२०८२ चैत्र २६ गते बिहिवार
१. सरकार व्यवसायीमैत्री हुनुपर्छ, ५ वर्षलाई ‘निर्यात वर्ष’ घोषणा गरौँः सांसद बराल
नेकपा एमालेका सांसद गुरु बरालले मुलुकको आर्थिक समृद्धिका लागि सरकार व्यवसायीमैत्री हुनुपर्नेमा जोड दिनुभएको छ । उद्योगी तथा व्यवसायीहरूसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै सांसद बरालले अनावश्यक हस्तक्षेप र दबाबले पुँजी र उद्यमी पलायन हुने (क्यापिटल फ्लाई) खतरा रहेको भन्दै राज्यले कानून र नियमनमार्फत व्यवसायीलाई प्रोत्साहित गर्नुपर्ने बताउनुभएको हो । सांसद बरालले निजी क्षेत्रले उठाएका विभिन्न क्षेत्रगत समस्याहरूमा आफ्नो र पार्टीको धारणा राख्दै आगामी ५ वर्षलाई ‘निर्यात वर्ष’ घोषणा गर्नुपर्ने प्रश्ताव सकारात्मक रहेको र यसका लागि पहल गर्ने प्रतिवद्धता जनाउनु भयो । सांसद बरालले करको दर नभई दायरा बढाउनुपर्ने बताउनु भयो । साथै, इन्टरनेट अहिले जनताको अत्यावश्यक सेवा भइसकेको उल्लेख गर्दै यसमा लाग्ने अतिरिक्त ३० प्रतिशत शुल्क घटाएर इन्टरनेटलाई सर्वसुलभ र सस्तो बनाउनुपर्नेमा उहाँको जोड थियो । सांसद बरालले स्वदेशी काठ कुहिएर जाने तर विदेशबाट फर्निचर आयात हुने विरोधाभासपूर्ण अवस्था अन्त्य गर्न प्लाइउड उद्योगको प्रवद्र्धन गर्ने बताउनु भयो ।
२. माईतीघरमा अभियानकर्मीको प्रश्नः जनताको लागि सिंहदरबारको ढोका किन बन्द ?
चुरे तथा वन जंगल संरक्षण अभियान नेपालले चुरे तथा वन जंगल संरक्षणको माग गर्दै माईतीघरमा प्रदर्शन गरेका छन् । वन जंगलको संरक्षण, दलित तथा भूमिहीन सुकुम्बासीहरूको भूमि अधिकार, र प्राकृतिक स्रोतको अवैध दोहन रोक्न माग गर्दै अभियानकर्मीहरू सडकमा उत्रिएका हुन् । प्रदर्शनकारीहरूले चुरे क्षेत्रको विनाश रोक्नुपर्ने, सिर्सिया नदीको बढ्दो प्रदूषण र अतिक्रमण नियन्त्रण गर्नुपर्ने, तथा ढुङ्गा, गिट्टी र बालुवाको अवैध उत्खनन तत्काल बन्द गर्नुपर्ने माग गरेका छन् । उनीहरूले अवैध रूपमा सञ्चालित क्रसर उद्योगहरूलाई कानुनी दायरामा ल्याई बन्द गर्न सरकारसँग जोडदार माग गरेका छन् । जनताको सरकार जनताको लागि सिंहदरबारको ढोका किन बन्द ? राष्ट्रको समस्या कहिले देख्छौ सरकार ? जस्ता प्रश्नहरू प्रदर्शनकारीका प्लेकार्डमा कोरिएका छन् ।
३. निजी क्षेत्रलाई आश्वासन र प्रतिवद्धता होइन, काम गर्ने वातावरण चाहिन्छः सांसद दुलाल
नेपाल कम्युनिष्ट पार्टीका सांसद युवराज दुलालले निजी क्षेत्रलाई केवल आश्वासन र प्रतिवद्धता मात्र नभई काम गर्ने ठोस वातावरण आवश्यक रहेको बताउनुभएको छ । निजी क्षेत्रद्वारा आयोजित एक कार्यक्रममा बोल्दै सांसद दुलालले देशको समृद्धिका लागि निजी क्षेत्रको भुमिका महत्वपूर्ण हुने बताउनुभएको हो । उहाँले आगामी बजेटमा उनीहरूलाई कसरी प्रोत्साहन गर्ने भन्ने विषय केन्द्र भागमा हुनुपर्नेमा जोड दिनुभयो । सांसद दुलालले उद्योगी र व्यवसायीहरूका लागि मुख्य कुरा नीतिगत स्थायित्व भएको उल्लेख गर्नुभयो । वातावरण निर्माणको अर्थ स्पष्ट पार्दै उहाँले अर्थतन्त्रको आकार वृद्धि गर्न, उत्पादन बढाउन, करको दायरा विस्तार गर्न र आयातलाई निरुत्साहित गर्न राज्यले केन्द्रमा रहेर सोच्नुपर्ने बताउनु भयो । आन्तरिक उत्पादन र स्वदेशी उद्यमीहरूलाई प्रोत्साहन गर्नु नै राज्यको मुख्य दायित्व हुने उहाँको भनाइ छ ।
४. निजी क्षेत्र राज्यको मेरुदण्ड हो, यसलाई हेर्ने दृष्टिकोणमा स्पष्टता चाहिन्छः सांसद महर
प्रतिपक्षी दल नेकपा एमालेका सांसद ऐन महरले निजी क्षेत्र राज्यको मेरुदण्ड भएकाले राज्यले यसलाई हेर्ने दृष्टिकोण र भिजनमा स्पष्टता ल्याउनुपर्नेमा जोड दिनुभएको छ । राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै सांसद महरले नीति भन्दा पहिले राज्यको बुझाइ र दृष्टिकोण प्रधान हुने बताउनुभएको हो । उहाँले राज्यको व्यवहार कहिले निजी क्षेत्रलाई अँगालो हाल्ने र कहिले दुश्मन जस्तो देख्ने खालको भएको भन्दै त्यसको आलोचना गर्नुभयो । व्यवसायीलाई ‘दलाल’ वा ‘कमिसनखोर’ को रूपमा मात्र हेर्ने प्रवृत्ति अन्त्य हुनुपर्ने उहाँको तर्क थियो । सांसद महरले कर प्रणालीका बारेमा चर्चा गर्दै करको दर बढाउनु भन्दा दायरा बढाउनु पर्ने निजी क्षेत्रको मागमा आफू सहमत रहेको बताउनु भयो । व्यवसायलाई प्रतिष्ठित बनाउन निजी क्षेत्र आफैँ पनि जिम्मेवार हुनुपर्ने महरको भनाइ छ । देशको डरलाग्दो व्यापार घाटा कम गर्न आयातमुखी भन्दा निर्यातमुखी व्यवसायमा केन्द्रित हुन उहाँले आग्रह गर्नुभयो । विशेष गरी कृषि र पर्यटनमा ठूला लगानीकर्ताहरू आकर्षित हुनुपर्ने उहाँको सुझाव छ ।
५. आर्मी र पुलिस शिर्ष दुई स्थानको होडमा
विनोद भण्डारीको शतकमा त्रिभूवन आर्मी क्लवले प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा छैटौं जित निकाल्दै अंकतालिकाको शिर्ष स्थानमा यथावत छ । जनकपुरमा बिहीवार भएको खेलमा आर्मीले सुदूरपश्चिम प्रदेशमाथि सात विकेटको जित निकाल्दा विनोदले शतक पूरा गरे । एक मात्र अपराजित टोली आर्मीको सातौं खेलमा छैटौं जित हो । रामजानकी क्रिकेट मैदानमा सुदूरपश्चिमले एक सय ५१ रनको झिनो लक्ष्य दियो । त्यो लक्ष्य आर्मीले २०.२ ओभरमा मात्र तीन विकेटको क्षतिमा पूरा ग¥यो । ओपनर विनोदले एक सय रन जोड्दै जितको आधार बनाए । उनले ७५ बलमा १२ चौका र पाँच छक्का प्रहार गरे । दोस्रो ओभरमै ओपनर तृतराज दास ५ रनमा आउट भए । यससँगै आर्मीको शुवआत राम्रो हुन सकेन । दोस्रो विकेटका लागि विनोदले भीम सार्कीसँग ८७ रनको महत्वपूर्ण साझेदारी गरे ।
६. अमेरिका–इजरायली आक्रमणमा इरानको शिर्ष विश्वविद्यालय क्षतिग्रस्त
तेहरानस्थित शरीफ युनिभर्सिटी अफ टेक्नोलोजी अमेरिका–इजरायली आक्रमणमा ध्वस्त भएको छ । यो इरानको शिर्ष विश्वविद्यालय समेत हो । इरानले यी आक्रमणहरूको निन्दा गर्दै नागरिक र वैज्ञानिक सुविधाहरूलाई जानाजानी निशाना बनाइएको बताएको छ । यसलाई युद्ध अपराधको स्पष्ट उदाहरण भनेको छ । हवाई आक्रमणले सूचना प्रविधि केन्द्रको भवन र शैक्षिक केन्द्रको मस्जिद नजिकै रहेको ग्यास सबस्टेशनमा ठूलो क्षति पु¥याएको छ । इरानका विज्ञान, अनुसन्धान र प्रविधि मन्त्रीकाअनुसार फेब्रुअरीको अन्त्यमा अमेरिका–इजरायली आक्रमण शुरु भएदेखि ३० भन्दा बढी इरानी विश्वविद्यालयहरूमा प्रत्यक्ष आक्रमण भइसकेको छ ।
७. इरान पाकिस्तानमा हुने वार्तामा सहभागी हुने
पाकिस्तानी प्रधानमन्त्रीको कार्यालयले बुधवार जारी गरेको विज्ञप्तिअनुसार इरानी राष्ट्रपति मसुद पेजेस्कियानले पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफसँगको टेलिफोन कुराकानीका क्रममा इस्लामावादमा हुने वार्तामा इरान सहभागी हुने पुष्टि गर्नुभएको छ । विज्ञप्तिमा भनिएको छ कि सरिफले बुधवार पेजेस्कियानसँग टेलिफोन वार्ता गर्नुभएको थियो । जसमा उहाँले युद्धविराममा सहमत भएको र यसै हप्ताको अन्त्यमा इस्लामावादमा इरान र संयुक्त राज्य अमेरिकाबीचको वार्ता आयोजना गर्ने पाकिस्तानको प्रश्ताव स्वीकार गरेकोमा इरानी नेतृत्वप्रति गहिरो प्रशंसा व्यक्त गर्नुभयो । आफ्नो तर्फबाट, इरानी राष्ट्रपतिले इस्लामावादमा हुने वार्तामा इरान सहभागी हुने कुराको पुष्टि गर्नुभयो ।
८. इरानमा अमेरिकी–इजरायली हमलाबाट १३० भन्दा बढी सांस्कृतिक सम्पदा क्षेत्रमा क्षति
अमेरिकी र इजरायली हमलापछि इरानको सांस्कृतिक सम्पदामा व्यापक क्षति पुगेको र देशका २० वटा प्रान्तका १३१ वटा ऐतिहासिक स्थलहरू प्रभावित भएको एक इरानी मन्त्रीले बताएका छन् । इरानका सांस्कृतिक सम्पदा, पर्यटन तथा हस्तकला मन्त्री सैयद रेजा सालेही–अमिरीले तेहरानका धेरै प्रमुख ऐतिहासिक स्थलहरू सबैभन्दा बढी प्रभावित भएको जानकारी दिनुभयो । इरानले आफ्नो सांस्कृतिक सम्पदाको विनाशप्रति विश्वव्यापी ध्यान आकर्षण गर्न संयुक्त राष्ट्र संघ र युनेस्को लगायतका अन्तर्राष्ट्रिय निकायहरूमा अपील गरेको छ । मन्त्री सालेही–अमिरीले भने, कुल मिलाएर २० वटा प्रान्तका हाम्रा १३१ वटा स्मारकहरू क्षतिग्रस्त भएका बताउनु भयो । सबैभन्दा गम्भीर क्षति तेहरानमा भएको छ ।
९.इरानसँगको शान्ति वार्ताका लागि अमेरिकी उपराष्ट्रपति जेडी भान्स पाकिस्तान आउने
अमेरिकी उपराष्ट्रपति जेडी भान्सले पाकिस्तानमा इरानसँग हुने प्रत्यक्ष शान्ति वार्ताका लागि अमेरिकी टोलीको नेतृत्व गर्ने ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेविटले बुधवार जानकारी दिनुभएको छ । यो वार्ता शनिवार बिहानदेखि शुरु हुने अपेक्षा गरिएको छ । ह्वाइट हाउसको प्रेस ब्रिफिङमा लेविटले राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ विट्कोफ र उहाँका ज्वाइँ जेरेड कुश्नर पनि वार्तामा सहभागी हुनु हुनेछ । यसअघि पाकिस्तानले इस्लामाबादमा अमेरिकी र इरानी वार्ताकारहरू बीच शुक्रवार नै वार्ता आयोजना गर्ने प्रश्ताव गरेको थियो ।
१०. गाजा सिटीमा इजरायली आक्रमणमा पत्रकारसहित ४ प्यालेस्टाइनी मारिए
प्यालेस्टाइनी सुरक्षा र चिकित्सा स्रोतकाअनुसार बुधवार गाजा सिटीमा इजरायली हवाई आक्रमणका दुई छुट्टाछुट्टै घटनामा एक पत्रकारसहित चार प्यालेस्टाइनी मारिएका छन् । गाजा नागरिक रक्षाले एक संक्षिप्त विज्ञप्तिमा पश्चिमी गाजा सिटीको रसिद स्ट्रिटमा एक नागरिक सवारी साधनलाई निशाना बनाएपछि यसका टोलीहरूले दुईवटा शव फेला पारेका बताएका छन् । प्यालेस्टाइनी सुरक्षा स्रोतहरूले मृतकहरूमध्ये एक पत्रकार मोहम्मद विसाह रहेको बताएका छन् । जसले दोहास्थित सार्वजनिक मामिला टेलिभिजन नेटवर्क अल जजीरा मुबासेरका लागि काम गर्दथे । अल जजीराले पछि आफ्ना पत्रकार विसाहको मृत्युको पुष्टि ग¥यो । अर्को घटनामा गाजा सिटीको जेतुन छिमेकको पूर्वमा रहेको कुवेत राउन्डअबाउट नजिकै नागरिकहरूको भेलामा इजरायली हवाई आक्रमणमा दुई प्यालेस्टाइनी मारिएका थिए । इजरायली सेनाले यी दुई घटनाबारे कुनै टिप्पणी गरेको छैन ।
११. पाकिस्तानी प्रधानमन्त्रीकाअनुसार अमेरिका–इरान युद्धविराम लेबनानसहित सबै ठाउँमा लागू हुने
पाकिस्तानी प्रधानमन्त्री शहबाज शरीफले बुधवार इरान र अमेरिका तथा उनीहरूका सहयोगीहरूबीच तत्काल युद्धविरामको सहमति भएको घोषणा गर्नुभएको छ । यो लेबनानसहित सबै ठाउँमा लागू हुने बताउनु भयो । प्रधानमन्त्रीले यो युद्धविराम तुरुन्तै लागू भएको बताउनु भयो । आगामी इस्लामावाद वार्ताले दिगो शान्ति स्थापना गर्ने आशा व्यक्त गर्नुभयो ।
१२. मध्य पूर्वको द्वन्द्वका कारण तान्जानियामा इन्धनको मूल्य वृद्धिले जनता मर्कामा
इन्धनको मूल्यमा भएको तिब्र वृद्धिले तान्जानियामा मानिसहरूको जीविकोपार्जनमा दबाब सिर्जना गरेको छ । जसले यातायात व्यवसायी, साना व्यवसाय र घरायसी खर्चलाई असर गरेको छ । संयुक्त राज्य अमेरिका, इजरायल र इरान सम्मिलित मध्य पूर्वमा बढ्दो भू–राजनीतिक तनावका कारण इन्धनको मूल्य बढेको हो । विश्वव्यापी तेल आपूर्ति श्रृंखलामा आएको अवरोधले कच्चा तेलको मूल्य आकाशिएको छ र तान्जानिया जस्ता इन्धन आयात गर्ने देशहरूलाई असर गरेको छ । ऊर्जा र जल उपयोगिता नियामक प्राधिकरणको पछिल्लो समीक्षाअनुसार देशले हालैका वर्षहरूमा इन्धनको मूल्यमा सबैभन्दा ठूलो वृद्धिको सामना गरिरहेको छ ।
१३. मध्य बेरुतमा इजरायलको भीषण हवाई आक्रमण
इजरायलले लेबनानको मध्य बेरुतस्थित तल्लेट एल खयात क्षेत्रको एउटा भवनलाई लक्षित गरी नयाँ हवाई आक्रमण गरेको छ । इजरायली सेनाले बेरुतमा एक हिजबुल्लाह कमाण्डर लाई निशाना बनाएको बताएको छ । सेनाकाअनुसार दक्षिणी लेबनानमा भएको भिडन्तमा एक इजरायली सैनिकको मृत्यु भएको छ भने अन्य पाँच जना घाइते भएका छन् । यससँगै मार्च २ देखि लेबनानमा मारिने इजरायली सैनिकहरूको कुल संख्या १२ पुगेको छ । इजरायलको कान टिभी न्युजले जनाएअनुसार मंगलवार लेबनानी गाउँ अत–तायबाहमा इजरायली छापा मार्ने क्रममा हिजबुल्लाह सदस्यहरूले गोली चलाउँदा एक सैनिकको मृत्यु भएको र पाँच जना घाइते भएका थिए ।
१४. ‘स्नातक तहसम्म नेपाली विद्यार्थीलाई नेपालमै पढाउनुपर्छ’
नेपाली विद्यार्थीलाई स्नातक तहसम्म नेपालमा नै पढाउने वातावरण बनाउनुपर्नेमा सरोकारवालाहरुले जोड दिनुभएको छ । बिहीवार त्रिभूवन विश्वविद्यालयले काठमाडांैमा आयोजना गरेको कार्यक्रममा सहभागीहरुले नेपाली विद्यार्थीलाई नेपालमा नै अड्याउने र विदेशी विद्यार्थी पनि आकर्षित गर्नेगरी विश्वविद्यालयहरुले कार्यक्रमहरु ल्याउनुपर्नेमा जोड दिनुभएको हो । पूर्र्वाञ्चल विश्वविद्यालयका उपकुलपति डा. विजुकुमार थपलियाले मेडिकल शिक्षामा ठूलो सम्भावना रहेको बताउनु भयो । उहाँले मेडिकल शिक्षामा भारतका विद्यार्थीलाई नेपालमा भित्र्याउन सकिने उल्लेख गर्नुहुँदै बंगलादेश, श्रीलंका लगायतका अन्य देशका विद्यार्थीलाई पनि टार्गेट गर्नसक्ने बताउनु भयो । उहाँले नेपालमा युनिक विषयलाई फोकस गरेर पाठ्यक्रम बनाएमा विद्यार्थीलाई आकर्षित गर्ने सकिने उल्लेख गर्नुभयो । उहाँले पूर्वाञ्चल विश्वविद्यालयमा एमविविएस प्रोग्राम शुरु गर्न लागेको जानकारी दिनुभयो ।
१५. आर्थिक गणनामा खटिने सुपरीवेक्षक तथा गणकहरुको लागि तालिम शुरु
राष्ट्रिय तथ्याङ्क कार्यालयले गर्ने राष्ट्रिय आर्थिक गणनामा खटिने सुपरीवेक्षक तथा गणकहरुको लागि तालिम शुरु गरिएको छ । कार्यलयले देशभर बिहीवारदेखि तालिम शुरु गरेको हो । तालिम चैत ३० गतेसम्म सञ्चालन हुने र वैशाख २ गतेबाट गणकहरु तथ्याङ्क संकलनमा खटिनेछन् । आर्थिक गणना सञ्चालनको लागि फिल्डमा खटिने गणकहरुको तथ्याङ्कमा एकरुपता ल्याउन, सही सूचना तथा विवरणहरु संकलन गर्ने उद्देश्यले तालिम सञ्चालन गरेको जिल्ला आर्थिक गणना कार्यलय काठमाडौं (ग) स्वयम्भूका जिल्ला आर्थिक गणना अधिकारी किशोर केसीले जानकारी दिनुभयो । उहाँले तथ्याङ्क संकलन दुई किसिमबाट गर्ने बताउनु भयो । मुख्य प्रश्नावली विधिमा गणकहरुले प्रश्नवाली सोध्ने र त्यसमा भरेर संकलन गर्ने गरिन्छ ।
१६. उपसभामुखकी उम्मेद्वार रुवी भन्छिन्, ‘मलाइ अलि ठूलो जिम्मेवारी भयो तर म सक्छु’
प्रतिनिधि सभाको उपसभामुख पदमा उम्मेद्वार दिनुभएकी श्रम संस्कृति पार्टीकी सांसद रुवीकुमारी ठाकुरले आफूलाई पार्टीले ठूलो जिम्मेवारी दिएको बताउनुभएको छ । उम्मेद्वारी दर्तापछि बिहीवार पत्रकारहरुसँग कुराकानी गर्नेक्रममा उहाँले यस्तो बताउनुभएको हो । उहाँले आफूलाई ठूलो जिम्मेवारी दिएपनि पूरा गर्नसक्ने बताउनु भयो । उहाँले देशको लागि आफूले सकेको सबै गर्ने बताउनु भयो । उहाँले भुँईको मान्छेलाई पार्टीले यतिछिट्टै ठूलो तहमा पु¥याएको पनि उल्लेख गर्नुभयो । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफूलाई समर्थन गरेर सरप्राईज दिएको दिएको उहाँको भनाई छ । उहाँले मधेशको छोरीलाई अगाडी बढाउन उहाँहरुले सहयोग गरेको हुनसक्ने बताउनु भयो ।
१७. राप्रपा संसदीय दलका नेता शाही भन्छन्, ‘रास्वपा सभापतिले समर्थन गर्ने वचन दिएपछि उपसभामुखमा उम्मेद्वारी दिएका हौँ’
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रापा) का संसदीय दलका नेता ज्ञानबहादुर शाहीले सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामीछानले सहयोग गर्ने वचन दिएपछि मात्रै आफूहरुले उपसभामुखमा उम्मेद्वारी दिएको बताउनुभएको छ । बिहीवार उपसभामुखको उम्मेद्वारी दर्तापछि पत्रकारहरुसँग कुराकानी गर्नेक्रममा उहाँले रास्वपा सभापति लामीछाने आफैँले फोन गरेर पार्टीको समर्थन रहेने वचन दिएको बताउनुभएको हो । लामिछानेको फोनपछि आफूहरुले उपसभामुखमा सरस्वती लामालाई उम्मेद्वार बनाएको उहाँको भनाई छ । रास्वपाले भने श्रम संस्कृति पार्टी (श्रसपा)की सांसद रुवीकुमारी ठाकुरलाई समर्थन गरेको छ । रास्वपाले राप्रपालाई समर्थन नगरेपछि राप्रपा नेता शाहीले राजनीतिमा कहिले कहीँ तलमाथी हुने बताउनु भयो ।
१८. ‘सिंहदरबारभित्र बेवारिसे पुरानो संसद भवनको उपयोगबारे संसदीय समितिले सरकारलाई गाइड गर्नुपर्छ’
राष्ट्रिय सभाका सांसदहरुले ऐतिहासिक महत्वका संरचनाको संरक्षण तथा सरकारको सय दिने योजनाबारे स्पष्ट योजनासहित संसदीय समिति अघि बढ्नुपर्ने बताएका छन् । बिहीवार सिंहदरबारमा बसेको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा सांसदहरूले यस्तो धारणा राखेका हुन् । बैठकमा बोल्दै नेपाली काँग्रेसका सांसद पदम परियारले ऐतिहासिक महत्व बोकेको पुरानो संसद भवनको संरक्षण तथा पुनर्निर्माण भइरहेको उल्लेख गर्दै यसको भावी उपयोगबारे राज्यलाई स्पष्ट मार्गदर्शन आवश्यक रहेको बताउनु भयो । उहाँले पुस्तकालय ऐनबारे समेत समितिले थप गम्भीर भएर छलफल अगाडि बढाउन आवश्यक रहेको बताउनुभयो । आफू संयोजक रहेको पुरातत्व संरक्षण संसदीय उपसमितिले समेत पुस्तकालय ऐनमा काम गरिरहेको उहाँको भनाइ छ ।
१९. उपसभामुख पदमा राप्रपाकी सरस्वती लामाको उम्मेदवारी
प्रतिनिधि सभाको उपसभामुख पदमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सरस्वती लामाले उम्मेदवारी दर्ता गराउनुभएको छ । समानुपातिक सांसद लामाले बिहीवार तोकिएको समयभित्र उपसभामुख पदमा उम्मेदवारी दर्ता गराउनुभएको हो । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीको समर्थनमा नै उम्मेदवारी दर्ता गएको राप्रपाकी प्रमुख सचेतक खुस्बु ओलीले जानकारी दिनुभयो । सभाको सभामुख रास्वपाबाट भएको कारण संवैधानिक व्यवस्थाअनुसार फरक दल र लिंगको व्यक्ति उपसभामुख हुनुपर्ने व्यवस्था छ । ओलीले आफूले उपसभामुख पद लिन नचाहेकै कारण पार्टीले लामालाई अघि सारेको जिकिर समेत गर्नुभयो ।
२०. उपसभामुख पदमा श्रम संस्कृति पार्टीकी सांसद ठाकुरको उम्मेदवारी
प्रतिनिधि सभाको उपसभामुख पदमा श्रम संस्कृति पार्टीकी सांसद रुवीकुमारी ठाकुरले उम्मेदवारी दिनुभएको छ । ठाकुरले सत्तारुढ दल रास्वपाको समर्थनमा बिहीवार संघीय संसद सचिवालयमा उम्मेदवारी दर्ता गराउनुभएको हो । रास्वपाका सांसद अशोक कुमार चौधरीको समर्थनमा उम्मेदवारी दर्ता गराउनुभएको हो । यसअघि राप्रपाकी सांसद सरस्वती लामाले समेत उपसभामुखमा उम्मेदवारी दिनुभएको थियो ।
२१. भेपमार्फत सुन तस्करी प्रकरणः पूर्वसभामुख महरासहित २९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा, झन्डै आठ करोड बिगो माग
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विद्युतीय चुरोट (भेप) भित्र लुकाएर सुन तस्करी गरेको अभियोगमा पूर्वसभामुख कृष्णबहादुर महरासहित २९ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । बिहीवार पूर्वसभामुख महरा, उनका छोरा राहुल महरा, सहसचिव अरुण पोखरेल, चार विदेशी नागरिक तथा एक नेपाली कम्पनीसहित २९ जना अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको अदालतका उपरजिस्ट्रार एवं प्रवक्ता कृष्णशरण लामिछानेले जानकारी दिनुएको हो । अख्तियारले उनीहरुसँग ७ करोड ७८ लाख ६८ हजार ९५ रुपैयाँ १९ पैसा बिगो दाबी गरेको पनि लामिछानेले जानकारी दिनुभयो । प्रवक्ता लामिछानेकाअनुसार मुद्दामा संलग्नलाई ‘मुख्य मतियार’ र ‘कसुरका सहयोगी’ गरी दुई वर्गमा विभाजन गरेर अभियोगपत्र दायर गरिएको छ ।
२२. नेपालको उच्च शिक्षालाई अन्तर्राष्ट्रियकरण गर्न भिसामा नै जटिलता छः पूर्वशिक्षामन्त्री भट्टराई
पूर्वशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले नेपालको उच्च शिक्षालाई अन्तर्राष्टियकरण गर्नका लागि त्यसको सुरक्षाको प्रत्याभुति सरकारले दिनुपर्ने बताउनुभएको छ । बिहीवार त्रिभूवन विश्वविद्यालयले काठमाडांैमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले नेपालको उच्च शिक्षालाई बाहिरका विद्यार्थीलाई भित्र्याउनका लागि विश्वविद्यालयहरु सुरक्षित छन भन्ने कुराको प्रत्याभुति गराउने कुरा सबै भन्दा चुनौतिको विषय भएको स्पष्ट पार्नु भयो । पूर्वशिक्षामन्त्री भट्टराईले नेपालमा उच्च शिक्षा हासिल गर्नका लागि भिसा प्रक्रियामा देखिएका जटिलता पनि तत्काल हटाउनुपर्नेमा जोड दिनु भयो । सो भिसा प्रक्रियामा देखिएको जटिलता हटाउनका लागि आफूले कानूनको मस्यौदा तयार पारेपनि सो मस्यौदाले हालसम्म कानूनी मान्यता पाउन नसकेको उहाँको भनाई थियो ।
२३. सरकारलाई काँग्रेस÷एमालेका सांसदहरुले भनेः गैरकानूनी गतिविधि नगर्नू
राष्ट्रिय सभाका सांसदहरुले सरकारलाई गैरकानूनी गतिविधि नगर्न सचेत गराएका छन् । राष्ट्रिय सभाका नेपाली काँग्रेसका सांसद ललितजंग शाही, नेकपा (एमाले)का सांसद सोनाम ग्याल्जेन शेर्पालगायतका सांसदहरुले सरकारले विना प्रमाण पक्राउ गर्ने, भ्रष्टाचारको मुद्दा लगाउने लगायतका गैरकानूनी काम गरेको भन्दै सरकारको आलोजना गरेका हुन् । बिहीवार बसेको राष्ट्रिय सभा अन्तर्गतको संघीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै नेकपा एमालेका सांसद शेर्पाले विना प्रमाण थुनछेक गर्नेलगायतका गैरकानूनी काम नगर्न सरकारलाई दवाव दिनुभयो । लोकप्रियतावादमा हौसियर सरकारले जथाभावी काम गर्न नहुने उहाँको भनाई थियो ।
२४. ‘सहकारी समस्या समाधानमा तीन तहबीच समन्वय आवश्यक’
सहकारीको समस्या जटिल रहेको भन्दै प्रदेशका मन्त्रीहरुले समाधानका लागि तीनै तहको समन्वय जरुरी रहेको बताउनुभएको छ । बिहीवार संघ, प्रदेश तथा स्थानीय तह (समन्वय तथा अन्तरसम्बन्ध) ऐन, २०७७ अनुसार सहकारीतर्फको विषयगत समितिको पाँचौँ बैठकमा सहकारी क्षेत्रका समस्या समाधान, वचतकर्ताको रकम फिर्ता तथा तीनै तहका सरकारबीच समन्वयका विषयमा छलफल भएको छ । बैठकमा कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारी मन्त्री इस्राईल मन्सुरीले साना वचतकर्ताको रकम फिर्ता गर्ने प्रक्रिया शुरु गर्न लागिएको जानकारी दिनुभयो । उहाँकाअनुसार १ लाख रुपैयाँसम्मका साना वचतकर्तालाई वचत फिर्ता गर्ने प्रयास भइरहेको छ । संघीय सरकारले अनुदान सहयोग गरेमा रकम बढाएर दिन सकिने तयारी रहेको पनि उहाँले बताउनु भयो ।
२५. आगामी आर्थिक वर्षदेखि लागू गर्न सातौँ भन्सार सुधार योजना बन्दै, निजी क्षेत्रसँग सुझाव माग
भन्सार विभागले आगामी आर्थिक वर्ष २०८३÷८४ देखि सातौँ भन्सार सुधार योजना बनाएर कार्यान्वयनमा ल्याउने भएको छ । चालु आर्थिक वर्षमा छैटौँ पञ्चवर्षीय भन्सार सुधार योजना सम्पन्न हुन लागेकाले विभागले नयाँ रणनीतिक योजनाको तयारी थालेको हो । उद्योगी तथा व्यवसायीहरूसँगको एक अन्तरक्रिया कार्यक्रममा बोल्दै भन्सार विभागका महानिर्देशक श्यामप्रसाद भण्डारीले नयाँ भन्सार योजना बनाउने काम चलिरहेको बताउनुभएको छ । उहाँकाअनुसार आगामी योजनाको मुख्य लक्ष्य ‘उत्पादनमुखी अर्थतन्त्र’ निर्माणमा केन्द्रित हुनेछ । महानिर्देशक भण्डारीकाअनुसार सातौँ सुधार योजनाले भन्सारका दरहरूको पुनरावलोकन र व्यापार सहजीकरणलाई प्राथमिकता दिनेछ ।
२६. आर्थिक गतिविधि चलायमान बनाउन र लगानीमैत्री वातावरण निर्माण गर्ने कार्यमा सफल भएँः ढकाल
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले महासंघको नेतृत्व सम्हाल्दा देशको अर्थतन्त्र अत्यन्त चुनौतीपूर्ण अवस्थामा रहेको बताउँदै सुधारका लागि धेरै प्रयत्न गरेको बताउनुभएको छ । कोभिड–१९ महामारी, अन्तर्राष्ट्रिय द्वन्द्व, उच्च ब्याजदर, तरलता अभाव, लगानीमा निराशा र बारम्बारको सरकार परिवर्तनका कारण नीतिगत अन्योलले अर्थतन्त्रलाई कमजोर बनाएको बताउँदै उहाँले त्यस्तो जटिल अवस्थामा निजी क्षेत्रको मनोबल जोगाउने, आर्थिक गतिविधि चलायमान बनाउने र लगानीमैत्री वातावरण निर्माण गर्ने कार्यमा आफ्नो नेतृत्व सफल भएको बताउनु भयो । राजधानीमा भएको एक कार्यक्रममा उहाँले तीन वर्षको कार्यकालमा आर्थिक संकट समाधान, स्वदेशी तथा विदेशी लगानीको वातावरण निर्माण, सार्वजनिक–निजी साझेदारी सुदृढीकरण, दक्ष जनशक्ति उत्पादन तथा रोजगारी सिर्जना र व्यवसायीहरूको सम्मान तथा सुरक्षाको मुद्दालाई अघि बढाउन सफल भएको बताउनु भयो ।
२७. आर्थिक सुधार गरेमात्रै राजनीतिक स्थिरता कायम हुन्छः उपाध्यक्ष ढकाल
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकालले मुलुकमा जस्तोसुकै राजनीतिक व्यवस्था आएपनि आर्थिक विकास र निजी क्षेत्रको प्रबद्र्धन विना सरकार र व्यवस्था टिकाउ हुन नसक्ने बताउनुभएको छ । राजधानीमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा बोल्दै उपाध्यक्ष ढकालले संघीय संरचना र नयाँ संविधानले जनतामा जगाएको आशा आर्थिक क्षेत्रमा नदेखिएको बताउँदै आर्थिक सुधारमा नयाँ सरकार लाग्नुपर्ने बताउनुभएको हो । उपाध्यक्ष ढकालले निजी क्षेत्रलाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउनुपर्नेमा जोड दिँदै गत भदौ २४ गतेको निजी क्षेत्रमाथि आक्रमण गर्नेलाई कारबाही हुनुपर्ने बताउनु भयो । निजी क्षेत्रलाई मात्र दोषी देखाउने र आक्रमण गर्ने परिपाटीले लगानीको वातावरण बिगार्ने उहाँको भनाइ रहेको छ । ढकालले भौतिक पूर्वाधारको अवस्थाप्रति टिप्पणी गर्दै ढकालले जताततै सडक खनिए पनि प्रमुख राजमार्गहरूको अवस्था दयनीय रहेको औंल्याउनु भयो ।
२८. युद्धले क्षतिग्रस्त मध्यपूर्वको पुनर्निर्माणमा नेपाली सिमेन्ट र निर्माण सामग्री निर्यात गर्न सकिन्छः शरदविक्रम राणा
व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक शरदविक्रम राणाले मध्यपूर्वमा देखिएको पछिल्लो तनाव र द्वन्द्वका बीच नेपालका लागि निर्यातको ठूलो अवसर सिर्जना भएको बताउनुभएको छ । खाडी क्षेत्रमा जारी युद्ध र तनावले तेल आपूर्तिमा समस्या देखिए पनि पुनर्निर्माणका लागि आवश्यक निर्माणजन्य सामग्रीको माग ह्वात्तै बढेको उहाँको भनाइ छ । राजधानीमा आयोजित उद्योगी व्यवसायीसँगको छलफलमा कार्यकारी निर्देशक राणाले मध्यपूर्वका देशहरूले पुनर्निर्माणका लागि नेपाली सिमेन्टको माग गरिरहेको बताउनु भयो । सार्वजनिक मञ्चहरूमा व्यवसायीहरूले नेपाल सिमेन्टमा आत्मनिर्भर भएको र निर्यातका लागि पर्याप्त मौज्दात रहेको दाबी गरे पनि विदेशी माग आउँदा आपूर्ति गर्न नसकिएकोमा उहाँले आश्चर्य व्यक्त गर्नुभयो । मध्यपूर्वका इरान र इजरायल जस्ता देशहरूले ठूलो परिमाणमा निर्माण सामग्रीको माग गरिरहेको उल्लेख गर्दै राणाले नेपालले राम्रो तयारी गरे यसको फाइदा लिनसक्ने बताउनु भयो ।
२९. सहकारी पीडितको वचत फिर्ता गर्न तीनै तहका सरकारले कोष स्थापना गरौँः सचिव भुजेल
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव मदन भुजेलले सहकारी पीडितको वचत फिर्ता गर्न संघ, प्रदेश र स्थानीय तहले आ–आफ्नो स्तरबाट कोष स्थापना गर्नुपर्ने बताउनुभएको छ । संघ प्रदेश तथा स्थानीय तह (समन्वय तथा अन्तरसम्बन्ध ऐन, २०७७ अनुसार) सहकारीतर्फको विषयगत समितिको पाँचौं बैठकमा सम्बोधन गर्दै सचिव भुजेलले सहकारीमा देखिएको समस्या डरलाग्दो भएको र यो संघले मात्रै हल गर्न नसक्ने बताउनुभएको हो । उहाँकाअनुसार केन्द्रमा कोष स्थापना गरेर साना सहकारी वचताकर्ताको सहकारीको रकम फिर्ता गर्न थालिएको छ । सोही मोडालिटी मै प्रदेश र स्थानीय तहले पनि काम अघि बढाउनुपर्छ ।सचिव भुजेलले प्रदेश तथा स्थानीय तहले आफ्नो बजेटबाट यस्तो कोष बनाउनुपर्ने बताउनु भयो ।
३०. सिर्जना पौडेल केसीको विभत्स हत्याः बीच सडकमा टाउकोमा प्रहार गरी हत्यारा फरार
बुधवार साँझ करिव ७ बजे पोखरामा एक महिलाको बीच सडकमा विभत्स हत्या भएको छ । सिर्जना पौडेल केसी नाम गरेकी ती महिलालाई अज्ञात व्यक्तिले टाउकोमा घातक प्रहार गरी फरार भएको प्रत्यक्षदर्शीहरूले बताएका छन् । घटना साँझ ७ः०८ बजेको समयमा भएको हो । प्रत्यक्षदर्शीका अनुसार, आक्रमणपछि सिर्जना सडकको बीचमा घोप्टो परेको अवस्थामा भेटिएकी थिइन् । घटनास्थलमा पुगेका एक स्थानीयले बताएअनुसार उनको टाउकोमा गहिरो चोट लागेको थियो र रगतसँगै गिदी समेत बाहिर निस्किएको अवस्था थियो । एक प्रत्यक्षदर्शी स्थानीय भन्नुहुन्छ, ‘म जाँदा उनी घोप्टो परेकी थिइन्, अनुहार देख्न सकिएन। टाउकोबाट रगत बगिरहेको थियो र गिदीका टुक्राहरू बाहिर उचिटिएका थिए। –न्युज एजेन्सी नेपाल
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij