२०८२ चैत्र २६ गते बिहिवार
काठमाडौँ । इसेवा र खल्तीले लाइसेन्स/ब्लुबुक नवीकरण (रिन्यु) सेवा बन्द गरेका छन् । सरकारले सरकारी कार्यालयमा ‘बिचौलिया’लाई निषेध गरेसँगै इसेवा र खल्तीले पनि लाइसेन्स/ब्लुबुक रिन्यु सेवा बन्द गरेका हुन् ।
दुवै कम्पनीले लाइसेन्स रिन्यु सेवा उपलब्ध गराउने कार्यमा कानूनी स्पष्टता नभएकाले उक्त सेवा बन्द गरिएको जनाएका छन् । यतिसम्म कि इसेवा र खल्ती दुवैले ब्लुबुक रिन्युसँगै पिकलप र ड्रपसम्मको सेवा दिँदै आएका थिए । तर, सरकारले सरकारी कार्यालयमा ‘बिचौलिया’ निषेध गरेसँगै यी कम्पनीहरुले उक्त सेवा बन्द गरेको जानकारी गराएका छन् ।
यसो त इसेवा र खल्तीले दिँदै आएको लाइसेन्स रिन्यु सेवा रुचाइएको भए पनि उनीहरुले समेत ‘सेटिङ’ काम गराउने गर्थे । एकैपटक धेरैको लाइसेन्स वा ब्लुबुक जम्मा गर्ने र ‘बिचौलिया’ प्रयोग गरेर ‘सेटिङ’मा काम गराउने गरेको इसेवाकै एक कर्मचारीले बताएका छन् ।
लाइसेन्स वा ब्लुबुक रिन्युका नाममा सेवाग्राहीसँग अतिरिक्त रकम असुली गर्ने र बिचौलियामार्फत काम गराउने भएकाले पनि पछिल्लो समय यी दुई कम्पनीलाई धेरैले ‘डिजिटल बिचौलिया’ भन्ने गरेका छन् ।
तर, सरकारी कार्यालयमा ‘बिचौलिया’लाई नै निषेध गर्दा काम नहुने देखिएपछि हाल दुवै कम्पनीले लाइसेन्स/ब्लुबुक रिन्यु सेवा बन्द गरेका छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij