Logo

२०८२ चैत्र २८ गते शनिवार

२०८२ चैत्र २८ गते शनिवार

आज दिनभरको २६ खबर एकै ठाउँमाः छोटकरीमा पढ्नुहोस्

आज दिनभरको २६ खबर एकै ठाउँमाः छोटकरीमा पढ्नुहोस्


  • 722
    Shares

    आज दिनभरको २६ खबर एकै ठाउँमाः छोटकरीमा पढ्नुहोस्

    १. सुशासनको डंका पिट्नेहरू नै सम्पती लुकाउँदैछन्’ः महासचिव पोखरेल

    नेकपा एमालेका महासचिव शंकर पोखरेलले वर्तमान सरकार र नयाँ भनिएका शक्तिहरूको ‘सुशासन’ को मुकुण्डो उत्रिएको टिप्पणी गर्नुभएको छ । सुशासनको नाममा आएका मन्त्री र सभामुखले पारदर्शिताको धज्जी उडाएको उहाँले आरोप लगाउनुभएको हो । सभामुखको सम्पती विवरणमाथि प्रश्न उठाउँदै उहाँले श्रमिकबाट मालिक बन्नु अपराध नभएको तर विदेशमा कमाएको भनिएको सम्पती कुन च्यानलबाट आयो ? राज्यलाई कर तिरिएको छ कि छैन ? भन्नेबारे जवाफ दिनुपर्ने बताउनु भयो । उहाँले मन्त्रीहरूले सम्पत्ति विवरण बुझाउन आलटाल गरेकोप्रति आपत्ति जनाउनु भयो । एमालेका नेताहरू जुनसुकै अग्निपरीक्षा दिन तयार रहेको बताउँदै उहाँले नयाँ तयार छन् की छैनन् ? भन्दै प्रश्न गर्नुभयो । 

    २. सरकारले ‘विष वृक्ष’ रोप्न खोज्योः विद्यार्थी संगठनमाथिको प्रतिवन्धविरुद्ध सडक र सदनबाटै लड्ने चेतावनी’

    सरकारले शैक्षिक संस्थाहरूमा विद्यार्थी संगठनमाथि प्रतिवन्ध लगाउने तयारी गरेपछि त्यसको विरोधमा कानुन व्यवसायी र विद्यार्थी नेताहरूले मोर्चाबन्दी शुरु गरेका छन् । सरकारको यो कदम असंवैधानिक र अन्तर्राष्ट्रिय मानव अधिकार सन्धि विपरित भएको भन्दै उनीहरूले मुलुकमा फासीवादको लक्षण देखिन थालेको टिप्पणीसहित कडा संघर्षको चेतावनी दिएका छन् । सरकारको १०० दिने कार्ययोजनामा विद्यार्थी संगठन खारेजीको प्रश्ताव आएपछि चौतर्फी विरोध शुरु भएको हो । अधिवक्ता, नागरिक समाज र विद्यार्थी संगठनका नेताहरूले यसलाई लोकतन्त्र र संविधानले प्रत्याभूत गरेको मौलिक हकमाथिको गम्भीर प्रहारको संज्ञा दिँदै सरकारले ‘विष वृक्ष’ रोप्न खोजेको आरोप लगाएका छन् । अधिवक्ता अञ्जिता खनाल, विश्लेषक युग पाठक र विभिन्न विद्यार्थी संगठनका नेताहरूले सरकारको यो कदमलाई फासीवादी चरित्रको संज्ञा दिँदै यसले मुलुकलाई निर्दलीयता र अधिनायकवादतर्फ धकेल्ने चेतावनी दिएका छन् ।

    ३. संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक सिंहदरबारमा जारी

    संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक सिंहदरबारमा जारी छ । प्रधानमन्त्री बालेन्द्र साहका राजनीतिक सल्लाहकार एवं कार्यदलका संयोजक असिम साहको अध्यक्षतामा बैठक बसिरहेको हो । बैठकमा उठेका विषयहरू र राजनीतिक दलहरूको लिखित धारणा संकलन गरी संविधान संशोधनका मुद्दा पहिचान गर्ने तथा कार्यदलको आगामी कार्ययोजना तयार गर्नेबारे छलफल भइरहेको छ । कार्यदलले संविधान संशोधनसम्बन्धी विषयलाई वृहत रूपमा अघि बढाउने लक्ष्य राखेको संयोजक साहले जानकारी दिनुभयो । उहाँले संविधान संशोधन प्रक्रिया राष्ट्रिय सहमति, सहभागिता र तथ्यमा आधारित हुने बताउनु भयो । नेपालको संविधानको धारा २७४ ले संशोधनसम्बन्धी स्पष्ट प्रावधान गरेको उल्लेख गर्दै उहाँले सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधीनता तथा जनतामा निहित सार्वभौमसत्ताको प्रतिकूल हुनेगरी संविधान संशोधन गर्न नसकिने संवैधानिक व्यवस्था रहेको स्पष्ट पार्नुभयो । 

    ४. व्यास नगरपालिकास्थित मादी नदीको निमार्णाधिन पुलको काम ७५ प्रतिशत सकियो

    मुग्लिङ–पोखरा सडकखण्ड अन्तर्गत तनुहँको व्यास नगरपालिका ४ र ५ मादी नदीमाथि निमार्णाधिन पुलको काम ७५ प्रतिशत सकिएको छ । पुल निर्माण गरिरहेको अनक कन्ट्रक्शनका प्रतिनिधि दिनेशकुमार श्रेष्ठकाअनुसार पुलको मुख्य काम जेठ महिनाभित्र सकिनेछ । अन्य सामान्य काम मात्र बाँकी रहने उहाँले बताउनु भयो । विभिन्न विवादमा कारणले पनि पुल निर्माण ढिलाई भएको उहाँको भनाइ छ । 

    ५. प्रतिनिधि सभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी

    प्रतिनिधि सभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक शनिवार मध्याह्नदेखि सिंहदरबारमा जारी छ । समितिले प्रतिनिधि सभाको नयाँ नियमावली तर्जुमा गर्ने कार्य गरिरहेको छ । गणेश पराजुलीको सभापतित्वमा गठित १५ सदस्यीय समितिको यो बैठकले संसद सञ्चालनका लागि आवश्यक संशोधन र नयाँ प्रावधानहरूबारे छलफल गर्दैछ । समितिका सदस्यहरूले नियमावलीका विभिन्न अध्याय तथा दफाहरूमा संशोधन प्रश्ताव ल्याउने र छलफल गर्ने क्रममा छन् । बैठकमा नियमावलीलाई समसामयिक बनाउने, संसदीय प्रक्रियालाई थप प्रभावकारी र पारदर्शी बनाउने विषयमा जोड दिइएको छ । यो समिति गठन भएपछि नियमावली मस्यौदा तयार पार्ने काम तिब्र रूपमा अगाडि बढेको छ । 

    ६. नागढुङ्गा–मुग्लिङ सडक अनुगमनमा गृहमन्त्री गुरुङः ‘काममा ढिलासुस्ती भए ब्ल्याक लिस्टमा राखिने’ चेतावनी

    गृहमन्त्री सुधन गुरुङले राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको नागढुङ्गा–मुग्लिङ सडक सुधार आयोजनाको स्थलगत अनुगमन गर्नुभएको छ । अनुगमनका क्रममा उहाँले निर्माण कार्यमा ढिलासुस्ती गर्ने र गुणस्तरहीन काम गर्ने निर्माण व्यवसायीलाई कडा कारबाही गर्ने चेतावनी दिनुभएको छ । गृहमन्त्री गुरुङले आयोजनाको नौबिसे–मलेखु र मलेखु–मुग्लिङ खण्डको वस्तुस्थितिबारे विस्तृत जानकारी लिनुभएको थियो । सो अवसरमा उहाँले निर्माण व्यवसायीहरूलाई निर्धारित समयमै र उच्च गुणस्तरका साथ काम सम्पन्न गर्न कडा निर्देशन दिनुभयो । आयोजनाले गृहमन्त्रीसमक्ष पेश गरेको प्रतिवेदनमा निर्माण सामग्रीको अभावलाई मुख्य समस्याका रूपमा औंल्याइएको छ । विशेषगरी नदीजन्य र खानीजन्य सामग्री उत्खननमा देखिएका कानूनी र प्रशासनिक जटिलताका कारण काममा ढिलाइ भएको उल्लेख छ । नदीजन्य सामग्री (ढुङ्गा, गिट्टी, बालुवा) उत्खननमा स्थानीय तहको अवरोध रहेको छ । 

    ७. जनसंगठन र ट्रेड युनियनमाथिको प्रतिवन्ध स्वीकार्य छैनः नेकपा

    नेपाली कम्युनिष्ट पार्टीले जनसंगठन र ट्रेड युनियनमाथिको प्रतिवन्ध स्वीकार्य नभएको बताएको छ । केन्द्रिय कार्य समायोजन समितिको बैठक सातौँ दिनमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टीका नेता जगन्नाथ खतिवडाले यस्तो बताउनुभएको हो । युवा र विद्यार्थी संगठनहरूलाई प्रतिवन्ध लगाउने र ट्रेड युनियनको अधिकार कुण्ठित गर्ने कुरा गलत भएको उहाँले बताउनु भयो । यसको विरुद्धमा पार्टी सडमा उत्रिने चेतावनी दिनुभयो । बैठकमा समसामयिक राजनीतिक परिस्थिति, नयाँ सरकारको कार्यदिशा र पार्टीको आगामी कार्ययोजनाबारे गहन छलफल भइरहेको नेता खतिवडाले जानकारी दिनुभयो । विभिन्न कार्यव्यस्तताका कारण दैनिक केही घण्टा मात्र छलफल भइरहेको यो बैठकमा ४५ सदस्यीय केन्द्रीय कार्य समायोजन समितिका लगभग ४३ जना सदस्यहरूले आफ्नो धारणा राखिसकेका छन् । बैठकमा देशको समसामयिक परिस्थिति, नयाँ सरकारले लिने बाटो र पार्टीको सांगठनिक समायोजनका विषयमा गहन मन्थन भएको छ । 

    ८. जनताको अधिकार खोसिए प्रतिवाद गर्ने प्रचण्डको चेतावनी

    नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले जनताले लामो संघर्ष र बलिदानबाट प्राप्त गरेका अधिकारहरूमाथि छेडखानी गरे सदन र सडकबाट प्रतिवाद गर्ने चेतावनी दिनुभएको छ । अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी) सम्पर्क समन्वय प्रदेशद्वारा नयाँ वर्ष २०८३ को उपलक्ष्यमा आयोजित क्यालेण्डर विमोचन तथा शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै संयोजक दाहालले जनताका अधिकार खोसिए सह्य नहुने चेतावनी दिनुभएको हो । संयोजक दाहालले वर्तमान सरकार (राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको) ले रचनात्मक काम गरे आफूहरूको सकारात्मक सहयोग रहने बताउनु भयो । तर संविधानमाथि छेडखानी गर्ने, राष्ट्रिय हितमा आँच पु¥याउने वा जनताको हक अधिकार खोस्ने गतिविधि भएमा चुप लागेर नबस्ने स्पष्ट पार्नुभयो । विशेष गरी विद्यार्थी र कर्मचारी ट्रेड युनियनको अधिकारमाथि सरकारले प्रश्न उठाउन खोजेको भन्दै उहाँले शतर्क रहन आग्रह गर्नुभयो । 

    ९.छानबिनका लागि म तयार छु, मेरै पालामा निर्णय भएको होः प्रचण्ड

    नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले आफू कुनैपनि प्रकारको छानबिनका लागि तयार रहेको बताउनुभएको छ । शनिवार पार्टी केन्द्रिय कार्यालयमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उहाँले विगतका निर्णयहरूको जिम्मेवारी लिन आफू तयार रहेको स्पष्ट पार्नुभएको हो । आफूमाथि हुने सबै छानविका लागि आफू तयार रहेको बताउनु भयो । उहाँले आफ्नो कार्यकालमा भएका निर्णयहरू पारदर्शी रहेको र त्यसको सामना गर्न आफू डराउनु नपर्ने जिकिर गर्नुभयो । उहाँले भन्नुभयो, ‘मेरै पालामा निर्णय गरेको हो भनेर मैले धेरै चोटी भनिसकेँ । तपाईंहरुले बुझ्नु हुन्न कि के हो ? सम्पूर्ण छानबिनका लागि म तयार छु ।’

    १०. काठमाडौंका सडकमा ढकमक्क फूल फुलाउने महानगरको नयाँ अभियान (तस्बिरसहित)

    काठमाडौं महानगरपालिकाले शहरलाई सुन्दर र हराभरा बनाउने उद्देश्यका साथ सडक किनारामा गमला राखेर फूल रोप्ने कार्यलाई तिब्रता दिएको छ । महानगरको गौरवको योजना ‘मेरो रहर, सुन्दर र हरित शहर’ कार्यक्रम अन्तर्गत पार्क तथा हरियाली प्रवद्र्धन आयोजनाले यो अभियान शुरु गरेको हो । यस अभियानले शहरको सौन्दर्य बढाउनुका साथै शहरी वातावरणलाई स्वच्छ राख्न मद्दत पुग्ने विश्वास गरिएको छ । हाल रोपिएका बेगमबेली फूलहरू पहेँलो, रातो र गुलावी लगायतका विभिन्न रङमा फुल्नेछन् । फूल फुलाउने कार्यलाई दिगो र व्यवस्थित बनाउनका लागि बलिया सिमेन्टका गमलाहरू प्रयोग गरिएको छ । यी स्थायी ठूला गमलाहरूमा बिरुवा लगाउने, गोडमेल गर्ने र नियमित पानी हाल्ने जिम्मेवारी वातावरण व्यवस्थापन विभागले सम्हालेको छ । 

    ११. एक हप्ताभित्रै संगठनात्मक एकीकरण टुङ्ग्याउँछौँ, आफ्नै खुट्टामा उभिने आँट गरौँः माधवकुमार नेपाल

    नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पार्टीको संगठनात्मक एकीकरणको बाँकी काम एक हप्ताभित्रै सम्पन्न गर्नेगरी पहल भइरहेको बताउनुभएको छ । अखिल नेपाल महिला संघ (क्रान्तिकारी) को सम्पर्क समन्वय प्रदेश कमिटीद्वारा नयाँ वर्षको उपलक्ष्यमा आयोजित क्यालेण्डर विमोचन कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । नेता नेपालले निर्वाचनको परिणाम अपेक्षाविपरित आएको स्वीकार गर्दै त्यसको गम्भीर समीक्षा हुनुपर्नेमा जोड दिनुभयो । नेता नेपालले निर्वाचनमा कार्यकर्ताहरूको सक्रियता र इमान्नदारितामाथि प्रश्न उठाउँदै आत्ममन्थन गर्न आग्रह गर्नुभयो । पार्टीभित्र हाल ४५ सदस्यीय केन्द्रिय समन्वय समितिको बैठक सात दिनदेखि जारी रहेको जानकारी दिँदै उहाँले राष्ट्रिय समस्या, राजनीतिक संकट र कम्युनिष्ट आन्दोलनका चुनौतीबारे मन्थन भइरहेको बताउनु भयो ।

    १२. इन्धन संकटको मारः काँकडभिट्टा–लौकही सडक सुस्त

    पेट्रोलिय पदार्थ अभावले निर्माणाधिन काँकडभिट्टा–लौकही सडक निर्माण सुस्ताएको छ । मध्यपूर्वमा देखिएको तनावले पर्याप्त सडक कालोपत्र गर्न आवश्यक बिटुमिन अभाव भएको निर्माण कम्पनी इभ्रास्कन कालिका जे.भी.का प्रोजेक्ट म्यानेजर उज्वल प्रसाईंले जानकारी दिनुभयो । काँकडभिट्टा लौकही सडकखण्ड अन्तर्गत पूर्वी खण्डमा इभ्रास्कन कालिका जे.भी.ले स्तोन्नतिको काम गरिरहेको छ । सडक कालोपत्र गर्ने मुख्य सिजनमा कम्पनीले स्टकमा राखेको बिटुमिनले १०–१५ दिन पुग्ने कम्पनीका प्रोजेक्ट म्यानेजर प्रसाईं बताउनु हुन्छ । वर्षाअघि  पहिलो लेयरको कालोपत्र गर्न २२ किलोमिटर सडकमा बेस बिछ्यायर तयार पारिएको कम्पनीका प्रतिनिधि प्रसाईं बताउनुहुन्छ । 

    १३. २०८३ लाई ‘पुनर्जागरण वर्ष’ बनाउने एमाले महासचिवको उद्घोष

    नेकपा एमाले महासचिव शंकर पोखरेलले नेकपा एमाले फेरि खरानीको थुप्रोबाट उठ्ने र निर्णायक शक्ति बन्ने दृढता व्यक्त गर्नुभएको छ । उहाँले नयाँ वर्ष २०८३ लाई पार्टीको ‘पुनर्जागरण र पुनर्गठन वर्ष’ को रूपमा मनाउने घोषणा गर्नुभएको हो । निर्वाचनको धक्कापछि निराश बनेका कार्यकर्ताहरूलाई ऊर्जा भर्दै उहाँले २०६४ सालमा एमाले सकियो भन्नेहरूले २०७० मा एमालेको पुनरागमन भएको स्मरण गराउनु भयो । पार्टी सत्तामुखी र केन्द्रमुखी हुँदा जनतासँगको सम्बन्ध केही कमजोर भएको स्वीकार गर्दै अब ‘मिसन ग्रासरुट’ मार्फत जनताको घरदैलोमा पुग्ने बताउनु भयो । 

    १४. ‘स्वार्थको जगमा उभिएको नयाँ शक्ति तासको महलजस्तै ढल्छ’ः महासचिव पोखरेल

    नेकपा एमालेका महासचिव शंकर पोखरेलले लोकप्रियतावाद र अराजकताको जगमा उभिएका नयाँ शक्तिहरूको भविष्य संकटमा रहेको दाबी गर्नुभएको छ । उहाँले विचार र सिद्धान्तबिनाको एकता लामो समय नटिक्ने ठोकुवा गर्नुभएको हो । नयाँ शक्तिहरू (रवि–बालेन्द्र) बीचको आन्तरिक द्वन्द्वलाई संकेत गर्दै पोखरेलले विचार नमिल्नेहरुबीच स्वार्थको टकराव आउनासाथ विग्रह हुने बताउनु भयो । उहाँले नयाँ भनिएकाहरूले लोकतन्त्रका स्पेसहरू खुम्च्याउन खोजेको, विद्यार्थी संगठन र ट्रेड युनियनमाथि प्रहार गरेको भन्दै त्यसको आलोचना गर्नुभयो । उहाँले एमाले अधिनायकवाद र स्वेच्छाचारी शासनविरुद्ध चट्टान बनेर उभिने स्पष्ट पार्नुभयो । संसद्मा एमालेको संख्या कम भए पनि भुमिका ‘निर्णायक र आक्रामक’ हुने बताउनु भयो ।

    १५. अमेरिका र इरानबीचको वार्ता शनिबार इस्लामावादमा हुनेः पाकिस्तानी प्रधानमन्त्री

    पाकिस्तानी प्रधानमन्त्री शहबाज शरीफले शुक्रवार मध्यपूर्व द्वन्द्वको शान्तिपूर्ण समाधान खोज्न अमेरिका र इरानका वार्ता टोलीहरूले शनिवार वार्ता गर्ने बताउनुभएको छ । एक सम्बोधनमा शरीफले अस्थायी युद्धविराम घोषणा गरिएको र अबको अर्को र कठिन चरण वार्तामार्फत स्थायी शान्ति कायम गर्नु भएको बताउनु भयो । पाकिस्तानी नेतृत्वले वार्तालाई सफल बनाउन आफ्नो तर्फबाट सक्दो प्रयास गर्ने उनले थपे।यो वार्ता मध्यपूर्वमा बढ्दै गएको तनाव कम गर्न र स्थायी शान्तिको मार्ग प्रशस्त गर्न महत्वपूर्ण मानिएको छ । पाकिस्तानले यसअघि पनि विभिन्न देशहरूबीच मध्यस्थताको भूमिका निर्वाह गर्दै आएको छ ।

    १६. इराकी र इजिप्टका विदेशमन्त्रीहरूबीच क्षेत्रीय तनाव कम गर्ने र आगामी अमेरिका–इरान वार्ताका बारेमा छलफल

    इराकी विदेशमन्त्री फुअद हुसेनले बगदादमा आफ्ना इजिप्टका समकक्षी बदर अब्देलातीसँग भेट गरी क्षेत्रीय तनाव कम गर्ने र आगामी अमेरिका–इरान वार्ताका बारेमा छलफल गर्नुभएको छ । इराकी विदेश मन्त्रालयको विज्ञप्तिअनुसार हुसेनले यस क्षेत्रमा तनाव कम गर्ने प्रयासमा इजिप्टको भूमिका र सबै पक्षहरूसँगको रचनात्मक संलग्नताको प्रशंसा गर्नुभयो । उहाँले वार्तालाई सुदृढ पार्ने अन्तर्राष्ट्रिय प्रयासहरूमा इराकको समर्थन रहेको पनि पुष्टि गर्नुभयो । उहाँले वर्तमान चरणमा क्षेत्रीय स्थिरता सुदृढ गर्ने समझदारीमा पुग्न व्यापक र समन्वयित कार्यको आवश्यकता रहेको बताउनु भयो । अब्देलातीले विद्यमान अमेरिका–इरान युद्धविरामका जोखिमहरूका बारेमा चर्चा गर्दै यसलाई कमजोर पार्न सक्ने तनावलाई रोक्न प्रयासहरू तीव्र पार्नुपर्नेमा जोड दिनुभयो । उहाँहरूले वर्तमान संकट समाधान गर्न, क्षेत्रीय सुरक्षा पुनःस्थापना गर्न र अन्तर्राष्ट्रिय कानूनको पालनालाई सुदृढ गर्न अरब लिगको भूमिकालाई सक्रिय पार्ने उपायहरूका बारेमा पनि छलफल गर्नुभयो । 

    १७. उच्च सुरक्षा र कडा बन्दोबस्तः अमेरिका–इरान वार्ताका लागि पाकिस्तानले इस्लामावादलाई तयार पार्दै

    हालै घोषित दुई हप्ते युद्धविरामपछि मध्यपूर्वमा जारी तनाव कम गर्ने उद्देश्यले हुन लागेको उच्चस्तरीय वार्ताका लागि अमेरिका र इरानका प्रतिनिधिमण्डल इस्लामावाद पुग्ने भएपछि पाकिस्तानले सुरक्षा र व्यवस्थापकीय तयारीलाई तिब्र बनाएको छ । हप्तौँदेखि बढ्दै गएको द्वन्द्वपछि दीर्घकालीन समाधान खोज्ने कूटनीतिक प्रयासको हिस्साका रूपमा यस वार्तामा दुवै देशका वरिष्ठ अधिकारीहरूको सहभागिता रहने अपेक्षा गरिएको छ । गृहमन्त्री मोहसिन नाक्वीले बिहीबार विदेशी प्रतिनिधिहरूका लागि पूर्ण सुरक्षा सुनिश्चित गर्न एक विस्तृत योजना तयार गरिएको बताउनुभएको छ । इस्लामावादका अधिकारीहरूले वार्ताको पूर्वसन्ध्यामा व्यापक सुरक्षा उपायहरू लागू गरेका छन् । व्यवस्थापनलाई सहज बनाउन जुम्ल्याहा सहर इस्लामावाद र रावलपिन्डीमा स्थानीय बिदा घोषणा गरिएको छ । 

    १८. दक्षिण कोरियाद्वारा विवादित टापुहरूमा जापानको नयाँ क्षेत्रीय दाबीप्रति विरोध दर्ता

    दक्षिण कोरियाले शुक्रवार जापानको विवादित टापुहरू (जसलाई यहाँ डोडो र जापानमा ताकेशिमा भनिन्छ) माथिको नयाँ क्षेत्रीय दाबीप्रति विरोध जनाएको छ । दक्षिण कोरियाली परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै डोडोमाथि जापान सरकारले बारम्बार गरेको अन्यायपूर्ण सार्वभौमसत्ताको दाबीप्रति कडा विरोध जनाएको छ । डोडो ऐतिहासिक, भौगोलिक र अन्तर्राष्ट्रिय कानून अनुसार दक्षिण कोरियाको अभिन्न अंग हो । मन्त्रालयले टोकियोलाई यस्ता दाबीहरू तुरुन्त फिर्ता लिन आग्रह गरेको छ । डोडोमाथि जापान सरकारको अन्यायपूर्ण दाबीले टापुहरूमा दक्षिण कोरियाको सार्वभौमसत्तामा कुनै असर नपर्ने कुरा स्पष्ट पारेको छ । सियोलले डोडोमाथि जापानको कुनै पनि उत्तेजनाको दृढतापूर्वक जवाफ दिने थप गरेको छ । 

    १९. मिन आङ ह्लाइङले म्यानमारको राष्ट्रपतिको रूपमा शपथ लिए

    सिनियर जनरल मिन आङ ह्लाइङले शुक्रवार आधिकारिक रूपमा म्यानमारको राष्ट्रपतिको रूपमा शपथ लिनुभएको छ । शपथ ग्रहण समारोह संघ संसदका सभामुखको अगाडि सम्पन्न भएको थियो। यो समारोह राजधानी नेप्यिदोमा तेस्रो संघ संसदको पहिलो नियमित सत्रको छैटौं दिनको बैठकमा भएको हो । सत्रको क्रममा यू न्यो सा र नान नी नी आयले पनि देशको उपराष्ट्रपतिको रूपमा शपथ लिएका छन् । संघीय स्तरका अधिकारीहरू, जसमा संघीय मुख्य न्यायाधीश, संघीय सर्वोच्च अदालतका न्यायाधीशहरू, संघीय मन्त्रीहरू, संघीय महान्यायाधिवक्ता, संघीय निर्वाचन आयोगका अध्यक्ष, म्यानमारको केन्द्रिय बैंकका गभर्नर र डेपुटी गभर्नर, र भ्रष्टाचार विरोधी आयोगका अध्यक्ष र सदस्यहरूले पनि सभामुखको अगाडि शपथ लिएका थिए । 

    २०. वार्ताका लागि इरानी टोली इस्लामावाद पुग्यो

    संसदका सभामुख मोहम्मद बाकर कालीबाफको नेतृत्वमा एक उच्चस्तरीय इरानी प्रतिनिधिमण्डल संयुक्त राज्य अमेरिकासँग हुने आगामी वार्तामा सहभागी हुन शनिवार इस्लामावाद आइपुगेको पाकिस्तानको परराष्ट्र मन्त्रालयले एक विज्ञप्तिमार्फत जनाएको छ । यस टोलीमा इरानी विदेशमन्त्री सैयद अब्बास अराघची पनि सहभागी छन् । विज्ञप्ति अनुसार इरानी प्रतिनिधिमण्डललाई आगमनको समयमा पाकिस्तानी उपप्रधानमन्त्री तथा विदेशमन्त्री मोहम्मद इशाक दारका साथै राष्ट्रिय सभाका सभामुख सरदार अयाज सादिक, रक्षा बलका प्रमुख तथा थलसेना अध्यक्ष फिल्ड मार्शल सैयद असिम मुनिर र गृहमन्त्री सैयद मोहसिन रजा नक्वीले स्वागत गरेका थिए । 

    २१. स्पेनका प्रधानमन्त्रीद्वारा इस्रायलसँगको एशोसिएशन सम्झौता निलम्वन गर्न युरोपेली संघलाई आह्वान

    स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले लेबनान र गाजामा अन्तर्राष्ट्रिय मानवीय कानूनको उल्लंघन भएको भन्दै इजरायलसँगको एशोसिएशन सम्झौता निलम्वन गर्न युरोपेली संघसँग माग गर्नुभएको छ । उहाँले युरोपेली सुरक्षाका लागि तत्काल छुट्टै सेनाको आवश्यकता औंल्याउनुका साथै लेबनानमा भइरहेको मानवीय संकटप्रति गम्भीर चिन्ता व्यक्त गर्नुभएको हो । यसका साथै, स्पेनिस नेताले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नाटो छोड्ने धम्कीको प्रतिक्रिया स्वरूप १० वर्ष वा २ वर्षमा होइन, अहिले नै युरोपेली सेना निर्माण गर्न आह्वान समेत गर्नुभयो । यसअघि, स्पेनका विदेशमन्त्री जोसे म्यानुएल अल्बारेसले पनि लेबनानमा इजराययली आक्रमणको कडा आलोचना गर्नुभएको थियो । सान्चेजले यो टिप्पणी इस्रायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले स्पेनमाथि इजरायलसँग कुटनीतिक युद्ध छेडेको आरोप लगाएपछि गर्नुभएको हो । 

    २२. नेकपाका नेताहरु भन्छन्, ‘सबै उच्च पदस्थ व्यक्तिहरुको सम्पती छानविन हुनुपर्छ, हामी तयार छौँ’

    नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का नेताहरुले सरकारले २०४६ सालपछि नेपालको उच्च पदस्थ तह बसेका व्यक्तिहरुको सम्पत्ति छानविन गरेमा सघाउन आफूहरु तयार रहेको बताएका छन् । शनिवार पार्टी कार्यलय पेरिस डाँडामा पत्रकारहरुसँगको कुराकानीका क्रममा नेताहरुले सबैको सम्पती छानविन गरेर अवैध सम्पतीलाई सरकारीकरण गर्नुपर्ने बताउनुभएको हो । उहाँहरुले सम्पती शुद्धिकरण (मनी लाउण्ड्रिङ) सम्बन्धि मामिलामा सरकार कडा रुपमा प्रश्तुत हुनुपर्ने बताउनु भयो । त्यसको लागि राज्यले निष्पक्ष र उच्चस्तरीय छानविन समिति गठन गर्नुपर्ने उहाँहरुको भनाई छ । नेकपाका नेता वर्षमान पुनले कालोधनलाई वैध बनाउने गतिविधि आपराधिक भएको बताउनु भयो । उहाँले कालोधनलाई सेतो बनाउने कार्यलाई रोक्नु सरकारको नियमित दायित्व बताउनु भयो । २०४८ सालपछि सार्वजनिक पदमा रहेका सबै उच्च पदस्थ व्यक्तिहरूको सम्पत्ति छानविन गर्नुपर्ने उहाँको भनाई छ । यसको लागि उच्चस्तरीय छानविन आयोग गठन गरिए अझ प्रभावकारी हुने उहाँको भनाइ छ ।

    २३. मानन्धरको ‘संङ्घर्षका पानाहरु’ पुस्तक विमोचन

    कम्युनिष्ट नेता तथा प्रजातान्त्रिक आन्दोलनका योद्धा विष्णुबहादुर मानन्धरद्वारा लिखित ‘संङ्घर्षका पानाहरु’ पुस्तकको विमोचन गरिएको छ । शनिवार काठमाडौंमा एक विशेष कार्यक्रमको आयोजना गरी मानन्धरको आत्माकथा ‘संङ्घर्षका पानाहरु’को विमोचन गरिएको हो । पुस्तक विमोचन कार्यक्रममा पूर्वराजदुत निलाम्बर आचार्यले विष्णुबहादुर मानन्धरजस्तो नेता आजको समाजमा फेला पार्न नसकिने बताउनु भयो । मानन्धर सम्पन्न परिवारको व्यक्ति भएपनि एकदमै सादगी र सरल जीवनशैलीमा उहाँको जीवन बितेको उहाँको भनाई छ । उहाँले स्वच्छ छवि र सरल जीवनशैलीको रुपमा मानन्धरलाई स्मरण गर्नुभयो । मानन्धर नेपालको किसान आन्दोलन, कम्युनिष्ट आन्दोनल र प्रजातान्त्रिक आन्दोलनको खम्बा रहेको उहाँको भनाई छ । 

    २४. निजी क्षेत्र बलियो भए अर्थतन्त्र बलियो हुन्छः सांसद झा

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले निजी क्षेत्रको पुँजी र उद्यमशीलतालाई बलियो बनाउनसके मात्रै देशको अर्थतन्त्र बलियो हुने बताउनुभएको छ । राष्ट्रिय उद्यम विकास सहजकर्ता महासंघ नेपालको तेस्रो राष्ट्रिय महाधिवेशनमा शनिवार राजधानीमा संवोधन गर्दै झाले निजी क्षेत्रको विकास विना अर्थतन्त्र मजबुद हुन नसक्ने बताउनुभएको हो । सांसद झाले प्राइभेट क्षेत्रको ग्रोथले मात्रै मुलुकको अर्थमन्त्र मजबुत हुने बताउँदै गभर्मेन्ट र डेभलपमेण्ट इकोनोमीले स्थायित्वमा मद्दत पु¥याउने बताउनु भयो । सांसद झाले सन् २०२६ को तथ्यांक उल्लेख गर्दै अमेरिकाको प्राइभेट सेक्टरको इकोनोमी साढे ४६ हजार खर्ब बराबरको रहेको बताउनु भयो । चीनमा निजी क्षेत्रको पुँजी ३० हजार खर्ब बराबरको छ । छिमेकी देशहरुमा प्राइभेट क्षेत्रले धेरै ग्रोथ गरेकाले नेपालमा समेत अब निजी क्षेत्रको ग्रोथ बढ्न जरुरी रहेको बताउनु भयो ।

    २५. सार्वजनिक गाडीमा भाडा बढ्यो, उपत्यकामा न्युनतम २४ रुपैयाँ

    पेट्रोल तथा डिजेलबाट सञ्चालन हुने यात्रुवाहक सार्वजनिक सवारीसाधनको भाडादर बढेको छ । वागमती प्रदेश सरकार अन्तर्गतको श्रम, रोजगार तथा यातायात मन्त्रालयको मन्त्रीस्तरीय निर्णय गर्दै नयाँ भाडादर निर्धारण गरेको हो । संशोधित भाडादर शनिवारदेखि लागू भइसकेको छ । नयाँ व्यवस्थाअनुसार काठमाडौं उपत्यका भित्र सञ्चालन हुने सार्वजनिक सवारीसाधनको न्यूनतम भाडा अब २४ रुपैयाँ कायम गरिएको छ, जुन यसअघि १९ रुपैयाँ थियो । दूरीका आधारमा भाडा समायोजन गरिएको छ । पाँच किलोमिटरसम्म २४ रुपैयाँ, १० किलोमिटरसम्म ३३ रुपैयाँ, १५ किलोमिटरसम्म ३९ रुपैयाँ र २० किलोमिटरसम्म ४४ रुपैयाँ निर्धारण गरिएको छ । २० किलोमिटरभन्दा माथिको दूरीका लागि ५० रुपैयाँ भाडा कायम गरिएको मन्त्रालयले जनाएको छ ।

    २६. महिला राष्ट्रिय रग्बी सेभेन्समा कर्णाली र वागमती सेमिफाइनलमा

    कर्णाली प्रदेश र वागमती प्रदेश महिला राष्ट्रिय रग्बी सेभेन्सको सेमिफाइनलमा पुगेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिवारदेखि शुरु भएको प्रतियोगितामा समूह ‘ए’ बाट कर्णाली र वागमती सेमिफाइनलमा पुगेका हुन् । समूहमा दुवैले कुल समान सात अंक जोडे पनि कुल स्कोरका आधारमा वागमती विजेता भएको हो । समूहचरणमा वागमती र कर्णाली बीचको खेल पनि १०–१० स्कोरमा सकिएको थियो । दुवैले समान एक बराबरी र दुई जित नै आत्मसात गरे । तर विपक्षीविरुद्ध वागमतीले ६५ स्कोर र कर्णालीले ५९ स्कोर गरेका थिए । यही स्कोरका आधारमा नै वागमती विजेता बन्यो । आफ्नो समूहमा कर्णालीले लुम्बिनी प्रदेशलाई २४–० र मधेसलाई २५–० ले हरायो । वागमतीले भने मधेसलाई ३५–० र लुम्बिनीलाई २०–० स्कोरले हरायो । अर्को समूह ‘बी’ बाट आर्मी र सशस्त्र प्रहरी बलको एपिएफ सेमिफाइनलनजिक देखिएका छन् । तीन टोली रहेको समूहमा आर्मीले एपिएफमाथि १४–५ स्कोरले हराउँदै समूह विजेताको दाबेदारी प्रश्तुत ग¥यो । –न्युज एजेन्सी नेपाल

    images
    प्रकाशित मिति :चैत्र २८ २०८२ शनिवार - २०:११:३५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij