२०८३ बैशाख २९ गते मंगलवार
काठमाडौं । प्रतिनिधिसभा बैठकमा दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने भएका छन् । मंगलबार दिउँसो १ बजे बस्ने बैठकमा संसदमा प्रतिनिधित्व गर्ने ६ दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।
बैठकमा सत्तारुढ दल रास्वपाबाट सभापति रवि लामिछानेले सम्बोधन गर्ने कि दलको उपनेताले सम्बोधन गर्ने भन्ने विषय टुंगो लागेको छैन । यसबारे केही बेरमा बस्ने संसदीय दलले टुंगो लगाउने सचेतक प्रकाशचन्द परियारले जानकारी दिएका छन् ।
प्रमुख प्रतिपक्ष दल तथा नेपाली कांग्रेस दलका नेता भीष्मराज आङ्दाम्बे, नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापा, नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्ने भएका छन् । निर्वाचित भएपछि प्रचण्डले पहिलो पटक सम्बोधन गर्न लागेका हुन् ।
साथै, श्रम संस्कृति पार्टी संसदीय दलका नेता हर्क बहादुर राई, राष्ट्रिय प्रजातन्त्र पार्टी संसदीय दलका नेता ज्ञानबहादुर शाहीले सम्बोधन गर्ने भएका छन् ।
हिजो बसेको दलको बैठकमा सरकारले संसद् छलेर अध्यादेश ल्याएको, उचित व्यवस्थापन नगरी काठमाडौँ उपत्यकाका नदी किनारबाट सुकुम्बासी बस्ती हटाएको लगायत विषयमा सरकारको खबरदारी गर्ने निर्णय गरेको थियो ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij