२०८३ बैशाख ५ गते शनिवार
काठमाडौं । कैलालीमा मरेको कुखुराको मासु खाँदा एकै घरका दुई बालकको मृत्यु भएको छ। घटनामा घर मुली महिला र उनका अर्का छोरा पनि गम्भीर बिरामी परेका छन्।
चुरे गाउँपालिका–३ भक्तपुर निवासी राधिका ताम्राकारका छोराहरू ५ वर्षीय दीपक ताम्राकार र ८ वर्षीय भीम ताम्राकारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
शुक्रबार मरेको कुखुराको मासु खाएपछि गम्भीर बिरामी परेका उनीहरूको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा आज बिहान मृत्यु भएको प्रहरी निरीक्षक कैलाश विष्टले जानकारी दिए।
मृतक बालककी आमा २८ वर्षीया आमा राधिका ताम्राकार र उनका ३ वर्षीय अर्का छोरा दिपेश ताम्राकार गम्भीर बिरामी परेका छन्। उनीहरूको अहिले सेती प्रादेशिक अस्पतालमै उपचार जारी रहेको प्रहरीले जनाएको छ।
ताम्राकार परिवारले स्थानीय विकास पोल्ट्री फार्मबाट ल्याएको मरेको कुखुराको मासु खाएको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरीले जनाएको छ।
उक्त फार्म मङ्गल साउदले सञ्चालन गर्दै आएका छन्। घटना सार्वजनिक भएपछि उनी आफैँ इलाका प्रहरी कार्यालय मालाखेतीमा उपस्थित भएका प्रहरीले जनाएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij