२०८३ बैशाख ५ गते शनिवार
काठमाडौं । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीका लागि श्रमिक पठाउने इजाजतपत्र प्राप्त संस्थाहरूलाई विज्ञापन गर्दा अनिवार्य आधिकारिक सम्पर्क विवरण खुलाउन निर्देशन दिएको छ ।
विभागले जारी गरेको सूचना अनुसार श्रमिक माग गर्दै राष्ट्रियस्तरका दैनिक पत्रिकामा प्रकाशित हुने विज्ञापनमा संस्थाको आधिकारिक सम्पर्क व्यक्तिको नाम, सम्पर्क नम्बर र सम्पर्क स्थान स्पष्ट उल्लेख गर्नुपर्ने व्यवस्था रहेको छ ।
तर, हाल प्रकाशित केही विज्ञापनमा आवश्यक विवरण नखुलाइएकाले आवेदन दिन चाहने व्यक्तिले सम्पर्क गर्न समस्या भएको गुनासो विभागमा आएको उल्लेख गरिएको छ ।
विभागले यस्तो अवस्थालाई गम्भीर लिँदै इजाजतपत्र प्राप्त संस्थाहरूलाई विज्ञापनमा अनिवार्य स्पष्ट सम्पर्क विवरण राख्न सूचित गराएको छ । त्यस्तै वैदेशिक रोजगारीका लागि मागपत्रमा पूर्वस्वीकृति आवेदन गर्दासमेत सम्बन्धित सम्पर्क व्यक्तिको नाम, नम्बर र ठेगाना खुलाउनुपर्ने बताइएको छ । उक्त व्यवस्था कार्यान्वयन नभए प्रचलित कानुन बमोजिम कारबाही गरिने चेतावनी समेत विभागले दिएको छ ।

© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij