२०८२ चैत्र २९ गते आइतवार
सुर्खेत । दैलेखको ठाँटीकाँध गाउँपालिका–६ मा शनिबार चार युवकबीच भएको विवादले उग्र रूप लिँदा चक्कु प्रहारको घटना भएको छ । सामान्य विवादपछि कुटपिटमा परिणत भएको झगडामा एक युवकले चक्कु प्रहार गर्दा दुईजना घाइते भएका छन् ।
घटनामा २२ वर्षीय विराज भण्डारीले १४ वर्षीय अर्जुन रोकाया र १६ वर्षीय लेलिन थापामाथि चक्कु प्रहार गरेका हुन् । चक्कु प्रहारबाट अर्जुन रोकायाको दायाँ अण्डकोषको साइटमा चोट लागेको छ भने लेलिन थापाको छातीमा चोट लागेको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक ऋषिकेश गौतम हरिजनले जानकारी दिए ।
सूचना अधिकारी गौतम हरिजनका अनुसार, घाइते दुवैलाई तत्काल स्थानीय स्वास्थ्य चौकीमा सामान्य उपचार गरिएपछि थप उपचारका लागि प्रदेश अस्पताल सुर्खेत कालागाउँ रिफर गरिएको छ ।
घटनामा संलग्नमध्ये २२ वर्षीय गजेन्द्र शाहीलाई जिल्ला प्रहरी कार्यालय दैलेखले नियन्त्रणमा लिएको छ । भने विराज भण्डारी अझै फरार रहेका छन् । उनको खोजीका लागि प्रहरी टोली परिचालन गरिएको प्रहरीले जनाएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij