२०८२ चैत्र ३० गते सोमवार
काठमाडौं । फ्लोरमा गएको ४० दिनमा नेपाली फिल्म ‘परालको आगो’ को छायांकन पूरा भएको छ । निर्माण टिमले दशैँ अघिदेखि म्याग्दीको विभिन्न स्थानबाट छायांकन थालेको यो फिल्मको छायांकन मंगलवार सकाएको हो ।
फिल्मको सुटिङ सकेसँगै निर्माण टिमले तीन फरक– फरक लुक्सका तस्विर र रिलिज डेटसमेत सार्वजनिक गरेको छ । यो फिल्म आगामी वैशाख ११ गतेदेखि प्रदर्शनमा आउने निर्माता सुशील पोखरेलले बताएका छन् ।
उनले भने– ‘मैले अरु फिल्म प्रदर्शनको समयमा नआउने निर्णय गरेको छु । अरु फिल्म पनि चल्नुपर्छ भन्ने मान्यता राख्दै साधारण डेटमा आफ्नो फिल्म रिलिज गर्ने तयारीमा छु ।’ निर्माता पोखरेलले साथी–भाइको फिल्मलाई सम्मान गर्दै आफ्नो डेटमा अरुले फिल्म नजुधाई दिन समेत आग्रह गरे।
उनले थपे– ‘एकैचोटी धेरै फिल्म हलमा निर्माता तथा हल ब्यावसायी हरुको पनि धेरै नोक्सानी हुन्छ । ग्यापमा आउंदा निर्माता र हल दुबैपक्षलाई फाईदा होस् भन्ने सोचले सबै मेजर डेट छोडेर बैशाख ११ गते शुक्रवारको साधारण डेटलाई डेटलक गरेको छु ।’
उनले फिल्मको चार वटा गीतसहित सम्पुर्ण छायांकन पुरा भएको र रिलिज डेट समेत तोकेको बताए । उनले जेन–जी आन्दोलन चलिरहेको बेलामा यो फिल्मको छायांकनमा अवरोध भएता पनि टेक्निसियन तथा निर्देशकको खटाईले काम चाँडो सकिएको बताए ।
उनका अनुसार यो फिल्मको छायांकन सेड्युल ३० दिनको थियो । तर फिल्मका कलाकार, टेक्निसियन लगायतको अहोरात्र खट्दा पनि जेनजी आन्दोलन, वर्षा र पहिरोको कारण सेड्युल भन्दा १० दिन ढिला छायांकन सकिएको निर्माता पोखरेलले जानकारी दिए ।
‘परालको आगो’ हिमाली लोकेसनमा ४० दिन लगाएर नेपाली माटोको सुगन्ध आउने फिल्मलाई ठूलो क्यानभासमा छायांकन गरेका छौँ’, निर्माता पोखरेल भन्छन्– ‘काम पनि एकदमै उम्दा भएको छ । सौगात मल्ल, प्रकाश सपुत, सुहाना थापादेखि बाल कलाकार एन्जिला बानियाँसम्म एकदमै राम्रो काम गर्नु भएको छ।’
साथै करिब ६०० जना जुनियर आर्टिष्टमा खर्च गरेर कठिन परिस्थितिमा पनि फिल्मको राम्रो लोकेसन र कथाको मर्म अनुसार नै फिल्मको काम गरेको बताए ।
उनले थपे – ‘अहिलेको समयमा कन्टेन्ट नै बलियो हुनुपर्छ । हाम्रो कन्टेन्ट नै बलियो छ र धेरै राम्रो फिल्म बनाउने कोसिस गरेका छौँ । फिल्मका लागि सबै कुरामा कम्प्रमाइज गरेका छैनौँ ।’
गुरुप्रसाद मैनालीको चर्चित कथामा निर्माण गरिएको यो फिल्ममा सौगात मल्ल, प्रकाश सपुत, सुहाना थापा, सिर्जना अधिकारी, शंकर आचार्य, किशोर भण्डारी, कुलदीप अधिकारी, सरिता भण्डारी, रेणु न्यौपानेका साथै बालकलाकार एन्जिला बाँनिया रहेकी छिन् ।
यो फिल्मका कलाकारहरुले आफ्नो भूमिकालाई सशत्त बनाउनका लागि काठमाडौंमा वर्कसप समेत गरेको थिए । त्यसैले पनि निर्माता पोखरेल यो फिल्म राम्रो बनेकोमा ढुक्क देखिएका छन् ।
सुशील देवकोटाको लेखन रहेको यो फिल्मको निर्देशन लक्ष्मण सुनारले गरेका छन् । यस फिल्ममा गीत सुरेन्द्र राना, मनबहादुर मुखिया र प्रकाश सपुतले लेखेका छन्। त्यसै गरि संगीतकारकमा शान्ति ठटाल, सत्य स्वरूप र अभिनेता प्रकाश सपुतकै रहने निर्माण पक्षले जानकारी दिएको छ ।
गत भदौ २६ गतेदेखि म्याग्दीबाट छायांकन प्रारम्भ भएको यो फिल्मलाई संकल्प भुजेलले खिचेका हुन् भने फिल्मको कोरियोग्राफी रामजी लामिछानेले गरेका छन् । नगेन्द्र घिमिरेले प्रोडक्सन म्यानेजरको जिम्मा लिएको यो फिल्मको वितरण आर।आर फिल्मस र ओटीटी राईट ओएसआरले रिलिज पूर्व नै महंगो रकममा लिईसकेको छ ।
गुरुप्रसाद मैनालीको ‘नासो’ कथा संग्रहमा समावेश कथा ‘परालको आगो’ बनाइएको हो भने यो नाममा ४५ वर्षअघि प्रताप सुब्बाले पनि फिल्म निर्देशन गरेका थिए । जुन फिल्म अत्याधिक सफल पनि भएको थियो ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij