२०८३ बैशाख २१ गते सोमवार
काठमाडौं । कम्बोडिया सरकारले अनलाइन स्क्यामिङ लगायतका अवैध गतिविधि नियन्त्रण गर्न कडा कानुन लागू गरेसँगै बैंककस्थित नेपाली राजदूतावासले त्यहाँ रहेका नेपाली नागरिकहरूका लागि जरुरी सूचना जारी गरेको छ।
नयाँ कानुनअनुसार अनलाइन स्क्यामिङ जस्ता अन्तरदेशीय अपराधमा संलग्न हुनेलाई ५ लाख अमेरिकी डलरसम्म जरिवाना र आजीवन कैदसम्मको सजाय हुने व्यवस्था गरिएको छ।
कम्बोडिया सरकारले गत हप्तादेखि यो कानुन कार्यान्वयनमा ल्याउँदै अनलाइन स्क्यामिङ केन्द्रहरू बन्द गर्ने, नष्ट गर्ने र त्यसमा संलग्न व्यक्तिहरूलाई पक्राउ गर्ने अभियानलाई तीव्र बनाएको छ।
कम्बोडियामा पर्यटकीय भिसामा गएर अवधि सकिएपछि पनि बसिरहेका र अवैध स्क्यामिङ केन्द्रहरूमा काम गरिरहेका नेपालीहरूलाई तुरुन्त त्यस्ता कार्य बन्द गरी नेपाल फर्कन कडा निर्देशन दिएको छ।
कम्बोडियामा रहेका नेपालीहरूको वास्तविक अवस्था बुझ्न र उनीहरूलाई स्वदेश फिर्तीमा सहजीकरण गर्न दूतावासले एउटा अनलाइन फाराम समेत सार्वजनिक गरेको छ। दूतावासले कम्बोडियामा रहेका नेपालीहरूलाई उक्त फाराम भर्न र कोही अप्ठ्यारोमा परेको भए तुरुन्त राजदूतावास वा परराष्ट्र मन्त्रालयको कन्सुलर सेवा विभागमा जानकारी गराउन आग्रह गरेको छ।
यसका साथै प्रलोभनमा पारेर कम्बोडिया पुर्याउने व्यक्ति वा एजेन्टहरू विरुद्ध नेपाल फर्किएपछि नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोमा उजुरी दिन समेत दूतावासले सूचित गरेको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij