२०८२ चैत्र १८ गते बुधवार
१. संसदीय दलको नेता चयन प्रक्रिया लोकतान्त्रिक अभ्यास हो, हारबाट हतोत्साहित हुनु पर्दैनः सुहाङ नेम्वाङ
नेकपा एमालेका सांसद सुहाङ नेम्वाङले संसदीय दलको नेता चयन प्रक्रियालाई पार्टीभित्रको एउटा स्वाभाविक लोकतान्त्रिक अभ्यासका रूपमा लिनुपर्ने बताउनुभएको छ । निर्वाचनको नतिजा सार्वजनिक भएपछि आफ्नो धारणा राख्दै उहाँकले यस प्रक्रियालाई नकारात्मक ढंगले नहेर्न आग्रह गर्नुभएको हो । सांसद नेम्वाङले संसदभित्र सत्तापक्ष वा प्रतिपक्षको साँघुरो घेराभन्दा माथि उठेर जनता र देशको हितमा काम गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले सरकारका राम्रा कामलाई सहयोग गर्ने र कमजोरीहरूलाई रचनात्मक आलोचना र सुझावका साथ खबरदारी गर्ने आफ्नो नीति रहने स्पष्ट पार्नुभयो । उहाँले युवा पुस्ता र पार्टीका शुभचिन्तकहरूलाई हतोत्साहित नहुन आग्रह गर्दै यो आफ्नो पहिलो पाइला मात्र भएको र देश तथा जनताको हितमा निरन्तर काम गरिरहने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
२. प्रधानमन्त्री कपमा सन्दीप र सन्तोषको उत्कृष्ट प्रदर्शन
सन्दीप लामिछानेको उत्कृष्ट बलिङमा वागमती प्रदेश र सुपर ओभरबाट लुम्बिनी प्रदेशले जारी प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा जित निकालेका छन् । जनकपुरमा बुधवार भएको खेलमा सन्दीपको सात विकेट प्रेरणामा वागमतीले कर्णाली प्रदेशमाथि ६० रनको जित निकालेको हो । वीरगञ्जमा भएको अर्को खेलमा लुम्बिनी सुपर ओभरमार्पmत विभागीय टोली एपिएफलाई हराउन सफल भयो । लुम्बिनीको जितमा सन्तोष यादवले उत्कृष्ट प्रदर्शन गरे । समान पाँच खेलबाट एपिएफ र लुम्बिनी दुवैको दोस्रो जित हो । रामजानकी क्रिकेट मैदानमा वागमतीले १८१ रनको सामान्य लक्ष्य दिएको थियो । वागमतीका कप्तान सन्दीपले उत्कृष्ट बलिङ गर्दै सात विकेट लिए । यससँगै कर्णाली २५.१ ओभरमा १२० रनमा अलआउट भयो । इनिङको पहिलो बलमै ओपनर रवीन्द्र शाही गुमाएको कर्णाली शुरुदेखि नै दबाबमा प¥यो । निश्चल रावल ३१ रन बनाएर आउट भए । यो नै कर्णालीका लागि सर्वाधिक ठूलो व्यक्तिगत स्कोर रह्यो ।
३. नेकपा एमाले संसदीय दलको नेतामा रामबहादुर थापा चयन, ७ सदस्यीय कार्यदल गठन
नेकपा एमालेको संसदीय दलको पहिलो ऐतिहासिक बैठकले उपाध्यक्ष रामबहादुर थापालाई सर्वसम्मतिले संसदीय दलको नेता चयन गरेको छ । नयाँ निर्वाचनपछिको पहिलो बैठकले थापालाई दलको नेतृत्व गर्ने जिम्मेवारी सुम्पेको हो । संसदीय दलका नेता थापाकाअनुसार बैठकले संसदीय प्रक्रियालाई प्रभावकारी आगामी २१ गते प्रतिनिधि सभा र राष्ट्रिय सभाका दुवै सदनका सदस्यहरूका लागि एक विशेष अभिमुखीकरण कार्यक्रम आयोजना गरिनेछ । यस कार्यक्रमले नयाँ र पुराना सांसदहरूलाई संसदीय मर्यादा र प्रक्रियाबारे प्रशिक्षित गर्ने लक्ष्य राखेको छ । त्यसैगरी, संसदमा दर्ता हुने र छलफलमा आउने विधेयकहरूलाई गहन अध्ययन गर्न र पार्टीको धारणा तय गर्न एमालेले विज्ञहरूसहितको ७ सदस्यीय कार्यदल गठन गरेको छ । यो कार्यदलले विधेयकहरूमाथि विज्ञहरूसँग परामर्श गरी संसदीय दललाई सुझाव दिनेछ ।
४. केपी ओली र रमेश लेखकको गिरफ्तारीविरुद्ध एमालेको आपत्ति, निःशर्त रिहाइको माग
नेकपा एमाले संसदीय दलको बैठकले पार्टी अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली काँग्रेसका नेता एवं पूर्व गृहमन्त्री रमेश लेखकको गिरफ्तारीलाई ‘गैरकानुनी र पूर्वाग्रहपूर्ण’ ठहर गरेको छ । बैठकले सरकारको यो कदमको भत्र्सना गर्दै उनीहरूको अविलम्व र निःशर्त रिहाइको माग गर्दै विशेष प्रश्ताव पारित गरेको हो । संसदीय दलका नेता रामबहादुर थापाले सरकारले प्रतिपक्षका नेताहरूलाई राजनीतिक प्रतिशोधका आधारमा गिरफ्तार गरेको आरोप लगाउनु भयो । एमालेले यस मुद्दालाई संसदीय मोर्चा, सडक र अदालतको मोर्चाबाट समेत सशक्त रूपमा उठाउने निर्णय गरेको छ ।
५. एमालेको नयाँ रणनीतिः सदनमा ‘वाचडग’को भुमिका, भोलिको बैठक चल्न दिने
नेकपा एमालेले संसदमा आफूलाई एक सजग ‘वाचडग’ (पहरेदार) को रूपमा प्रश्तुत गर्ने संकल्प गरेको छ । संसदीय दलको बैठकपछि बोल्दै नेता रामबहादुर थापाले पार्टीले प्रतिपक्षको भुमिकालाई सहर्ष स्वीकार गरेको र सदनमा सरकारका कामकारबाहीमाथि कडा निगरानी राख्ने बताउनुभएको हो । एमालेले सदनलाई मात्र नभई सडक र अदालतको मोर्चालाई पनि उपयोग गर्दै जनताका मुद्दा उठाउने बताएको छ । बिहीवारको संसद मुख्यतः परिचय र बधाई साटासाट गर्नै भएकाले संसद चल्न दिने बताउनु भयो । आफ्ना आवाजहरु भने दृढतापूर्वक राख्ने उहाँको भनाइ छ ।
भोलि बस्ने सदनको बैठकबारे जानकारी दिँदै थापाले भन्नुभयो, ‘भोलिको सदन मुख्यतः परिचय र बधाई साटासाट गर्ने कार्यक्रम भएकोले हामीले कुनै अवरोध नगर्ने निर्णय गरेका छौँ । सदन चल्न दिन्छौँ, तर हाम्रा आवाजहरू र प्रश्नहरू भने दृढतापूर्वक उठाउनेछौँ ।’
६. एनएनआइपिए स्पोट्र्स अवार्डको तयारी पूरा
आगामी शुक्रवार काभ्रेपलाञ्चोकमा तय एनएनआइपिए स्पोट्र्स अवार्डको २०औं संस्करणको तयारी पूरा भएको छ । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआइपिए) को आयोजनामा आगामी चैत २० गते उक्त अवार्ड आयोजना हुँदैछ । पहिलोपल्ट उपत्यकाबाहिर अवार्ड हुन लागेकको अवार्ड बनेपा नगरपालिकास्थित चण्डेश्वरी मन्दिरमा सञ्चालन हुनेछ । खेलाडी संघले बुधबार पत्रकार सम्मेलन आयोजना गर्दै अवार्डको तयारी पूरा भएको जानकारी दिएको हो । नेपाल ओलम्पिक कमिटी (एनओसी) मा आवद्ध २६ खेल विधाका खेलाडी यस अवार्डमा पुरस्कृत हुँदैछन् । वर्ष २०८१ भर उत्कृष्ट प्रदर्शन गर्ने २६ खेल विधाका समान एक खेलाडी यो अवार्डबाट सम्मानित हुनेछन् । संघका महासचिव शिवसुन्दर गोथेले अवार्डको लागि सम्पूर्ण तयारी पूरा भएको जानकारी दिँदै यसपल्ट पनि कार्यक्रम भव्य र व्यवस्थित हुने विश्वास व्यक्त गरे ।
७. ‘अंक गणितमा रास्वपा अगाडि भएपनि जनमत प्रतिपक्षको पक्षमा छ’ – रामबहादुर थापा
नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापाले सत्तापक्ष (रास्वपा) सँग संसदीय अंकगणित भएपनि वास्तविक जनमत भने प्रतिपक्षको पक्षमा रहेको दाबी गर्नुभएको छ । बुधवार पार्टी कार्यालयमा संसदीय दलको नेता चयन भएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । थापाकाअनुसार कुल खसेको १ करोड ८ लाख मतमध्ये रास्वपाको पक्षमा ४७ प्रतिशत अर्थात झन्डै ५१ लाख मत मात्र परेको छ । बाँकी ५३ प्रतिशत मत रास्वपाको विरुद्धमा अर्थात प्रतिपक्षमा रहेका दलहरूको पक्षमा रहेको उहाँको तर्क छ । उहाँले नेपाली काँग्रेस, एमाले, नेकपा र मधेसवादी दलहरूलाई जनताले प्रतिपक्षको भुमिका दिएको र यो भुमिकालाई दृढतापूर्वक निर्वाह गर्ने बताउनु भयो ।
८. गृहमन्त्री गुरुङद्वारा जिल्ला प्रहरी परिसर काठमाडौंको अनुगमन
गृहमन्त्री सुधन गुरुङले जिल्ला प्रहरी परिसर काठमाडौंको अनुगमन गर्नुभएको छ । मन्त्री गुरुङले बुधवार जिल्ला प्रहरी परिसर भद्रकाली पुगेर स्थलगत अनुगमन गर्नुभएको हो । अनुगमनका क्रममा उहाँले नागरिकमैत्री, स्वच्छ र पारदर्शी भएर सेवा प्रदान गर्न प्रहरीलाई निर्देशन दिनुभयो । उहाँले प्रहरीलाई आवश्यक सहयोग सरकारले गर्ने प्रतिवद्धता पनि जनाउनु भयो । गृहमन्त्री गुरुङलाई परिसरबाट भइरहेको काम कारबाहीका बारेमा परिसर प्रमुख एसएसपी रमेश थापाले जानकारी गराउनुभएको थियो ।
९.पोखरामा ट्रान्स पार्टी गर्ने ३८ जना पक्राउ
पोखरामा विदेशीसँग मिलेर ट्रान्स पार्टी गर्ने ३८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । रात्रीकालिन समयमा ट्रान्स पार्टी गरेको आरोपमा प्रहरीले ३८ जनालाई नियन्त्रणमा लिएको हो । पोखरा महानगरपालिका–१८ सेदीस्थित फेवातालमाथि जंगलनजिकै रहेको एकान्त घरमा नेपाली र विदेशी मिलेर ट्रान्स पार्टी गरिरहेको बेलामा प्रहरीले मंगलवार राती छापा मारेर नियन्त्रणमा लिएको हो । पार्टीमा लागुऔषध प्रयोग र विक्री भइरहेको सूचनापछि वडा प्रहरी कार्यालय बैदामका डिएसपी नवराज भट्टराइको नेतृत्वमा प्रहरीले छापा मारेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक नविन कार्कीले जानकारी दिनुभयो । उहाँकाअनुसार नियन्त्रणमा लिएकामध्ये ८ जनासँग लागुऔषध फेला परेको छ । एक जना ईजरायली, दुई जना भारतीय र पाँच जना नेपाली नागरिकसँग लागुऔषध फेला परेको प्रहरीले बताएको छ । उनीहरुविरुद्ध लागुऔषधसम्बन्धी अनुसन्धान भइरहेको र सोहीअनुसार मुद्दा चलाइएको कास्की प्रहरी प्रमुख कार्कीले बताउनु भयो । बाँकी रहेकाहरुको हकमा भने विगतको अपराधिक पृष्ठभुुमी खोजिरहेको र सोहीअनुसार कारवाही प्रक्रिया अगाडी बढाउने उहाँको भनाई छ ।
१०. बिहीवारदेखि एसईई परीक्षा, ५ लाखभन्दा बढी विद्यार्थी सहभागी हुने, एक महिनामै नतिजा प्रकाशन
बिहीवारदेखि शुरु हुन लागेको माध्यमिक शिक्षा परीक्षा (एसईई) को सम्पूर्ण तयारी पूरा भएको छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० का उप–नियन्त्रक विष्णुप्रसाद ज्ञावलीले बिहीवारदेखि हुने परीक्षाको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिनुभयो । उहाँकाअनुसार परीक्षा बिहान ८ बजेदेखि शुरु हुनेछ । यसवर्ष ५ लाख १२ हजार ४ सय ७१ जना विद्यार्थी परीक्षामा सहभागी हुँदैछन् । एसईई परीक्षाका लागि देशभरका १ हजार ९ सय ६५ वटा र जापानमा एउटा गरी कुल १ हजार ९ सय ६६ परीक्षा केन्द्र तोकिएको छ । ११ हजार ३ सय ७९ विद्यालयका विद्यार्थी परीक्षामा सहभागी भएको उप–नियन्त्रक ज्ञावलीले जानकारी दिनुभयो । सबैभन्दा बढी परीक्षार्थी काठमाडौंमा रहेका छन् भने सबैभन्दा कम मनाङमा छन् । उप–नियन्त्रक ज्ञावलीकाअनुसार काठमाडौंका १ सय ३५ वटा परीक्षाकेन्द्रबाट ४१ हजार १ सय ५५ जना विद्यार्थीले परीक्षा दिँदैछन् । सबैभन्दा कम मनाङमा भने एउटा परीक्षाकेन्द्रबाट ३७ जना विद्यार्थीले परीक्षा दिनेछन् । जापानमा रहेको केन्द्रबाट २३ जना विद्यार्थी सहभागी हुने उहाँले जानकारी दिनुभयो ।
११. अमेरिका र इजरायली हमलाबाट ऐतिहासिक स्थल र विश्वविद्यालयहरू ध्वस्त भएको इरानको दाबी
अमेरिकी र इजरायली हवाई आक्रमणले इरानभरिका धेरै ऐतिहासिक भवनहरू ध्वस्त पारेको र विश्वविद्यालयहरूमा क्षति पुर्याएको एक इरानी अधिकारीले मंगलबार बताएका छन् । युनेस्कोका लागि इरानी राष्ट्रिय आयोगका महासचिव हसन फर्तौसीले तेहरानमा आयोजित पत्रकार सम्मेलनमा सो क्षतिको विवरण प्रश्तुत गर्नुभएको ‘स्टुडेन्ट न्युज नेटवर्क’ले जनाएको छ । उहाँकाअनुसार यी आक्रमणहरूले सांस्कृतिक सम्पदा, ऐतिहासिक स्थल र शैक्षिक संस्थाहरूमा गम्भीर क्षति पु¥याएका छन् । फर्तौसीकाअनुसार प्रभावित कतिपय भवनहरू सयौं वर्ष पुराना थिए र तिनलाई कहिल्यै जीर्णोद्धारको आवश्यकता परेको थिएन । उहाँले ती संरचनाहरू ‘पूर्ण रूपमा ध्वस्त’ भएको र आक्रमणले ‘इरानको ऐतिहासिक पहिचानको महत्वपूर्ण हिस्सा’ मा आघात पु¥याएको बताउनु भयो । उहाँले विशेष गरी सफाविद राजवंश (१५०१–१७३६) का संरचनाहरूमा पुगेको क्षतिको उल्लेख गर्नुभयो ।
१२. अस्ट्रेलियाद्वारा इन्धन करमा ५० प्रतिशत कटौतीको घोषणा; उपभोक्तालाई ठूलो राहत मिल्ने
अस्ट्रेलियाली प्रधानमन्त्री एन्थोनी अल्बानिजले इन्धनको आकाशिएको मूल्यलाई मध्यनजर गर्दै सरकारले इन्धनमा लाग्ने करलाई आगामी तीन महिनाका लागि आधा घटाउने घोषणा गर्नुभएको छ । राज्य र क्षेत्रका नेताहरूसँगको बैठकपछि क्यानबेरामा सञ्चारकर्मीहरूसँग बोल्दै प्रधानमन्त्री अल्बानिजले बुधबारदेखि लागू हुने गरी आगामी तीन महिनासम्म ‘फ्युल एक्साइज’ (इन्धन अन्तःशुल्क) कटौती गरिने जानकारी दिनुभयो । मध्यपूर्वमा जारी द्वन्द्वका कारण सिर्जित तेल संकटले इन्धनको मूल्य बढिरहेको सन्दर्भमा यस पहलले पेट्रोल र डिजेलको मूल्य प्रतिलिटर २६.३ सेन्टले घटाउने उहाँले बताउनु भयो । अस्ट्रेलियन इन्स्टिच्युट अफ पेट्रोलियम (एआइपी) को पछिल्लो तथ्याङ्कअनुसार आईतवार समाप्त भएको हप्तामा नियमित ‘अनलेडेड’ इन्धनको राष्ट्रिय औसत मूल्य प्रतिलिटर २.५३ अस्ट्रेलियन डलर (करिव १.७३ अमेरिकी डलर) पुगेर नयाँ कीर्तिमान कायम गरेको छ । यो अघिल्लो हप्ताको २.३८ अस्ट्रेलियन डलरको तुलनामा ६.३ प्रतिशतको वृद्धि हो । त्यसैगरी, सोही अवधिमा डिजेलको औसत राष्ट्रिय मूल्य ९.७ प्रतिशतले बढेर प्रतिलिटर ३.१ अस्ट्रेलियन डलर पुगेको एआइपीले जनाएको छ ।
१३. इरानविरुद्धको युद्धको खर्च व्यहोर्न अरब राष्ट्रहरूलाई आग्रह गर्न ट्रम्प ‘धेरै इच्छुक’ः ह्वाइट हाउस
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प इरानविरुद्ध जारी अमेरिका–इजरायल युद्धको खर्च व्यहोर्न अरब राष्ट्रहरूलाई आह्वान गर्न ‘निकै इच्छुक’ रहेको ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटले बताउनुभएको छ । यसै महिनाको शुरुमा पेन्टागनका अधिकारीहरूले अमेरिकी कंग्रेसलाई दिएको जानकारी अनुसार, इरानविरुद्धको युद्धको पहिलो छ दिनमै ट्रम्प प्रशासनले ११.३ अर्ब अमेरिकी डलरभन्दा बढी खर्च गरिसकेको छ । वाल स्ट्रिट जर्नलको एक रिपोर्टकाअनुसार यो तथ्याङ्कमा युद्धको क्षति र सैन्य सामग्रीको शोधभर्ना खर्च समावेश गरिएको छैन । अमेरिकन इन्टरप्राइज इन्स्टिच्युटका लागि खर्चको निगरानी गरिरहेकी पूर्व पेन्टागन बजेट अधिकारी एलेन म्याककुस्करलाई उद्धृत गर्दै रिपोर्टमा जनाइएअनुसार युद्धको पहिलो तीन हप्तामा यस्तो खर्च करिब १.४ अर्बदेखि २.९ अर्ब डलरसम्म हुनसक्छ ।
१४. जापानद्वारा पहिलो पटक लामो दूरीका काउन्टरस्ट्राइक मिसाइलहरू तैनाथ, विरोध जारी
जापानको रक्षा मन्त्रालयले मंगलवार पहिलो पटक दुईवटा ग्राउन्ड सेल्फ–डिफेन्स फोर्स आधारहरूमा काउन्टरस्ट्राइक क्षमता भएका लामो दूरीका मिसाइलहरू सेवामा ल्याइएको बताएको छ । यो कदमले देशमा आन्तरिक विरोध निम्त्याएको छ । दक्षिण–पश्चिमी जापानको कुमामोटो प्रान्तको क्याम्प केनगुन र मध्य जापानको सिजुओका प्रान्तको क्याम्प फुजीमा यी मिसाइलहरूको तैनाथीले जापानको लामो समयदेखिको विशेष रक्षा–उन्मुख नीतिमा महत्त्वपूर्ण परिवर्तनको संकेत गर्दछ । क्याम्प केनगुनमा अपग्रेड गरिएको टाइप १२ ल्यान्ड–टु–शिप गाइडेड मिसाइलको ग्राउन्ड–लन्च संस्करण जडान गरिएको छ । जुन लगभग १ हजार किलोमिटर उड्न सक्छ । यो जापानको क्षेत्रीय सीमाभन्दा धेरै टाढा जान सक्छ र यसलाई स्पष्ट आक्रामक क्षमता भएको मानिन्छ ।
१५. ट्रम्पद्वारा २ वा ३ हप्तामा अमेरिकाले इरान छोड्ने घोषणा
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलवार अमेरिकी सेना दुई वा तीन हप्ताभित्र इरानबाट बाहिरिने बताउनुभएको छ । अमेरिकन अटोमोबाइल एशोसिएशनकाअनुसार मंगलवार अमेरिकामा ग्यासोलिनको औसत राष्ट्रिय मूल्य तीन वर्षभन्दा बढी समयमा पहिलो पटकप्रति ग्यालन ४ अमेरिकी डलर नाघेको छ । ऊर्जा बजारको उतारचढाव र लामो समयसम्म चल्ने द्वन्द्वप्रति लगानीकर्ताहरूको चिन्ताका कारण बढ्दो दबाबको सामना गरिरहेका अमेरिकी राष्ट्रपतिले, फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि ठूलो आक्रमण गरेदेखि युद्धको समयसीमाका बारेमा थुप्रै विरोधाभासपूर्ण टिप्पणीहरू गर्दै आएका छन् । ट्रम्पले अमेरिका र इरानबीच वार्ता भइरहेको र यदि दुई देशबीच सम्झौता भएमा युद्ध छिट्टै समाप्त हुन सक्ने सम्भावना रहेको बताउनु भयो । ट्रम्पले हर्मुज जलसन्धि पुनः खोल्ने र यो महत्वपूर्ण विश्वव्यापी ऊर्जा जलमार्ग सुरक्षित गर्ने जिम्मेवारी अब अन्य देशहरूको हुने कुरा दोहो¥याउनु भयो ।
१६. डढेलोका घटनाहरू बढ्दै जाँदा माथिल्लो थाइल्याण्डमा वायु प्रदुषणको चपेटा
थाइल्याण्डको माथिल्लो भागका केही क्षेत्रमा वायु प्रदूषण सोमवार पनि हानिकारक स्तरमा रहेको छ । जसले गर्दा स्वास्थ्य चेतावनी जारी गरिएको छ र डढेलोका घटनाहरू बढेसँगै अवैध रूपमा आगो बाल्ने कार्यमा कडाइ गरिएको छ । प्रदुषण नियन्त्रण विभागकाअनुसार उत्तरी र उत्तर–पूर्वी क्षेत्रहरूमा एः २.५ को मात्रा सुरक्षा मापदण्डभन्दा धेरै बढी पाइएको छ । चियाङ माई प्रान्तमा सबैभन्दा बढी २९२.६ माइक्रोग्राम प्रति घनमिटर रेकर्ड गरिएको छ । सरकारी प्रवक्ता ललिदा पेरिसविवातानाले वायु प्रदुषकहरू बढ्नुको कारण आन्तरिक कृषिजन्य आगो र सीमापारबाट आउने तुवाँलो दुवै भएको बताउनुभएको छ । उहाँले आगामी दिनहरूमा सुख्खा मौसमका कारण नयाँ डढेलो लाग्ने र फैलिने जोखिम बढ्ने चेतावनी दिनुभएको छ । आईतवार थाइ जियो–इन्फर्मेटिक्स एण्ड स्पेस टेक्नोलोजी डेभलपमेन्ट एजेन्सीको पछिल्लो स्याटेलाइट डाटा अनुसार देशभर ४ हजार ३ सय २७ सक्रिय तातो स्थानहरू फेला परेका छन् । जसमा ९० प्रतिशतभन्दा बढी डढेलो वन क्षेत्रमा केन्द्रित छन् । एक विज्ञप्तिमा ललिदाले सरकारले सम्बन्धित निकायहरूलाई डढेलो पत्ता लगाउन र निभाउन तत्काल आदेश दिएको बताउनु भयो ।
१७. पूर्वी भारतमा भागदौड हुँदा ८ जनाको मृत्यु
भारतको पूर्वी राज्य बिहारको एक मन्दिरमा मंगलबार भागदौड मच्चिँदा आठ महिलाको मृत्यु भएको छ । करिव १० जना घाइते भएका छन् । एक स्थानीय प्रहरी अधिकारीले टेलिफोनमार्फत यस घटनाको पुष्टि गरेका छन् । उनकाअनुसार बिहारको नालन्दा जिल्लास्थित दीपनगर क्षेत्रमा रहेको शीतला मन्दिरमा स्थानीय समयअनुसार बिहान १० बजेतिर उक्त भागदौड भएको हो । विभिन्न सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियो फुटेजहरूमा घाइते महिलाहरूलाई उपचारका लागि स्थानीय अस्पतालतर्फ लैजाँदै गरेको देख्न सकिन्छ । केही घाइतेहरूको अवस्था गम्भीर रहेकाले मृतकको संख्या अझै बढ्न सक्ने आशंका गरिएको छ । उक्त घटनाको सम्बन्धमा अनुसन्धान गर्न छानबिनको आदेश दिइएको छ ।
१८. म्यानमारका निर्वाचित सांसदहरूद्वारा २ उपराष्ट्रपति निर्वाचित
म्यानमारको पिथु हलुताव (तल्लो सदन) र एम्योथा हलुताव (माथिल्लो सदन) का निर्वाचित प्रतिनिधिहरूले मंगलवार आफ्ना सम्बन्धित उम्मेदवारहरूमध्येबाट एक–एक जना उपराष्ट्रपति निर्वाचित गरेका छन् । पिथु हलुताव समूहबाट मिन आङ ह्लाइङ बहुमतका साथ उपराष्ट्रपतिमा निर्वाचित हुनुभयो भने एम्योथा हलुताव समूहबाट नान नि नि आय निर्वाचित हुनुभयो । पिथु हलुतावको मतदानमा मिन आङ ह्लाइङले २४७ मत प्राप्त गरी १० मत प्राप्त गर्ने क्याव स्वेलाई पराजित गर्नुभयो । एम्योथा हलुतावको मतदानमा नान नि नि आयले ११७ मत प्राप्त गरी ३८ मत प्राप्त गर्ने मानम तु जालाई पराजित गर्नुभयो । निर्वाचन प्रक्रियाअनुसार सङ्घीय संसदका दुवै सदनका सैन्य प्रतिनिधिहरूको समूहले तेस्रो उपराष्ट्रपति चयन गर्नेछ । सङ्घीय संसदका सम्पूर्ण प्रतिनिधिहरू सम्मिलित राष्ट्रपतीय निर्वाचन मण्डलले त्यसपछि तीन उपराष्ट्रपतिहरूमध्येबाट राष्ट्रपति चयन गर्नेछ ।
१९. युएसएस जर्ज एचडब्ल्यु बुस विमानवाहक जहाज र युद्धपोतहरू मध्यपूर्वमा तैनाथ
निमिट्ज–क्लासको विमानवाहक जहाज युएसएस जर्ज एचडब्ल्यु बुस र यसका साथमा रहेका युद्धपोतहरू मध्यपूर्वमा तैनाथ रहेको डब्ल्युएसजेले जनाएको छ । यो कदमले निकट भविष्यका लागि यस क्षेत्रमा अमेरिकी विमानवाहक जहाजहरूको संख्या तीन पु¥याउन सक्ने द वाल स्ट्रिट जर्नलले मंगलवार अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै रिपोर्ट गरेको छ । अमेरिकी नौसेनाको प्रेस विज्ञप्तिअनुसार यो विमानवाहक जहाज मंगलबार अमेरिकी राज्य भर्जिनियाको नेभल स्टेशन नोरफोकबाट प्रस्थान गरेको छ । रिपोर्ट अनुसार यो जहाजलाई मध्यपूर्व क्षेत्रमा पुग्न हप्ताौं लाग्न सक्छ । यो जहाज मध्यपूर्वमा रहेका युएसएस अब्राहम लिंकन र युएसएस जेराल्ड आर फोर्स क्यारियर स्ट्राइक समूहहरूसँग सामेल हुने अपेक्षा गरिएको छ । लिंकन अरब सागरमा सञ्चालन भइरहेको छ र फोर्ड मर्मतका लागि क्रोएसियाको बन्दरगाहमा रहेको दुई अधिकारीहरूले बताएका छन् ।
२०. कांग्रेसको केन्द्रिय अनुशासन समिति बैठक शुरु
नेपाली काँग्रेसको केन्द्रिय अनुशासन समिति बैठक शुरु भएको छ । पार्टी केन्द्रिय कार्यालय सानेपामा केही समयअघि बैठक शुरु भएको हो । पूर्वगृहमन्त्री तथा काँग्रेस नेता रमेश लेखक पक्राउ परेपछि पार्टीभित्रको विवाद झन चर्किएको छ । लेखक पक्राउको विषयमा संस्थापनइतर समूहले सन्तुलित विज्ञप्ति जारी गरेपछि देउवा समूहले समानान्तर गतिविधि गरिरहेको छ । समानान्तर गतिविधि गरेको भन्दै नेता पूर्णबहादुर खड्कामाथि कारबाही गर्ने बताइएको छ ।
२१. गालीगलौज तथा बलात्कारको धम्की दिनेविरुद्ध अमिशा पराजुलीले दिइन् साइबर ब्युरोमा उजुरी (तस्बिरसहित)
नेकपा (एमाले) समर्थक जेन—जी अमिशा पराजुली सामाजिक सञ्जालमा चरित्र हत्या गर्नेहरुविरुद्ध भोटाहिटीस्थित नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दिनुभएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा अभिव्यक्ति दिएपछि पराजुलीमाथि अमानवीय तवरले गालीगलौज तथा बलात्कारको धम्की समेत आएपछि साइबर ब्यूरोमा उजुरी दिनुभएको हो । उहाँले आफ्नो भिडियोको दुरुपयोग गर्ने, गालीगलौज गर्ने तथा बलात्कारको धम्की दिनै सबैमाथि एकमुष्ट उजुरी दिएको बताउनु भयो । सामाजिक सञ्जालबाट गालीगलौज तथा बलात्कारको धम्की आएको उहाँको भनाइ छ । आफूले केही गलत नगरेको र केही पनि गलत कुरा नबोलेको भएपनि आफूमाथि नकारात्मक प्रतिक्रिया दिइएको उहाँको आरोप छ ।
२२. प्रधानमन्त्री समक्ष सांसद झाले भने–रेडक्रसका नाममा भइरहेको भ्रष्टाचार नियन्त्रण गर्न दलीय आधारमा गठन भएका सबै समितिहरू विघटन गरौँ
प्रधानमन्त्री बालेन्द्र साहले मधेश प्रदेशबाट निर्वाचित सांसदहरूसँग क्षेत्रगत तथा प्रदेशगत समस्याबारे छलफल गर्नुभएको छ । बुधवार शिक्षा, स्वास्थ्य, पूर्वाधार, कृषि, सिंचाइ तथा भौतिक निर्माणका काममा देखिएका समस्या र समाधानका उपायसहित प्रधानमन्त्री शाहले सांसदहरूसँग ब्रिफिङ लिएको राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले बताउनु भयो । उहाँकाअनुसार छलफलमा मधेश प्रदेशका सांसदहरूले सेवा प्रवाहमा देखिएका अवरोध, विकास निर्माणमा ढिलाइ लगायत विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए । सांसद झाले रेडक्रसको नाममा भइरहेको संगठित भ्रष्टाचार नियन्त्रण गर्न दलीय आधारमा गठन भएका सबै रेडक्रस समितिहरू विघटन गरी नयाँ संरचना बनाउनुपर्ने धारणा राखेको बताउनुभयो । विभिन्न जिल्लामा मुद्दा दर्ता गर्न आनाकानी गर्ने प्रवृत्ति रहेको भन्दै त्यसलाई रोक्न आफूहरुले आग्रह गरेको उहाँको भनाइ छ ।
२३. सभामुखको चुनाव चैत २२ मा हुने
प्रतिनिधि सभाको सभामुख चयनका लागि चैत २२ गते निर्वाचन हुने भएको छ । बुधवार सिंहदरबारमा बसेको सर्वदलीय बैठकले चैत २० गते उम्मेदवारी मनोनयन गर्ने र २२ गते निर्वाचन गर्ने कार्यतालिकामा सहमति जुटाएको राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिनुभएको हो । बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले सदनको पहिलो बैठकको कार्यसूचि र सञ्चालन प्रक्रियाबारे दलहरूबीच समझदारी बनेको जानकारी दिनुभयो । उहाँकाअनुसार प्रतिनिधि सभाको बिहीवारको पहिलो बैठकमा सभामुखको निर्वाचनसम्बन्धी प्रश्ताव पेश हुनेछ । बैठकले नयाँ नियमावली नबन्दासम्म हालकै संसद नियमावलीका आधारमा बैठक सञ्चालन गर्ने र पहिलो बैठकबाटै नियमावली प्रतिस्थापनको प्रक्रिया अघि बढाउने निर्णय गरेको पनि उहाँले बताउनु भयो । साथै हाउसको पहिलो बैठकमा बैठकमा कार्यव्यवस्था परामर्श समिति गठन, बैठकको अध्यक्षता गर्ने सदस्यहरूको चयन प्रक्रिया शुरु गरिनुका साथै शिर्ष नेताहरूले शुभकामना दिने कार्यसूचीमा सहमति जुटेको बुर्लाकोटीको भनाइ छ ।
२४. अनधिकृत रुपमा वक्तव्यबाजी नगर्न नेता खड्कालाई काँग्रेसको निर्देशन
नेपाली काँग्रेसले नेता पूर्णबहादुर खड्कालाई अनधिकृत रुपमा वक्तव्यबाजी नगर्न सचेत गराएको छ । बुधवार पार्टी मुख्यालय सानेपामा बसेको पार्टीको केन्द्रिय अनुशासन समितिको बैठकले नेता खड्काले चैत्र १४ गते कार्यवाहक सभापतिको हैसियतमा नक्कली लेटरप्याड प्रयोग गरी अनधिकृत रुपमा वक्तव्य जारी गरेको निष्कर्ष निकाल्दै आइन्दा त्यसो नगर्न सचेत गराएको हो । नेता खड्काले एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र काँग्रेस नेता एवं पूर्वगृहमन्त्री रमेश लेखकको पक्राउको विरोध गर्दै कार्यवाहक सभापतिको रुपमा वक्तव्य जारी गर्नुभएको थियो । त्यो कार्य अनधिकृत भएकाले त्यसो नगर्न नेता खड्कालाई सचेत गराउने निर्णय गरिएको समितिका संयोजक तारामान गुरुङले जानकारी दिनुभयो । उहाँले त्यस्ता खालका गतिविधि तत्काल बन्द नभए पार्टीको विधान र प्रचलित कानून बमोजिम पार्टीका जो कोही नेतालाई पनि कारबाही गरिने चेतावनी समेत दिनु भयो । बैठकले प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ का सन्दर्भमा पार्टीका सदस्यहरुले अनुशासन उलंघन गरेका भए सो को उजुरी २०८२ चैत्र मसान्त भित्र नेपाली काँग्रेस केन्द्रिय अनुशासन समितिमा पठाउन पनि सिंगो पार्टी पक्तिलाई निर्देशन दिएको छ ।
२५. एमाले संसदीय दलको बैठक शुरु
पार्टी अध्यक्ष केपी शर्मा ओलीको पक्राउ विरुद्ध सडक संघर्षमा उत्रिएको नेकपा (एमाले) संसदीय दलको बैठक शुरु भएको छ । पार्टी मुख्यालय च्यासलमा भर्खरै बैठक शुरु भएको हो । राष्ट्रिय सभाका सांसदहरुसहित सहभागी बैठकले प्रतिनिधि सभा पार्टी संसदीय दलका नेता, प्रमुख सचेतक लगायत चयन गर्ने एमालेले जनाएको छ । त्यसैगरी बैठकमा संसदमा पार्टीले खेल्ने भुमिकाको विषयमा पनि छलफल हुनेछ । संघीय संसद बैठक भोली बिहीवार अपरान्ह २ बजेका लागि आह्वान गरिएको छ । एमालेले सोही बैठकको अघिल्लो दिन पार्टी संसदीय दलको नेता चयन गर्न लागेको हो । अध्यक्ष ओली र महासचिव शंकर पोखरेलले चुनाव हारेपछि वरिष्ठ नेताको हैसियतमा पार्टीका उपाध्यक्ष रामबहादुर थापा बादल दलका नेता बन्ने करिव टुंगो लागेको छ । एमाले निर्वाचन २५ सिट जितेको थियो । एमालेले पार्टी अध्यक्ष ओलीको पक्राउ विरुद्ध राजनीतिक र कानूनी रुपमा नै प्रतिवाद गर्ने घोषणा गरिसकेको छ ।
२६. काँग्रेस संस्थापन इतर पक्षका नेताहरुको अडानः १४ औ महाधिवेशनको नेतृत्वलाई मानेर अघि बढ्छौँ
नेपाली काँग्रेसका संस्थापनइतर पक्षका नेताहरुले १४ औ महाधिवेशनबाट निर्वाचित केन्द्रिय कार्य समितिलाई मान्यता दिएर मात्रै आफूहरु नियमित महाधिवेशनमा जान सक्ने अडान राखेका छन् ।
बुधवार आफू पक्षका नेताहरुको भेलामा सहभागी भएका नेताहरु गुरु बराल, डा. रणबहादुर रावललगायतका नेताहरुले विधि र विधान सम्मत ढंगले निर्वाचित सो केन्द्रिय कार्य समितिलाई बैधानिकता दिएर आफूहरु नियमित महाधिवेशनमा जाने पक्षमा रहेको प्रष्ट्याउनुभएको हो । नेताहरुले पार्टीको आधिकारिताको विषयमा सर्वोच्च अदालतमा रहेको मुद्दाको फैसला पछि आफूहरु १५ आँै महाधिवेशनको तयारीमा जुटने र त्यसमा काँग्रेसका सबै समूहहरु सहभागी हुनुपर्ने जिकिर समेत गरेका छन् । नेता बरालले १४ औ महाधिवेशनबाट निर्वाचित केन्द्रिय कार्य समितिलाई विधिवत रुपमा मानेर आफूहरु १५ औ महाधिवेशनको तयारीमा लाग्ने अडानमा रहेको स्पष्ट पार्नुभयो ।
२७. काँग्रेस संस्थापनइतर नेताहरुको केन्द्रिय समिति बैठक आज पनि शुुुरु
नेपाली काँग्रेस संस्थापनइतर नेताहरुको केन्द्रिय समिति बैठक शुरु भएको छ । मंगलवार (हिजो)बाट शुरु भएको बैठकलाईं निरन्तरता दिइएको हो । पार्टीको आधिकारिता सम्बन्धमा सर्वोच्च अदालतको फैसलाको पर्खाइमा रहेका पूर्णबहादुर खड्का–शेखर कोईराला समूहले आगामी दिनको रणनीति तय गर्न छलफल थालेको हो । काठमाडौंको धुम्बाराहीस्थित स्मार्ट होटलमा बसेको बैठकमा १४ औं केन्द्रिय कार्यसमितिमा रहेका यो समूहमा भएकाहरू सहभागी छन् । आजको बैठकमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डे पनि सहभागी हुनुभएको छ । संस्थापन इतर पक्षले आफ्नो समूहको गतिविधि अघि बढाएको पनि संस्थापन पक्षले भने आपत्ति जनाउँदै कारबाहीको तयारी गरेको छ ।
२८. संघीय संसद सचिवालयको आह्वानमा सर्वदलीय बैठक शुरु
संघीय संसद सचिवालयको आह्वानमा सर्वदलीय बैठक शुरु भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले (भोली) बिहीवार अपरान्ह २ बजेट संघीय संसद बैठक आह्वान गरेपछि त्यसको तयारीका विषयमा छलफल गर्न सो बैठक बोलाइएको हो । बैठकमा प्रतिनिधि सभाका ज्येष्ठ सदस्य अर्जुन नरसिंह केसीसहित सबै दलका प्रतिनिधिहरु सहभागी हुनुभएको छ । नयाँ संसदले सभामुख, उपसभामुख चयन गर्नुपर्नेछ । संघीय संसदको प्रतिनिधि सभामा २७५ जना सदस्य रहेका छन् । त्यस मध्ये राष्ट्रिय स्वतन्त्र पार्टीले १ सय ८२ सिटमा विजयी हासिल गरेको छ भने नेपाली काँग्रेसले ३७ सिट, एमालेले २५, नेपाली कम्युनिष्ट पार्टीले १७, श्रम सँस्कृति पार्टीले ७ र राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ सिट ल्याएको छ । यी दलहरु नै राष्ट्रिय पार्टीको मान्यता प्राप्त दलहरु हुन् ।
२९. बजेट मार्गदशन तयार, बजेट लेखन थालिँदै
आगामी आर्थिक वर्ष २०८३÷८४ का लागि अर्थ मन्त्रालयले मार्गदशन तयार पारेको छ । जेठ १५ मा संसदमा बजेट ल्याउनुपर्ने सरकारलाई संवैधानिक दायित्व छ । सोहीअनुसार अर्थ मन्त्रालयले बजेट मार्गदशन तयार पारेको हो । बजेट मार्गदशन तयार पारेर सबै मन्त्रालयलाई पठाइसकिएको अर्थमन्त्रालयका सहसचिव टंकप्रसाद पाण्डेयले बताउनु भयो । उहाँकाअनुसार आगामी आर्थिक वर्षका लागि तयार पारिएको बजेट मार्गदशनमा खासगरी बजेटले लिने प्राथमिकता समेटिएको छ । आगामी वर्षको बजेट खासगरी आर्थिक अनुशासन र खर्चमा मितव्ययीतालाई उच्च प्राथमिकता दिर्दै जेठ १५ मै ल्याउनका लागि लेखनको तयारी थालिएको सहसचिव पाण्डेले बताउनु भयो । उहाँकाअनुसार अनुशासित र खर्च मितव्ययितालाई बजेटले जोड दिनका लागि सम्बन्धित सबै मन्त्रालयहरूलाई सतर्क र संवेदनशील हुन अर्थ मन्त्रालयले भनिसकेको छ । मन्त्रालयहरूले आयोजनाहरूमा बजेट प्रश्ताव गर्दा तयारी पूरा भएका आयोजना, तत्काल ठेक्का पट्टामा जान सकिने आयोजनाहरू र प्रोजेक्ट बैंकहरूमा सूचीकृत भइसकेका आयोजनाहरूलाई मात्र बजेट प्रस्ताव गर्नुपर्ने गरी मार्गदर्शन मन्त्रालयहरूलाई पठाइसकिएको सहसचिव पाण्डेयले बताउनु भयो । —न्युज एजेन्सी नेपाल
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij