Logo

२०८२ चैत्र २४ गते मंगलवार

२०८२ चैत्र २४ गते मंगलवार

आज दिनभरको ३२ खबर एकै ठाउँमाः छोटकरीमा पढ्नुहोस्

आज दिनभरको ३२ खबर एकै ठाउँमाः छोटकरीमा पढ्नुहोस्


  • 512
    Shares

    आज दिनभरको ३२ खबर एकै ठाउँमाः छोटकरीमा पढ्नुहोस्

    १. पशुपंक्षी र वातावरण स्वस्थ नभई हामी पूर्ण स्वस्थ हुन सक्दैनौँः स्वास्थ्यमन्त्री मेहता

    स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री निशा मेहताले मानव स्वास्थ्य, पशुपंक्षी र वातावरण एकअर्कासँग अभिन्न रूपमा जोडिएको भन्दै ‘एक स्वास्थ्य’ को अवधारणालाई सुदृढ बनाउनुपर्नेमा जोड दिनुभएको छ । विश्व स्वास्थ्य दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री मेहताले प्रकृति सुरक्षित र पशुपंक्षी स्वस्थ नभएसम्म मानिस पूर्ण रूपमा स्वस्थ रहन नसक्ने बताउनुभएको हो । उहाँले जनस्वास्थ्य, कृषि, पशुपालन र वातावरण क्षेत्रबिचको आपसी सहकार्य अहिलेको आवश्यकता रहेको उल्लेख गर्नुभयो । नेपालको संविधानले स्वास्थ्यलाई मौलिक हकका रूपमा सुनिश्चित गरेको स्मरण गराउँदै मन्त्री मेहताले पछिल्लो समय मानव र पशुपंक्षीबीचको अन्तरसम्बन्धका कारण नयाँ चुनौतीहरू थपिएको बताउनु भयो । पशुपंक्षीबाट सर्ने रेबिजजस्ता प्राणघातक रोग, जलवायु परिवर्तनका कारण बढ्दो किटजन्य रोग र वातावरणीय प्रदुषणले निम्त्याएको क्यान्सर, मुटुरोग तथा मस्तिष्कघात जस्ता नसर्ने रोगहरूको जोखिम बढ्दै गएकोप्रति उहाँले चिन्ता व्यक्त गर्नुभयो । यस्तै, एन्टिमाइक्रोबियल औषधिको अत्यधिक र जथाभाबी प्रयोगले ‘एन्टिमाइक्रोबियल रेसिस्टेन्स’ को ठूलो सङ्कट निम्त्याएको भन्दै उहाँले यसको समाधानका लागि सबै सरोकारवाला निकायबिच सहकार्य अपरिहार्य रहेको बताउनु भयो । सरकारले सन् २०१९ मा ‘राष्ट्रिय एक स्वास्थ्य रणनीति’ स्वीकृत गरी कार्यान्वयनमा ल्याएको जानकारी दिँदै मन्त्री मेहताले आगामी दिनमा रोग निगरानी प्रणालीलाई अझ सुदृढ बनाइने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

    २. आकासिँदो इन्धनको मूल्यले अफगानीहरूमाथि दबाब

    काबुलको व्यस्त सडकमा ३३ वर्षीय ट्याक्सी चालक अब्दुल मतीन आफ्नो कारको स्टेयरिङ पछाडि बसेर यात्रुहरूको प्रतीक्षा गरिरहेका छन् । जो अचेल निकै चिन्तित भएका छन् । अफगानिस्तानका अन्य धेरै मानिसहरू जस्तै उनको जीविकोपार्जन पनि इन्धनको मूल्य वृद्धिका कारण दबाबमा छ । जसले उनलाई आर्थिक अनिश्चितताको अवस्थामा धकेलेको छ । विश्वव्यापी आपूर्तिमा अवरोध, इन्धन आयातमा कमी र बढ्दो यातायात लागतको संयोजनले अफगानिस्तानमा इन्धनको मूल्य प्रतिलिटर ५५ अफगानीबाट ह्वात्तै बढेर ६७ अफगानी पुगेको छ । जसले देशभरि नै प्रभाव पारेको छ । यो मूल्य वृद्धिले पहिले नै कमजोर अर्थतन्त्रमा रहेका ट्याक्सी चालक, साना व्यवसायी र सर्वसाधारण नागरिकमाथि असह्य दबाब थपेको छ । बढ्दो इन्धनको मूल्यको प्रभाव यातायात क्षेत्रभन्दा धेरै टाढासम्म फैलिएको छ । इन्धनको लागत बढ्दै जाँदा दैनिक उपभोग्य वस्तु र सेवाको मूल्य पनि बढ्छ, जसले पहिले नै आर्थिक अनिश्चिततासँग जुधिरहेका जनसंख्यामाथि भारी बोझ सिर्जना गर्दछ । धेरै अफगानहरूका लागि यो आर्थिक तनाव असह्य बन्दै गएको छ ।

    ३. इजरायलको हाइफामा मिसाइल आक्रमणपछि दुई शव फेला

    इरानी मिसाइल आक्रमणपछि भत्किएको हाइफाको एक आवासीय भवनबाट सोमवार दुईवटा शव निकालिएको इजरायली अधिकारीहरूले बताएका छन् । उद्धार टोलीले अझै बेपत्ता रहेका दुई बासिन्दाको खोजी भग्नावशेषमा जारी राखेका छन् । सेनाले आईतवार उत्तरी तटीय शहरको बहुतले भवनमा प्रत्यक्ष प्रहार भएर ध्वस्त भएको बताएको छ । उक्त मिसाइल त्यस साँझ उत्तरी र दक्षिणी इजरायलतर्फ प्रहार गरिएका धेरै मिसाइलहरूमध्ये एक थियो । जसले क्षेत्रहरूमा हवाई आक्रमणको साइरन बजाएको थियो । फेब्रुअरी २८ मा इरानमाथि अमेरिका र इजरायलको संयुक्त आक्रमणपछि मध्यपूर्वमा बढ्दो हिंसाका बीच यो आक्रमण भएको हो । 

    ४. इरानी पावर प्लान्ट र पुलहरूमा आक्रमण गर्ने अमेरिकी धम्कीप्रति संयुक्त राष्ट्र संघ चिन्तित

    संयुक्त राष्ट्र संघले इरानको पावर प्लान्ट र पुलहरूमा आक्रमण गर्ने अमेरिकी धम्कीपूर्ण अभिव्यक्तिप्रति चिन्ता व्यक्त गरेको छ । अमेरिकाले इरानले सम्झौता नगरेमा पावर प्लान्ट, पुल र अन्य पूर्वाधारहरूमा अमेरिकी आक्रमणको धम्की दिएको थियो । महासचिव अन्तर्राष्ट्रिय कानूनका मुद्दाहरूमा धेरै स्पष्ट रहनुभएको र उहाँले फेरि सबै पक्षहरूलाई यी शत्रुताहरूको आचरण सम्बन्धी उनीहरूको दायित्वहरू पालना गर्न आग्रह गर्नुभएको उहाँका प्रवक्ताले बताउनु भयो । ऊर्जा पूर्वाधारसहित नागरिक पूर्वाधारमा आक्रमण गर्न नपाइने र यदि विशिष्ट नागरिक पूर्वाधार सैन्य उद्देश्यको रूपमा योग्य भएपनि अन्तर्राष्ट्रिय मानवीय कानूनले अझै पनि तिनीहरू विरुद्धको आक्रमणलाई निषेध गरेको बताउनु भयो । 

    ५. कायरो विश्वकप फाइनलको उद्घाटनमा ओलम्पिक जिम्न्यास्टिक च्याम्पियन पेट्रोनियासको जित

    कायरोमा भएको आर्टिस्टिक जिम्न्यास्टिक्स एपरेटस विश्वकप फाइनलको पहिलो दिन ओलम्पिक च्याम्पियन एलिफ्थेरियोस पेट्रोनियासले रिङ्समा स्वर्ण पदक जितेका छन् । पुरुष र महिलाका पाँचवटा स्वर्ण पदकको निर्णय भएको थियो । ओलम्पिक च्याम्पियन एलिफ्थेरियोस पेट्रोनियासले रिङ्समा आफ्नो अनुभव प्रदर्शन गर्दै स्वर्ण सुरक्षित गरे । त्यसपछि आर्मेनियाका आर्टुर एभेटिस्यानले रजत र चीनका युवा जिम्न्यास्ट लिउ याङले कास्य पदक जिते । पेट्रोनियासले कायरोमा प्रतिष्पर्धा गर्न अन्तिम समयमा मांसपेशी बाउँडिने समस्यालाई जितेको बताए । उनले आफ्नो प्रदर्शनबाट सन्तुष्ट रहेको तर भविष्यमा अझ उच्च स्कोर ल्याउने लक्ष्य राखेको बताए । उनले आफ्नो दीर्घकालीन लक्ष्य ओलम्पिक मञ्च नै रहेको बताए । 

    ६. जापानका विपक्षी दल र नागरिकहरूद्वारा हतियार निर्यात नियम खुकुलो पार्ने सरकारी कदमको विरोध

    हतियार निर्यातमा लगाइएको प्रतिवन्ध खुकुलो पार्ने र सैन्य विस्तारलाई अगाडि बढाउने सरकारको कदमको जापानी नागरिकहरुले विरोध गरेका छन् । टोकियोको व्यस्त इकेबुकुरो स्टेशनबाहिर जापानका धेरै विपक्षी दलका वरिष्ठ नेताहरू र हजारौं नागरिकहरूले विरोध जनाएका हुन् । उनीहरूले देशको भविष्यको बाटोप्रति चिन्ता व्यक्त गरेका छन् । आयोजकका अनुसार यस विरोध प्रदर्शनमा ६ हजार भन्दा बढी मानिस सहभागी थिए । जापानी सञ्चारमाध्यमहरूले यसअघि नै रिपोर्ट गरेका थिए कि ताकाइची सरकारले वैदेशिक हतियार निर्यात प्रतिवन्धहरू खुकुलो पार्न यसै महिनाभित्र ‘रक्षा उपकरण र प्रविधि हस्तान्तरणका तीन सिद्धान्तहरू’ को कार्यान्वयन दिशानिर्देशहरू परिमार्जन गर्ने योजना बनाएको छ ।

    ७. ट्रम्पद्वारा इरानलाई ‘एकै रातमा समाप्त पार्ने’ चेतावनी, तेल र होर्मुज जलडमरूमध्यमाथि नजर

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमवार इरानलाई एकै रातमा ‘समाप्त पार्न’ सकिने र त्यो रात मंगलवार हुनसक्ने बताउनुभएको छ । ट्रम्पले इरानलाई सम्झौता गर्न र होर्मुज जलडमरूमध्य पुनः खोल्नका लागि तोकेको समयसीमा मंगलवार राति समाप्त हुँदैछ । सोही क्रममा उहाँले मध्यस्थकर्ताहरूमार्फत इरानी पक्षसँग भइरहेको वार्ता ‘राम्रोसँग अघि बढिरहेको’ दाबी समेत गर्नुभएको छ । पत्रकार सम्मेलनमा बोल्दै ट्रम्पले भन्नुभयो, ‘सम्पूर्ण देशलाई एकै रातमा सिध्याउन सकिन्छ र त्यो रात भोलि रात हुनसक्छ ।’ 

    ८. थाइल्याण्डको नयाँ गठबन्धन सरकारले शपथ लियो

    प्रधानमन्त्री अनुटिन चर्नविराकुलको नेतृत्वमा थाइल्याण्डको नयाँ गठबन्धन सरकारले गत हप्ताको शाही अनुमोदनपछि सोमवार साँझ पद तथा गोपनीयताको शपथ ग्रहण गरेको छ । ३५ सदस्यीय मन्त्रिमण्डलले बैंककको दुसित प्यालेसमा आयोजित एक परम्परागत समारोहमा राजा महा वजिरालोङ्कोर्नको उपस्थितिमा निष्ठाको शपथ लिएका थिए । उक्त समारोहमा प्रधानमन्त्री अनुटिन र सातजना उपप्रधानमन्त्रीका साथै अन्य मन्त्रिपरिषद्का मन्त्री र राज्यमन्त्रीहरूको सहभागिता रहेको थियो । शपथ ग्रहण पश्चात प्रधानमन्त्रीले सरकारी निवास (गभर्मेन्ट हाउस) मा विशेष मन्त्रिपरिषद् बैठकको अध्यक्षता गर्नुभयो । अनुटिनले आगामी केही दिनमा संसदमा आफ्नो नीतिगत वक्तव्य प्रश्तुत गर्ने कार्यक्रम रहेको छ । 

    ९.पूर्वी गाजा शहरमा इजरायली हवाई आक्रमणमा ४ प्यालेस्टाइनीको मृत्यु

    प्यालेस्टिनी सुरक्षा र चिकित्सा स्रोतकाअनुसार पूर्वी गाजा शहरको अल–तुफाह छिमेकलाई लक्षित गरी गरिएको इजरायली हवाई आक्रमणमा चार प्यालेस्टाइनीको मृत्यु भएको छ । अन्य धेरै घाइते भएका छन् । सुरक्षा स्रोतहरूले भनेका छन् कि एक इजरायली ड्रोनले उक्त क्षेत्रमा हमास सुरक्षाकर्मीहरूको समूहमा कम्तिमा एउटा मिसाइल प्रहार गरेको थियो । चिकित्सा स्रोतहरूले चार जनाको मृत्यु भएको पुष्टि गरेका छन् र घाइतेहरूलाई नजिकैका अस्पतालहरूमा सारिएको बताएका छन् । हालैका हप्ताहरूमा, इजरायली सेनाले गाजा पट्टीमा सुरक्षा चेकपोइन्टहरू र पुलिस सवारी साधनहरूलाई लक्षित गरी धेरै हवाई आक्रमणहरू गरेको छ, जसको परिणामस्वरूप हताहत भएको छ। इजरायली सेनाले प्रायः यस्ता अपरेसनहरू सशस्त्र तत्वहरू वा कथित खतराहरूलाई लक्षित गरेको बताउने गर्छ ।

    १०. मध्य गाजामा इजरायली गोलाबारीमा कम्तीमा ११ प्यालेस्टिनीको मृत्यु

    मध्य गाजा पट्टीको मगाजी शरणार्थी शिविरमा सोमवार इजरायली गोलाबारीमा कम्तीमा ११ प्यालेस्टिनीको मृत्यु भएको छ । अन्य धेरै घाइते भएका प्यालेस्टिनी सुरक्षा र चिकित्सा स्रोतहरूले बताएका छन् । सुरक्षा स्रोतहरूले बताएअनुसार शिविरको पूर्वमा हमास सुरक्षा बल र इजरायलसँग मिलेमतो गरेको आरोप लागेका व्यक्तिहरूबीच सशस्त्र झडप भएको थियो । उनीहरूले भने कि इजरायली ड्रोनहरूले घटनाको समयमा हस्तक्षेप गरे, प्रत्यक्ष गोली र मिसाइलहरू प्रहार गरे जसले हताहत गरायो । चिकित्सा स्रोतहरूले कम्तीमा ११ जनाको मृत्यु भएको र अन्य धेरै घाइते भएको पुष्टि गरेका छन् । जसमध्ये केहीको अवस्था गम्भीर छ । घाइतेहरूलाई उपचारका लागि देइर अल–बलाहको अल–अक्सा अस्पताल लगिएको छ ।

    ११. ट्रेड युनियन खारेज गर्ने प्रयास संविधान विपरितः ट्रेड युनियन काँग्रेस

    नेपाल ट्रेड युनियन काँग्रेसले नेपाल सरकारको ट्रेड युनियन खारेज गर्ने प्रयास संविधान विपरीत रहेको बताएको छ । मंगलवार पत्रकार सम्मेलन गरि ट्रेड युनियन काँग्रेसले सरकारले हालै जारी १०० बुँदे शासकीय सुधार कार्यसूचीअन्तर्गत ट्रेड युनियन खारेजीसम्बन्धी प्रश्तावलाई संविधान विपरित रहेको बताएको हो । काँग्रेसले नेपालको संविधानको धारा ३४(३) ले श्रमिकलाई ट्रेड युनियन स्थापना गर्ने, त्यसमा सहभागी हुने तथा सामुहिक सौदाबाजी गर्ने मौलिक हक सुनिश्चित गरेको समेत स्मरण गराएको छ । नेपाल ट्रेड युनियन काँग्रेसका अध्यक्ष योगेन्द्र कुँवरले १०० बुँदे शासकीय सुधार सम्बन्धी कार्यसूचीमा धेरै राम्रा कुराहरु समावेश भएपनि ट्रेड युनियन खारेजको विषयमा आफूहरुको असहमति रहेको बताउनु भयो । सुशासन र भ्रष्टाचार नियन्त्रणको विषय लामो समयदेखि ट्रेड युनियनले उठाउँदै आएको उहाँको भनाई छ । उहाँले ट्रेड युनियनमा कतै खराबी भएमा सच्याउनुपर्ने तर खारेज गर्ने भन्नेकुरा मान्य नहुने बताउनु भयो । 

    १२. महँगी चरमचुलीमा, सरकार संकट व्यवस्थापन गर्न असफलः सांसद दुलाल

    नेपाली कम्युनिष्ट पार्टीका सांसद युवराज दुलालले सरकारले जनताको दैनिक जीवन सहज बनाउन आवश्यक कार्यक्रम ल्याउन नसकेको बताउनुभएको छ । सिंहदरबारस्थित संसद भवन बाहिर संचारकर्मीहरुसँग कुराकानी गर्ने क्रममा उहाँले सरकारले सुरुवातमा नै राम्रो छनक नल्याएको बताउनुभएको हो । उहाँले जनताको चुल्हो बल्नै गाह्रो हुने अवस्था सिर्जना हुन लागेको अवस्थामा सरकारले संकट व्यवस्थापनमा ध्यान दिन नसकेको बताउनु भयो । सरकारको सरकारको पहिलो प्राथमिकता जनताको जीवन रक्षा हुनुपर्ने उहाँको भनाई छ । बढ्दो महँगी र पेट्रोलियम पदार्थको मूल्यवृद्धिले राष्ट्रिय जीवनमा गम्भीर असर पारेको उहाँले बताउनु भयो । उहाँकाअनुसार पेट्रोलियम पदार्थको मूल्य बढेसँगै निर्माण क्षेत्र ठप्प हुने अवस्थामा पुगेको छ भने सर्वसाधारणको दैनिक जीवन झन् कठिन बन्दै गएको छ । 

    १३. विकास, आर्थिक मामिला तथा सुशासन समिति सभापतिमा पौडेल निर्वाचित

    राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समिति सभापतिमा कृष्णप्रसाद पौडेल निर्विरोध निर्वाचित हुनुभएको छ । मंगलवार बसेको समितिको बैठकले पौडेललाई सभापतिमा चयन गरेको हो । बैठक समितिका जेष्ठ सदस्य महन्थ ठाकुरको सभापतित्वमा बसेको थियो । सभापति ठाकुरले बैठकमा कृष्णप्रसाद पौडेललाई समितिको सभापति चयन गर्नको लागी एकमात्रै प्रस्ताव पेश भएकोले निर्विरोध निर्वाचित भएको घोषणा गर्नुभएको थियो । पौडेललाई सभापति बनाउन नारायणदत्त भट्टको प्रश्ताव र जगत तिमल्सिनाको समर्थन रहेको थियो । उहाँले भन्नुभयो, ‘सभापतिमा निर्वाचित गरियोस् भन्ने एकमात्रै प्रश्ताव प्राप्त भएकोले राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको सभापति पदमा माननिय कृष्णप्रसाद पौडेललाई निर्विरोध निर्वाचित हुनुभएको घोषणा गर्दछु ।’ 

    १४. संघियता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको सभापतिमा जयन्तीदेवी राई निर्वाचित

    राष्ट्रिय सभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको सभापतिमा जयन्तीदेवी राई निर्वाचित हुनुभएको छ । मंगलवार बसेको समितिको बैठकले नेपाली कम्युनिष्ट पार्टीकी राईलाई सभापतिमा चयन गरेको हो । बैठक समितिका ज्येष्ठ सदस्य नारायणदत्त मिश्रको सभापतित्वमा बसेको थियो । ज्येष्ठ सदस्य सभापति मिश्रले बैठकमा राईलाई समितिको सभापति चयन गर्नको लागि एकमात्रै प्रश्ताव पेश भएकोले निर्विरोध निर्वाचित भएको घोषणा गर्नुभएको थियो । उहाँले भन्नुभयो, ‘सभापतिमा निर्वाचित गरियोस् भन्ने एकमात्रै प्रश्ताव प्राप्त भएकोले राष्ट्रिय सभा नियमावली २०७५ को नियम १ सय ५० को उपनियम ४ बमोजिम माननीय सदस्य जयन्तीदेवी राई यस संघियता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको सभापति पदमा निर्विरोध निर्वाचित हुनुभएको घोषणा गर्दछु ।’ 

    १५. पदभार सम्हाल्दै राष्ट्रिय सभा उपाध्यक्ष भण्डारीले भनिन्–साइबर बुलिङविरुद्ध कानूनी हस्तक्षेप अपरिहार्य

    राष्ट्रिय सभाकी नवनिर्वाचित उपाध्यक्ष लिलाकुमारी भण्डारी पदभार ग्रहण गर्नुभएको छ । शपथग्रहण लगत्तै सिंहदरबारस्थित कार्यकक्षमा पुगेर भण्डारीले पदभार सम्हाल्नुभएको हो । पदभार ग्रहणपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले साइबर बुलिङमार्फत महिलामाथि हुने चरित्रहत्याविरुद्ध कानूनी व्यवस्था आवश्यक रहेको बताउनु भयो । उहाँले महिलाको मानप्रतिष्ठा र सामाजिक आचरणमा असर पर्ने गरी चरित्रहत्या गर्ने जस्ता अपराधिक गतिविधि मौलाउँदै गएको भन्दै त्यसको नियन्त्रणका लागि कानून निर्माण अपरहार्य भएको बताउनु भयो । भण्डारीले सामाजिक सञ्जालमार्फत महिलामाथि भइरहेको साइबर हमलाले विकराल रूप लिँदै गएको उल्लेख गर्दै यसलाई नियन्त्रण गर्न सरकार र सरोकारवालहरुबीचको समन्वय गरेर कानूनी हस्तक्षेप गर्नुपर्ने बताउनु भयो ।

    १६. योजना आयोगको उपाध्यक्षमा डा. गुणाकर भट्ट नियुक्त

    पेट्रोलियम आपूर्ति सहज बनाउन ‘वर्क फ्रम होम’ र विद्यतुीय सवारीको प्रयोग बढाउन सरकारको आह्वान 
    सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. गुणाकर भट्टलाई नियुक्त गरेको छ । मंगलवार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले जानकारी दिनुभएको हो । उहाँकाअनुसार बैठकले राष्ट्र बैंकको डेपुटी गभर्नरमा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक किरण पण्डित नियुक्त गरेको छ । उहाँले पेट्रोलियम पदार्थ आयातमा लगाउँदै आएको भन्सार करमा ५० प्रतिशत छुट दिने निर्णय गरेको पनि जानकारी दिनुभयो । बैठकले वृहत्तर लुम्बिनी क्षेत्र विकास परियोजनाको लागि विश्व बैंकले प्रदान गर्ने ८५ मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरेको पनि जानकारी दिनुभयो । उहाँले ललितपुर महानगरपालिका वडा नम्बर ३  पुलचोकमा रहेको जलस्रोत तथा उर्जा अनुसन्धान केन्द्रलाई ललितपुर जिल्लाकै गोदावरी नगरपालिका वडा नम्बर ३ मा स्थानान्तरण गर्ने निर्णय गरेको समेत जानकारी दिनुभयो ।

    १७. राष्ट्रिय सभाकी नवनिर्वाचित उपाध्यक्ष भण्डारीद्वारा शपथ ग्रहण

    राष्ट्रिय सभाकी  नवनिर्वाचित उपाध्यक्ष लिलाकुमारी भण्डारीले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । मंगलवार राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा सभाका अध्यक्ष नारायणप्रसाद दाहालसमक्ष उहाँले पद तथा गोपनीयताको शपथ लिनुभएको हो । शपथ समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री बालेन्द्र साह, कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्ल, सभामुख डोलप्रसाद अर्याल तथा नेपालस्थित नियोगका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । यसअघि सोमवारको सभाको बैठकले भण्डारीलाई राष्ट्रिय सभाको उपाध्यक्षमा भण्डारीलाई निर्विरोध निर्वाचित गरेको थियो ।

    १८. विधायन व्यवस्थापन समितिको सभापतिमा काँग्रेस सांसद रोकाय

    राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समिति सभापतिमा कृष्णबहादुर रोकाय निर्विरोध निर्वाचित हुनुभएको छ । मंगलवार सिंहदरबारमा बसेको समितिको बैठकले नेपाली काँग्रेसका सांसद रोकायालाई सभापतिमा चयन गरेको हो । बैठक समितिका ज्येष्ठ सदस्य कृष्णप्रसाद सिटौलाको सभापतित्वमा बसेको थियो । सभापति सिटौलाले बैठकमा कृष्णबहादुर रोकायलाई समितिको सभापति चयन गर्ने प्रश्ताव पेश गरेकोमा उक्त प्रश्ताव सर्वसम्मतिले पारित भएको हो । 

    १९. सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति सभापतिमा एमाले सांसद चौधरी निर्विरोध

    सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको सभापतिमा पूजा चौधरी निर्विरोध निर्वाचित हुनुभएको छ । मंगलवार सिंहदरबारमा बसेको समितिको बैठकले एमाले सांसद चौधरीलाई समिति सभापतिमा निर्विरोध निर्वाचित गरेको हो । बैठकको सभापतित्व समितिका ज्येष्ठ सदस्य सभापति गोपालकुमार बस्नेतले गर्नुभएको थियो । सभापति बस्नेतले सांसद चौधरीलाई समिति सभापतिमा चयन गर्ने एक मात्र प्रश्ताव राखेकोमा उक्त प्रश्ताव सर्वसम्मतिले पारित गरेको हो । 

    २०. ओली–लेखकलाई लगाइएको मुद्दा तत्काल खारेज गरियोस्ः एमाले

    प्रतिपक्ष दल नेकपा (एमाले)ले पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीमाथि लगाइएको मुद्दा तत्काल खारेज गर्न सरकारसँग माग गरेको छ । मंगलवार प्रतिनिधि सभा बैठकमा बोल्दै एमालेका उपाध्यक्ष गुरुप्रसाद बरालले सो माग गर्नुभएको हो । उहाँले ओली र काँग्रेस नेता एवं पूव गृहमन्त्री रमेश लेखकमाथि खोटपूर्ण ढंगले मुद्दा लगाउने प्रयास गरिएको भन्दै सैह्य नहुने चेतावनी समेत दिनुभयो । उपाध्यक्ष बरालले जेन–जी आन्दोलनको एउटै घटनामा पनि सुरक्षा निकाय र कर्मचारीलाई एकखालको व्यवहार तथा ओली र लेखकलाई सरकारले अर्को खालको व्यवहार गरेको भन्दै आक्रोश समेत व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो,‘नेपालको संविधान र विधिको शासनलाई आज देशभरी उलंघन भइरहेको छ । यो उलंघन गर्ने अधिकार सरकारलाई छैन ।

    २१. ओली–लेखकले जेन–जी आन्दोलनमा गल्ती गरिएछ भनेर स्वीकार गर्न सक्नुपर्छः महावीर पुन

    प्रतिनिधि सभाका स्वतन्त्र सांसद महावीर पुनले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले जेन–जी आन्दोलनमा क्रममा गलत गरिएछ भन्ने कुरालाई स्वीकार गर्न सक्नुपर्ने बताउनुभएको छ । रोल...
    मंगलवार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उहाँले सो टिप्पणी गर्नुभयो । सांसद पुनले तत्कालीन प्रधानमन्त्री ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकले सो घटनामा गोली हान्ने आदेश नदिएको भएपनि सरकारको प्रमुख व्यक्ति भएको नाताले गल्ती गरिएछ भन्ने स्वीकार गरेर माफी माग्न हिच्किच्याउन नहुने बताउनु भयो । मातहतका कर्मचारीले गरेको गल्ती प्रमुख व्यक्तिले स्वीकार गर्नुपर्ने उहाँको तर्क थियो ।

    २२. प्रतिनिधि सभामा राष्ट्रिय सभाबाट प्राप्त तीन वटा विधेयक टेबुल गरियो

    प्रतिनिधि सभामा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना तथा सञ्चालन विधेयक २०८१, पर्यटन विधेयक, २०८१ र चलचित्र विधेयक २०८१ टेबुल गरिएको छ । मंगलवार बसेको प्रतिनिधि सभा बैठकमा प्रतिनिधि सभा सचिव हर्कराज राईले राष्ट्रिय सभाबाट सन्देशसहित प्राप्त विधेयकहरु प्रतिनिधि सभामा टेबुल गर्नुभएको हो । राष्ट्रिय सभामा सो विधेयकहरुमाथि विस्तृत छलफल गरिएको छ । प्रतिनिधि सभाको अर्को बैठक बुधवार बस्नेछ ।

    २३. सरकारलाई राप्रपा सांसद ओलीको ध्यानाकर्षणः कृषि मलको आवश्यक व्यवस्था मिलाइयोस्

    राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद खुश्वु ओलीले कृषि मलको आवश्यक व्यवस्था मिलाउन सरकारसँग माग गर्नुभएको छ । मंगलवार प्रतिनिधि सभा बैठकमा बोल्दै उहाँले खेतीवाली लगाउने समय आएको उल्लेख गर्दै कृषि मलको व्यवस्थामा सरकारले कस्तो रणनीति अप्नाएको छ ? भनि प्रश्न समेत गर्नुभयो । पश्चिम एशियाको द्वन्द्वका कारण मलको मूल्य वृद्धि र आपूर्ति संकटका संकेतहरु देखा परिसकेकाले सरकारको त्यसको व्यवस्थापनमा समयमा नै ध्यान दिन आवश्यक रहेको सांसद ओलीको भनाई थियो । उहाँले किसानले समयमा मल नपाए त्यसको मार मुलुकको अर्थतन्त्रमा समेत पर्ने भएकाले सरकारले त्यसको बारेमा आवश्यक निर्णय लिन ढिलाई गर्न नहुने बताउनु भयो । 

    २४. सरकारले जीवित आदिवासी संग्राहलय स्थापना गर्नुपर्छः अनुष्का श्रेष्ठ

    सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद अनुष्का श्रेष्ठले जीवित आदिवासी संग्राहलय स्थापना गर्न सरकारसँग माग गर्नुभएको छ । मंगलवार प्रतिनिधिसभा बैठकको शुन्य समयमा बोल्दै उहाँले सो माग गर्नुभएको हो । पर्यटन क्षेत्रमा दिगो आम्दानी गर्न, विश्वसामू नेपालको विशिष्ट ब्राण्ड निर्माणमा अझ एक तह थप्न तथा प्रवासमा रहेका लाखाँै नेपालीहरुलाई पहिचानसँग पुनः जोडन महत्वपूर्ण भूमिका खेल्न सक्ने भएकाले सो अवधारणा अघि बढाउन आफूले प्रस्ताव गरेको सांसद श्रेष्ठको भनाई थियो । उहाँले भन्नुभयो,‘म जीवित आदिवासी संग्राहलयको अवधारणा प्रस्ताव गर्न चाहन्छु । यो एउटा केवल भौतिक संरचना मात्रै नभई जनजाति भाषा बोलिने लिपी लेखन सिकिने परम्पराहरु अभ्यास गरिने एक जीवन्त थलोको रुपमा उपयोग गर्न सकिन्छ ।

    २५. सरकारले साईबर अपराधमा संलग्नहरुलाई छिटोभन्दा छिटो कारबाही गर्नुपर्छः पद्मा अर्याल

    प्रतिपक्ष दल नेकपा (एमाले)की सचिव पद्माकुमारी अर्यालले साईबर अपराधमा संलग्नमाथि तत्काल कारबाही गर्न सरकारसँग माग गर्नुभएको छ । मुलुकमा साईबर अपराधका घटना बढिरहेका बेला उहाँले सो माग गर्नुभएको हो । साईवर अपराधको घटनाको सत्यतथ्य बाहिर ल्याई दोषीलाई तत्काल सरकारले कारबाहीको दायरामा ल्याउनुपर्ने सचिव अर्यालको भनाई थियो । मंगलवार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उहाँले सो घटनामा संलग्नमाथि कारबाही गर्न दवाव दिँदै आफूहरुले नेपाल प्रहरीको साईवर व्युरोमा उजुरी दिनुपरेको पनि स्पष्ट पार्नुभयो । सचिव अर्यालले भन्नुभयो,‘जुन खालको साईबर अपराध भईरहेको छ । खास यो दण्डहीनताको स्थिति छ आज साईवर अपराधमा जुन दण्डहीनताको जुन स्थिति छ । 

    २६. सरकारले स्वास्थ्य विमा कार्यक्रमको तत्काल नीतिगत सुधार गर्न आवश्यक छः ओजश्वी शेरचन

    सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सांसद ओजश्वी शेरचनले सरकारले स्वास्थ्य विमा कार्यक्रमको तत्काल नीतिगत सुधार गर्न आवश्यक रहेको बताउनुभएको छ । सो कार्यक्रम बजेटको अभावमा अघि बढ्नसक्ने अवस्थामा नरहेको चर्चा भइरहेको बेला सांसद शेरचनले सो आवश्यकता औँल्याउनुभएको हो । मंगलवार प्रतिनिधि सभा बैठकमा बोल्दै उहाँले सो समस्या समाधानका लागि स्वास्थ्य मन्त्रालय र अर्थ मन्त्रालयबीच बलियो समन्वय हुनुपर्नेमा पनि जोड दिनुभयो । सांसद शेरचनले स्वास्थ्य विमा कार्यक्रम आफैँ आर्थिक दवावमा पर्दा त्यसबाट सेवाग्राहीहरु मर्कामा पर्ने भएकाले सरकारले सो समस्या समाधानमा ढिलाई गर्न नहुने पनि स्पष्ट पार्नुभयो । 

    २७. सरकारसँग एमाले सांसद कार्कीको मागः हिमाली तथा दुर्गम क्षेत्र विकास प्राधिकरण गठन गरियोस्

    प्रतिपक्ष दल नेकपा (एमाले)का सांसद डा. अर्जुनकुमार कार्कीले हिमाली तथा दुर्गम क्षेत्र विकास प्राधिकरण गठन गर्न सरकारसँग माग गर्नुभएको छ । मंगलवार संघीय संसद प्रतिनिधिसभा बैठकको शुन्य समयमा बोल्दै उहाँले सो माग गर्नुभएको हो । सांसद कार्कीले हिमाली तथा पहाडी क्षेत्रमा गाउँगाउँमा उद्योग र घरघरमा रोजगारी सृजना गर्नका लागि सो प्राधिकरण तत्काल स्थापना गर्न आवश्यक रहेको तर्क समेत गर्नुभयो । उहाँले नेपालमा हिमाली तथा पहाडी क्षेत्रको विकासमा कृषि, पर्यटन र जडिबुटी विकासको ठूलो सम्भावना बोकेको सम्पदा भएको उल्लेख गर्दै सरकारले त्यसलाई परिचालन गर्ने गरी विकास आयोजनाहरुको कामलाई अघि बढाउन अति आवश्यक भएको पनि स्पष्ट पार्नुभयो । 

    २८. घरबाटै काम गर्न सरकारको आह्वान

    युद्धका कारण इन्धन संकट चुलिएको भन्दै सरकारले घरबाटै काम गर्न आग्रह गरेको छ । सरकारले विश्वबजारमा इन्धान संकट गहिरीनुका साथै मूल्यवृद्धि समेत आकशिएकाले इन्धन खपतका लागि घरबाटै काम गर्न आग्रह गरेको हो । मंगलवार बसेको मन्त्रीपरिषद् बैठकका निर्णयहरु सुनाउँदै मन्त्री प्रतिभा रावलले घरबाटै अफिसको काम गर्न आह्वान गर्नुभयो । नेपालमा केही सस्तोमा विक्री गर्नका लागि पेट्रोल डिजेल मटिटतेलमा लाग्दै आएको पूर्वाधार विकास करमा ५० प्रतिशत छुट प्रदान गर्ने र  सोको सुचना राजपत्रमा प्रकाशित गर्ने निर्णय भएको समेत उहाँले जानकारी दिनुभयो ।
    मन्त्री रावलले भन्नुभयो– ‘विश्व बजारमा इन्धनको मूल्य बढेको छ, नेपालमा केही सस्तोमा विक्री गर्नका लागि पेट्रोल डिजेल मटिटतेलमा लाग्दै आएको पूर्वाधार विकास करमा ५० प्रतिशत छुट प्रदान गर्ने र  सोको सूचना राजपत्रमा प्रकाशित गर्ने निर्णय भएको छ । मूल्य संमायोजनको बाध्यता छ । सरकारले यो तथ्य लुकाउँदैन । 

    २९. मुलुकको विकासका लागि राज्यले प्राथमिकीकरण गर्न जरुरीः पाण्डे

    ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) का अध्यक्ष सागर पाण्डेले मुलुकको विकासका लागि राज्यले प्राथमिकीकरण गर्न जरुरी रहेको बताउनुभएको छ । सांसद–निजी क्षेत्रबीच राजधानीमा भएको संवाद कार्यक्रममा उहाँले अहिलेको प्राथमिकीकरण र मुलुक विकासित भएपछि कुन क्षेत्रलाई प्राथमिकीकरण गर्ने भन्नेबारे राज्यले योजना बनाउनुपर्ने बताउनु भयो । उहाँकाअनुसार आजसम्म प्राथमिकीकरण नहुँदा सरकारले बनाउने योजनाहरु प्रभावकारी रुपमा लागू हुने गरेका छैनन् । अध्यक्ष पाण्डेले नेपालको उत्तरतर्फ १६० करोड र दक्षिणतर्फ १४० करोड जनसंख्या रहेको उल्लेख गर्दै पर्यटन क्षेत्रमा अपेक्षित ग्रोथ हुन नसकेको बताउनु भयो । उहाँले अहिलेसम्म दुईवटा पर्यटन भ्रमण वर्ष घोषणा गरिए पनि सफल हुन नसकेको बताउनु भयो । 

    ३०. सरकारी कर्मचारी तथा उच्चपदस्थ अधिकारीहरुलाई दिँदै आएको इन्धन सुविधमा भारी कटौती

    सरकारी कर्मचारी तथा उच्च पदस्थ अधिकारीहरुलाई दिँदै आएको सुविधामा भारी कटौती गरिएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले इन्धन संकटबाट अर्थतन्त्रलाई जोगाउन कर्मचारी तथा उच्चपदस्थ अधिकारीहरुलाई दिँदै आएको इन्धन सुविधामा भारी कटौती गर्ने निर्णय गर्नुभएको हो । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ को दफा २० र २४ ले दिएको अधिकार प्रयोग गरी अर्थ मन्त्रालयले ‘कार्य सञ्चालन निर्देशिका, २०८१’ को बुँदा नं.४९ मा रहेका इन्धन सम्बन्धी व्यवस्थाहरू संशोधन गरेको हो । अर्थमन्त्री डा.वाग्लेले चैत २३ गते यो संशोधन स्वीकृत गर्नुभएको छ । उक्त संशोधनअनुसार १२५ लिटर इन्धन पाउँदै आएका सचिव तथा विशिष्ट श्रेणीका पदाधिकारीले अब ७० लिटर पाउने छन् । १०० लिटर इन्धन पाउँदै आएका सहसचिव स्तरका पदाधिकारीहरुले अब ५० लिटर पाउनेछन् । मन्त्री तथा संवैधानिक पदाधिकारी पदाधिकारीले भने प्रचलित कानूनअनुसार नै इन्धन सुविधा पाउनेछन् । त्रैमासिक रूपमा उपलब्ध गराइने ५ लिटर मोविल र ब्रेक आयलको व्यवस्थामा भने परिवर्तन गरिएको छैन ।

    ३१. सांसदमा निजी क्षेत्रको मुद्दा उठाउने सांसदहरुको प्रतिवद्धता

    सांसदहरूले मुलुकको आर्थिक समृद्धिका लागि निजी क्षेत्रको भुमिका अपरिहार्य रहेको बताउँदै कानून निर्माणदेखि कार्यान्वयनसम्म व्यवसायीमैत्री वातावरण बनाउने प्रतिवद्धता जनाउनुभएको छ ।
    राजधानीमा भएको ‘सांसद–निजी क्षेत्र संवाद’ कार्यक्रममा  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद गणेश पराजुलीले संसदमा अबको तीन हप्ताभित्र संसदीय समितिहरू गठन हुने जानकारी दिँदै ती समितिहरूमा निजी क्षेत्रका मुद्दालाई पहिलो प्राथमिकतामा राखिने बताउनु भयो ।  सांसद पराजुलीले नियमनभन्दा पनि प्रवद्र्धन गर्नेगरी नीतिहरू बनाइनुपर्नेमा जोड दिँदै कुनैपनि मुद्दा निजी क्षेत्रको पक्षमा मात्र नभई समग्र जनताको हितमा उठाइने बताउनु भयो । उहाँले अब आफूले कानुन संशोधन र करका दर तय गर्दा औद्योगिक क्षेत्रलाई अघि बढाउने हिसाबले गर्नुपर्ने बताउनु भयो ।  

    ३२. अञ्जनको बुट क्याम्पबाट उत्साहित बालबालिका

    नेपाली राष्ट्रिय फुटबल टोलीका स्टार अञ्जन विष्टको ट्रेनिङ सेन्टरले आयोजना गरेको बुट क्याम्पमा जुनियर फुटबलर उत्साहित भएका छन् । ललितपुरको बुद्धविकास फुटबल मैदानमा भएको १० दिने बुट क्याम्पमा करिव ७२ जना बालबालिका प्रशिक्षण गरिररहेका छन् । ८ देखि १६ वर्षको बालबालिकालाई लक्षित गरेर उनीहरूको कौशलतामा वृद्धि गर्ने उद्देश्यले यो क्याम्प आयोजना भइरहेको छ । नेपालका लागि सर्वाधिक अन्तर्राष्ट्रिय गोलकर्ता(१३) को सूचीमा रहेका तीन खेलाडी मध्ये एक अञ्जन करिब १२ वर्षदेखि राष्ट्रिय जर्सीमा देखिँदै आएका छन् । उनले नै स्थापना गर्न लागेको अञ्जन विष्ट ट्रेनिङ सेन्टरले उक्त बुट क्याम्प सञ्चालन गरिरहेको छ । नेपालका स्ट्राइकर अञ्जन विष्टले १० दिनको नेक्स्ट जेन बुट क्याम्प सकारात्मक रूपमा अघि बढेको र यहाँबाट धेरै पक्ष सिक्ने पाएको विश्वास व्यक्त गरेका छन् । यसैगरी नेपाली फुटबलमा योगदान गर्दै जाने उनको विश्वास छ । 

    ३३. निर्वाचनमा पराजयको कारण र आगामी कार्यदिशाबारे नेकपामा घनिभुत छलफल

    नेपाली कम्युनिष्ट पार्टीको केन्द्रिय कार्यसम्पादन समितिको बैठकमा निर्वाचनमा व्यहोर्नुपरेको पराजयको कारण र पार्टीको आगामी कार्यदिशाबारे घनिभुत छलफल भएको छ । बैठकको तेस्रो दिन नेताहरूले समसामयिक राजनीतिक परिस्थिति, निर्वाचनको समीक्षा र पार्टीको साङ्गठनिक सुदृढीकरणका विषयमा आफ्ना धारणाहरू राखेका छन् । आजको बैठकमा करिव पाँच जना वक्ताहरूले मात्रै आफ्ना विचार व्यक्त गरेको पार्टीका नेता जगन्नाथ खतिवडाले जानकारी दिनुभयो । नेता खतिवडाकाअनुसार बैठकमा मुख्य गरी पार्टीले यस पटकको निर्वाचनमा अपेक्षित नतिजा ल्याउन नसक्नुका कारणहरू, नेपालको भू–राजनीतिक संवेदनशीलता र यसको जटिलताका विषयमा छलफल केन्द्रित भएको छ । पार्टी संगठनको व्यवस्थापन र एकता प्रक्रियालाई अगाडि बढाउन सदस्यहरूबाट सुझाव संकलन गर्ने कार्य भइरहेको छ ।  –न्युज एजेन्सी नेपाल

    images
    प्रकाशित मिति :चैत्र २४ २०८२ मंगलवार - २१:०७:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij