२०८३ बैशाख ९ गते बुधवार
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले आगामी असोज महिनामा पार्टीको महाधिवेशन गरी युवालाई नेतृत्व सुम्पिने योजना रहेको बताएका छन्। बुधवार पार्टी केन्द्रिय कार्यालयमा आयोजित नेपाली कम्युनिष्ट पार्टीको स्थापना दिवसलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
संयोजक दाहालले पार्टीभित्र हुर्केका गलत प्रवृत्तिहरूलाई फोहोरमैलाको संज्ञा दिँदै त्यसलाई सफा गरेर अघि बढ्ने उद्घोष गरेका छन् । उनले जनताको घृणाले नभई नुहाइधुवाइ गरेर आऊ भनी जनताले सवक सिकाएको रूपमा पछिल्ला निर्वाचन परिणामहरूलाई बुझ्नुपर्ने बताएका छन्।
आगामी असोजभित्र सम्पन्न हुने महाधिवेशनले तलदेखि माथिसम्म युवा र गतिशील नेतृत्वलाई स्थापित गर्ने उनको योजना छ । पुराना पुस्ताले नयाँ भुमिका खोज्नुपर्ने र नयाँ पुस्तालाई जिम्मेवारी दिनुपर्ने वैचारिक बहस पार्टीमा चलिरहेको उनले जानकारी दिएका छन्। दाहालका अनुसार सच्चिने संकल्प गर्नेहरू मात्र पार्टीमा रहने र रडाको गर्नेहरू बाहिरिए पनि फरक नपर्ने कठोर नीति अब अवलम्वन गरिनेछ ।
कम्युनिष्ट आन्दोलनको पुनर्गठन आफ्नो मुख्य प्राथमिकता रहेको उनले बताएका छन्। देशमा छरिएर रहेका विभिन्न कम्युनिष्ट घटकहरूलाई एउटै केन्द्रमा ल्याउन आफूले पहल शुरु गरिसकेको जानकारी दिएका छन्। संविधान सभा, सङ्घीय लोकतान्त्रिक गणतन्त्र र समावेशी प्रणालीको रक्षाका लागि सबै परिवर्तनकारी शक्तिहरू एक ठाउँमा उभिनु पर्ने उनको तर्क छ । उनले आगामी असोजभित्र पार्टीको महाधिवेशन सम्पन्न गरी नयाँ संरचनामा जाने र वामपन्थी एकतालाई निष्कर्षमा पुर्याउने दाबी समेत गरेका छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij