२०८३ बैशाख ३० गते बुधवार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को असारमा हुने प्रथम राष्ट्रिय महाधिवेशनमा प्रतिनिधिको रुपमा स्थानीय तहका दुई जना प्रतिनिधि सहभागी हुने भएका छन् ।
असार ७-९ सम्म चितवनमा हुने महाधिवेशनमा बारा जिल्लाको फेटा गाउँपालिका अध्यक्ष रुस्तम अन्सारी र उपाध्यक्ष निलम साह महाधिवेशनको प्रतिनिधिका रुपमा सहभागी हुने भएका हुन् ।
बुधबार बिहान बसेको रास्वपाको केन्द्रीय समिति बैठकले महामन्त्री कवीन्द्र बुर्लाकोटीले पेस गरेको महाधिवेशन कार्यविधि, २०८३ अनुमोदन गरेको थियो ।
कार्यविधि अनुसार रास्वपाबाट निर्वाचित स्थानीय तहका प्रमुख र उपप्रमुख महाधिवेशन प्रतिनिधि रहने उल्लेख छ । २०७९ सालमा भएको स्थानीय तहको निर्वाचनमा अन्सारी र साह विवेकशील साझाबाट निर्वाचित भएका थिए ।
विवेकशील साझाले रास्वपासँग पार्टी एकता गरेकाले उनीहरू महाधिवेशनमा सहभागी हुन पाएका हुन् । रास्वपाका नेता प्रकाशचन्द्र परियारले फेटा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष महाधिवेशनमा सहभागी हुने जानकारी दिएका छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij