्डको स्थलगत अनुगमन गरेको थियो । अनुगमनका क्रममा निर्माण व्यवसायीहरुले बिटुमिनको अभाव रहेको गुनासो गरेका थिए । उनीहरुले विटुमिन आयातको लागी सहजीकरण गरिदिन सरकारसँग माग गरे । प्रतिनिधिमण्डलले नागढुंगा सुरुङमार्गको पनि स्थलगत अनुगमन गरेको थियो । –न्युज ऐजन्सी नेपाल
२८ं. पूर्वाधार विकासमन्त्री लम्सालले गरे सिद्धबाबा सुरुङमार्गको स्थलगत अनुगमन
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले निर्माणधिण सिद्धवावा सुरुङमार्गको स्थलगत अनुगमन गर्नुभएको छ । रोल...
मन्त्री लम्सालले सुरुङमार्ग निर्माणमा भइरहेको प्रगति तथा निर्माणका क्रममा देखिएका समस्याका बारेमा जानकारी लिनुभएको थियो । उहाँले निर्माणलाई तिव्रता दिन निर्देशन दिनुभयो । निर्माणका समयमा कुनै समस्या देखिएमा पनि तत्काल मन्त्रालयमा जानकारि गराउन आग्रह गर्नुभयो । मन्त्री लम्साल मन्त्रालयका कर्मचारी तथा सडकविभागका महानिर्देशकसहित सुरुङमार्गको स्थलगत अनुगमनको लागी पुग्नुभएको थियो । सिद्धार्थ राजमार्ग निर्माणाधिण सुरुङमार्ग सरकारले राष्ट्रिय गौरवको आयोजनाका रूपमा अघि बढाएको छ । चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले २०८३ चैत्र भित्र निर्माण सक्नेगरि सुरुङमार्गको काम गरिरहेको छ । –न्युज एजेन्सी नेपाल
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij