२०८२ चैत्र १५ गते आइतवार
नेपालगञ्ज । श्रीमान्सँगको सम्बन्ध टुटेपछि विगत दुई वर्षदेखि 'लिभिङ टुगेदर' मा बस्दै आएकी २२ वर्षीया सिर्जना बुढा मगरको रहस्यमय मृत्यु भएको छ ।
शनिबार राति बाँकेको नेपालगन्ज उपमहानगरपालिका–१२ कोरियनपुरस्थित सडकमा जलेको अवस्थामा फेला परेकी सिर्जनाको उपचारका क्रममा भेरी अस्पतालमा आइतबार बिहान मृत्यु भएको हो । घटनाको अनुसन्धानका क्रममा मृतक सिर्जना ४ वर्षीया छोरीसहित २४ वर्षीय प्रेमी मो आरिफ ढपालीसँग नेपालगञ्ज–८ रानितलाउमा कोठा भाडामा लिएर बस्दै आएको खुलेको छ ।
घटना हुनुभन्दा दुई दिन अगाडि चैत १३ गते आरिफले आफूलाई कुटपिट गरेको भन्दै सिर्जनाले प्रहरीमा खबर गरेकी थिइन् । सोही उजुरीका आधारमा पक्राउ परेका आरिफलाई चैत १४ गते 'अब उप्रान्त झगडा नगर्ने र मिलिजुली बस्ने' सर्तमा प्रहरीले हिरासतबाट छाडेको थियो । तर, हिरासतबाट छुटेकै रात सिर्जना आफ्नो कोठाभन्दा टाढा आरिफको घर नजिकैको सडकमा आगोले जलिरहेको अवस्थामा फेला परेसँगै घटना शंकास्पद बनेको बताइएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेले सिर्जनाको मृत्युपछि घटनामा संलग्नताको आशंकामा प्रेमी आरिफ ढपाली, उनकी आमा र दिदीसहित तीन जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ परेका तीनै जनामाथि गम्भीर रूपमा अनुसन्धान भइरहेको सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक दिपक पातलीले जानकारी दिए । मृतकका आफन्तले जाहेरी दिएपछि शवको पोस्टमार्टम प्रक्रिया अगाडि बढाइएको छ ।
प्रहरीले यो घटना आत्महत्या हो वा हत्या भन्ने विषयमा विभिन्न कोणबाट गम्भीर अनुसन्धान भइरहेको जनाएको छ । साथै, संवेदनशील विषय भएकाले सामाजिक सञ्जालमा समुदायहरूबीच द्वन्द्व फैलाउने खालका टिका–टिप्पणी नगर्न र आधिकारिक पुष्टि भएका सूचना मात्र सम्प्रेषण गर्न प्रहरीले सबैमा अपिल गरेको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij